
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबारसर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि सुनुवाइ राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति गगन थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो ।
देउवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरुरी देखिएको बताएका थिए ।
प्रतिक्रिया