
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच छलफल भइरहेको हो ।
बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहेको जनाइएको छ ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ ।
यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले पहिलो पटक प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्।
प्रतिक्रिया