
कर्णालीको पहिचान दिलाउने थुप्रै सम्पदा छन् । तर, कर्णालीको भौगोलिक विकटता, सडक यातायात पहुँचको अभाव र पर्यटकीय स्थलहरूको प्रचारप्रसार नहुँदा ती सम्पदा ओझेलमा छन् । कर्णालीमा देशको सबैभन्दा ठुलो रारा ताल, ऐतिहासिक काँक्रेविहार मन्दिर, पञ्चकोसी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिन्डे र बुलबुले ताल, पचाल झरना, सिन्जा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । पछिल्लो समय कर्णालीका पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका छन् । कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको कर्णालीको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले ‘विश्वको गन्तव्य नेपाल, नेपालीको गन्तव्य कर्णाली’ को आकर्षक नारासहित आफ्नो नीति–कार्यक्रममार्फत् पर्यटन विकासको पहल गरिरहेको छ ।
कर्णालीमा पर्यटकको आकर्षण बढेको पछिल्ला तथ्यांकहरूले पनि पुष्टि गरिरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनामा मात्र कर्णालीमा ५ लाख ७९ हजार ९४३ पर्यटक कर्णाली भित्रिएका छन् । यसमा सबै भन्दा धेरै भारतीय पर्यटक रहेको र मुलुकबाट आउने पर्यटकको संख्या १३.३४ प्रतिशतले वृद्धि भएको देखाएको छ । अघिल्लो वर्ष कर्णाली प्रदेशमा समग्रमा पर्यटन आगमन ११.०९ प्रतिशतले वृद्धि भएको थियो । कर्णालीको पर्यटन प्रवद्र्धनका लागि सरकारले प्राथमिकता दिएर काम गरिरहेको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी बताउँछन् ।
कर्णालीको पर्यटन विकासका लागि प्रदेश सरकारले गत वर्षदेखि पर्यटन प्रवद्र्धन विकास समिति गठन गरी सोही समितिमार्फत् पर्यटन प्रवद्र्धन तथा विकासका काम थालेको उनले बताए । पर्यटन क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि तालिम, पर्यटकीय स्थलको प्रचारप्रसार, १० जिल्लाका पर्यटकीय क्षेत्र चिनाउने सूचना बोर्डदेखि सबै जिल्लालाई जोड्न पर्यटन सर्किटको अवधारणामा काम गर्ने गरी योजना बनाइरहेको उनको भनाइ छ । ‘चालु आवबाट कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिइएको छ,’ उनले भने, ‘प्रदेश सरकारले पर्यटकको संख्या, बसाइ अवधि र खर्च रकम बढाउने वातावरण निर्माण गर्न स्थानीय तह र निजी क्षेत्रसमेतको सहकार्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणका कार्यक्रम थालिएको छ ।’
प्रदेशभित्र बन्ज जम्प, र्याफ्टिङ, प्याराग्लाइडिङ, अफरोड कार ¥याली, अफरोड बाइक रेसजस्ता साहसिक खेल तथा हनी हन्टिङ, हाइकिङ, ट्रेकिङ, खेलकुद तथा आरोग्य पर्यटनलगायत क्रियाकलापलाई टेवा पु¥याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारका कार्यक्रम सरकारले अघि सारेको छ । मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिन्डे दह र रुकुम पश्चिमको स्यार्पु तालको संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वयन गर्ने, पर्यटन सूचना तथा अभिलेख केन्द्र स्थापना गर्ने, गन्तव्य कर्णाली एप निर्माणको काम भइरहेको छ ।
कर्णाली प्रदेशका प्रमुख पर्यटन सम्पदाका बारेमा जानकारीमूलक पर्यटक गाइड बुक तयार पारिनुका साथै पर्यटकलाई निर्भयसाथ घुमफिर गर्ने वातावरण निर्माण गर्न पर्यटकको सुरक्षा र अप्ठ्यारो परिस्थितिमा तत्काल सहयोग गर्ने संयन्त्र विकासका कार्यक्रम प्रदेश सरकारले गरिरहेको छ । कर्णालीको समग्र पर्यटन प्रवद्र्धन तथा विकासमा प्रदेश सरकारले चालु आवमा ४३ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
०००
यी हुन् कर्णालीका पर्यटकीय गन्तव्य
कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका १०१ पर्यटकीय क्षेत्र पहिचान गरी पर्यटन गन्तव्यका रूपमा घोषणा गरेको छ । प्रदेश राजधानी सुर्खेतमा प्रसिद्ध पर्यटकीय स्थलहरू छन् । देउती बज्यै मन्दिर, बुलबुले ताल, दोस्रो लुम्बिनीका रूपमा चिनिएको काँक्रेविहार, सहिद पार्कलगायतका स्थानहरू सुर्खेतको वीरेन्द्रनगरभित्रकै आकर्षण हुन् । त्यस्तै बराहताल, भाइरल रोड, गोठिकाँडा, जुर्बटालगायत स्थानले पनि सुर्खेतको पर्यटकीय पहिचान दिइरहेका छन् । दैलेखको पञ्चकोसी, कालिकोटको पचाल झरना, सल्यानको कुपिन्डे दह, रुकुमको स्यार्पुताल, जुम्लाको चन्दननाथ, हुम्लाको हिल्सा, लिमी, डोल्पाको शे–फोक्सुण्डो ताललगायत पर्यटकीय गन्तव्यले कर्णालीको मात्र होइन, मुलुककै पहिचान दिइरहेका छन् । त्यसका साथै कर्णालीका केही मानव निर्मित स्थानहरूले पनि कर्णालीको पर्यटकीय सम्भावना बोकेका छन् । तीमध्ये सुर्खेतको सहिद पार्क, गिरी पार्क, दैलेखको गुराँसेमा निर्माण गरिएको भ्यु टावर, दैलेखको जलजलेस्थित पेट्रोलियम पदार्थ उत्खनन स्थल, कालिकोटको पिली क्षेत्र (युद्ध पर्यटकीय स्थल) राष्ट्रगुरु योगीनाथको जन्मस्थान नरहरिनाथको लालु, कालिकोटको त्रिवेणी पाटन, रुडुबन्चुलगायत क्षेत्र कर्णालीका पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् ।

०००
कसरी घुम्ने कर्णाली ?
कर्णालीका यी सबै पर्यटकीय गन्तव्यहरूमा पुग्न कर्णालीको राजधानी आउनैपर्छ । काठमाडौँदेखि सुर्खेतसम्म हवाईजहाज र बसको यात्रा गर्न सकिन्छ । काठमाडौँदेखि सुर्खेत जहाजले १ घन्टा १० मिनेट र बसमा २४ घन्टाभन्दा बढी समय लाग्ने गर्छ । सुर्खेत पुगेपछि काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै र सहिद पार्कको घुमघाम एकै दिनमा सकिन्छ । अनि बाँकी अन्य जिल्लामा स्थल र हवाई मार्ग दुवै प्रयोग गर्न सकिन्छ । डोल्पा, जुम्ला, हुम्ला र मुगु जिल्लामा हवाई यात्राका लागि नेपालगन्ज भएर जान सकिन्छ । सुर्खेत पुगेपछि एकै पटक धेरै पर्यटकीय स्थल घुम्न पाइन्छ । सुर्खेत आउने जोकोहीका लागि पनि बुलबुले ताल, काँक्रेविहार र देउती बज्यैको दर्शन प्रमुख आकर्षक मानिन्छ । कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेतका यी पर्यटकीय स्थानले पर्यटकको आकर्षण बढाएका छन् । सुर्खेत कर्णाली प्रदेशको राजधानीसँगै यो प्रदेशको प्रदेशद्वार पनि हो ।
०००
यस्ता छन् कर्णालीका पर्यटकीय स्थलका विशेषता
देउती बज्यै (सुर्खेत)

देउती बज्यै कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीय स्थलका रूपमा चिनिएको छ । सुर्खेत पुग्नेबित्तिकै गंगामाला देउती बज्यैको मन्दिर दर्शन गर्न पाइन्छ । रत्न राजमार्गको नेपालगन्ज–सुर्खेत खण्डको पिपिरादेखि २०० मिटर दक्षिणमा अवस्थित यो मन्दिर हिन्दु धर्मावलम्बीहरूको प्रमुख आकर्षण पनि हो । गंगामाला देउती बज्यै मन्दिरको इतिहास सुर्खेतमा बसोबास गरिरहेका पुरानो राजी जातिसँग जोडिएको छ । देउतीमाईका ७ बहिनीमध्ये केशमाला सल्यान कालिकामाटी, रतनमाला सुर्खेत गोच्चे पोखरा, रुद्रमाला सुर्खेत सुबाघाट, चतुर्माला कल्याण सुर्खेत, चामामाला बबैगुठी बर्दिया, राममाला छिन्चु सुर्खेत र गंगामाला नयाँ गाउँ पिपिरा सुर्खेत रहेको भन्ने जनविश्वास छ । देउती बज्यैको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
बुलबुले ताल (सुर्खेत)

सुर्खेतको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय आकर्षण हो । कर्णाली प्रदेशको स्थायी राजधानी भएसँगै बुलबुले तालमा आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर नै यसको नाम बुलबुले ताल राखिएको हो । ३० बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य हो । बुलबुलेमा गार्डेन, शान्ति पार्क, पिकनिक स्थलसहित पछिल्लो समय बोटिङ गर्न पाइने भएपछि दैनिक पर्यटकको संख्या बढिरहेको छ । पिकनिकका लागि आवश्यक सामग्री त्यहीँ किन्न सकिन्छ भने तालबाट निस्किएको पानीबाट परम्परागत १० धारा बनाइएको छ । तालको पूर्वतिरका ५ धारामा महिला र दक्षिणतर्फका धारामा पुरुषहरूले नुहाउने व्यवस्था गरिएको छ ।
काँक्रेविहार (सुर्खेत)

सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रूपमा परिचित छ । १३औँ शताब्दीतिर काँक्रेविहार निर्माणको अनुमान गरिए पनि यसको आधिकारिक तथ्य भने भेटिएको छैन । बौद्ध धर्मको व्यापकतालाई रोक्न शंकराचार्य र उनका शिष्य अनुयायीहरूले बौद्धविहार भत्काई शिव मन्दिर निर्माण गराएको र यही सन्दर्भमा लाटिकोइली शिव मन्दिरको स्थापना गरिएको हो भन्ने पनि अनुमान गरिन्छ । यसको निर्माण गर्नेमा पाण्डव, बौद्ध लामा समेतलाई लिने गरिएको छ । काँक्रेविहारको भग्नावशेष हेर्दा उत्कृष्ट शिल्पकारी कारिगरले विभिन्न आकारमा रहेका ढुंगाहरूमा विभिन्न प्रकारका बुट्टा कुँदेको देखिन्छ । प्रायः जंगलभरि यस्ता बुट्टा कुँदिएका ढुंगा भेटिन्छन् । बुद्धको मूर्ति पाउनु र स्थानको नाममा पछाडि विहार जोडिएबाट यो भग्नावशेष भगवान बुद्धसँग सम्बन्धित मानिएको छ । २०७१ सालको भूकम्पले भग्नावशेष बनाएको काँक्रेविहारको पुनर्निर्माणसँगै यहाँ आउने पर्यटक पनि बढेका छन् । काँक्रेविहार क्षेत्रमा घोडामा चढेर घुम्न मिल्ने भएपछि स्थानीय पर्यटकको पनि रोजाइमा परेको छ ।
ज्वाला र पञ्चकोसी (दैलेख)
सुर्खेतबाट कर्णालीको यात्रामा निस्किने जोकोहीका लागि सुर्खेतको छिमेकी जिल्ला दैलेखमा रहेको शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोसी क्षेत्र पर्यटकका लागि अर्को रोजाइ हो । पञ्चकोसीको शिरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरू पनि आउँछन् । शिरस्थानको ज्वाला क्षेत्रअन्तर्गत १०८ शक्तिपीठ पर्दछन् । भैरवी, मालिका, स्वामी कार्तिक्य, विन्ध्यवासिनी, लामाद्वाला आदि चर्चित छन् । पञ्चकोसी ज्वाला क्षेत्र हिन्दु धर्मावलम्वीका लागि मात्र नभएर बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
पञ्चकोसी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । श्रीस्वस्थानी व्रतकथासँग जोडिएका ५ वटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डारको अनुसन्धान गर्दै छ । दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्छन् । पञ्चकोसी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको मानिन्छ । खानी तथा भूगर्भ र चाइना जियोलजिकल सर्भेले गरेको अन्वेषण र चीनकै सिबु ड्रिलिङ इन्जिनियरिङले गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार यहाँ ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । उक्त प्रतिवेदनअनुसार नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको अनुमान छ ।
पचाल झरना (कालिकोट)

कालिकोटको पचाल झरना गाउँपालिकाको खार्दुमा रहेको ‘पचाल झरना’ उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्यमा पर्छ । ३८१ मिटर लम्बाइ भएको यो एसियाकै सबैभन्दा अग्लो झरनाका रूपमा दाबी गरिएको छ । तर, हाल ३६५ मिटर अग्लो तेह्रथुमस्थित ह्यातुङ झरना नेपालकै सबैभन्दा अग्लो झरनाका रूपमा परिचित छ । कालिकोट सदरमुकामदेखि करिब १६ घन्टाको पैदलयात्रापछि पचाल झरना पुग्न सकिन्छ । पछिल्लो समय कर्णाली करिडोर सञ्चालन भएपछि पचाल झरना पुग्न केही सहज भएको छ । कर्णाली नदीको किनारैकिनार पचाल झरनासम्म पुग्दा थुप्रै आकर्षक दृश्यहरू पनि देख्न पाइन्छ । कालिकोटमा पुगेपछि राष्ट्रगुरु योगी नरहरिनाथको जन्मस्थान पनि नजिकै छ । जसको नाममा योगी नरहरिनाथ गाउँपालिकाको नामकरण गरिएको छ । नरहरिनाथ पुगेपछि ५ घन्टाको पैदल यात्रापछि अछामको रामारोशन र बाजुराको बढीमालिका पुग्न सकिन्छ । यो यात्रामा स्थानीय उत्पादनका परिकारहरू र अधिकतम दही, दुध र महको स्वाद लिन सकिन्छ ।
कुपिन्डे दह (सल्यान)
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी बस्तीको बीचमा रहेको कुपिन्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिन्डे दहले वर्षमा ३ पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ बदल्छ । हरियाली रूखबिरुवा, सुन्दर बस्ती सल्यानी संस्कृतिको जनजीवनले जोकोहीलाई पनि कुपिन्डे दह पुग्दा आनन्द महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । डुंगा सयर गर्ने, मनोरम वातावरण र हिमशृंखलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् । कुपिन्डे दह ३४ मिटर गहिरो, २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि ११२० मिटर उचाइमा रहेको यो दहको लम्बाइ ८३४ मिटर र चौडाइ ५३८ मिटर छ ।
चारैतिर पहाडले घेरिएको र बीचमा निलो पानीले भरिएको कुपिन्डे दहले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा निलो आकाशझैँ उत्तर–दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । सल्यान सदरमुकाम खलंगाबाट १ घन्टाको बस यात्रापछि कुपिन्डे दह पुग्न सकिन्छ । वीरेन्द्रनगर सुर्खेतबाट २ घन्टाको बस यात्रामा कुपिन्डे दह पुगिन्छ । तालमा घुमेर फर्किएपछि सल्लीबजार, बालुवा संग्रही या खलंगा गएर पनि बास बस्न सकिन्छ ।
शे–फोक्सुन्डो ताल (डोल्पा)

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ– फोक्सुन्डो ताल । छिनमा निलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ ताल । कान्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्ने ताल (३,६०० मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमी छ । यसको अधिकतम लम्बाइ ५.९३ किमी र अधिकतम चौडाइ १.८० किमी छ भने गहिराइ १४५ मिटर । ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत भएको छ । डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्छ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।
काठमाडौँ–सुर्खेत–जाजरकोट–डोल्पा सडक यात्रा गर्न सकिन्छ । सुर्खेत–जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म २५५ किमी सडकमा सहजै सवारी सञ्चालनमा छन् । जुफाल–सुलिगाड ८ किमी जिपमा यात्रा गरेपछि सुलिगाडबाट २ दिन १ बिहान पदयात्रामा फोक्सुन्डो ताल पुगिन्छ । तालनजिक खानबस्नका लागि होटलहरूको सुविधा छ ।
लिमी उपत्यका (हुम्ला)

अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो— हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटबाट करिब १ साताको पदयात्रापछि लिमी उपत्यका पुग्न सकिन्छ । ११औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठुला गुम्बा यहाँका मुख्य आकर्षण हुन् । खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । महँगा मूर्ति, पौराणिक वास्तुकला लिमीका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृतिलगायत वस्तु अति नै लोभलाग्दा छन् । प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण मानिएको यो उपत्यका समुद्री सहतबाट १७ हजार फिट उचाइमा अवस्थित छ । लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिल गाउँबाट कैलाश मानसरोवर पैदल पनि जान सकिन्छ । १९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायत सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ ।
लिमी उपत्यकामै वनचौँरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालुलगायत दुर्लभ वन्यजन्तु पाइन्छन् । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ । हिन्दु र बौद्ध दुवैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौँको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम पनि हो— सिमिकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि प्रवेशद्वार पनि हो ।
स्यार्पु ताल (रुकुम पश्चिम)

रुकुमको स्यार्पु ताल वर्षात्को समयमा एक पटक अवलोकन गर्नैपर्ने ताल हो । मुसिकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटा बाटो छ भने मुसिकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ । चारैतिर हरियाली गाउँ, बीचमा सुन्दर तालमा डुंगा सयर गर्नुको मज्जा नै बेग्लै छ । रुकुम जिल्लालाई पर्यटकीय दृष्टिले अग्रपंक्तिमा लिन स्यार्पु तालको उत्तिकै महत्व छ । रुकुम सदरमुकामबाट १ दिनको पैदल दुरीमा पर्ने बाँफिकोटमा अवस्थित स्यार्पु तालमा रमाउन पुग्ने पर्यटकका लागि होमस्टे पनि सञ्चालनमा छन् । तालमा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याइएको छ । ८ देखि १२ जनासम्म क्षमताका रबरका आधुनिक डुंगा सञ्चालनमा छन् । तालको चारैतर्फ मिलेर बसेका बस्ती, नजिकै रहेको स्यानी दह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ । स्यार्पुतालमा जान सवारीसाधन गाडी नै हो । रुकुम पश्चिम सदरमुकाम खलंगा पुगेर डिग्रे साई कुमारी मन्दिर दर्शन गरेर पनि स्यार्पु आउन सकिन्छ भने सुर्खेतबाट पनि ७ घन्टामा स्यार्पु पुग्न सकिन्छ ।
रारा ताल (मुगु)

रारा नेपालको भर्जिन पदमार्गसहितको साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो निलो र साँझ सप्तरंगी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुंगीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ ।
नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध ताल हो— रारा । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’ उपमा दिएका थिए । राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको किंवदन्ती छ । समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको रारा पुग्न अहिले बहुत सहजता आएको छ । यो मौसम रारा भ्रमणका लागि उपयुक्त मानिन्छ । रारा तालको लम्बाइ ३.२ किलोमिटर र गहिराइ १६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ । राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेली ल्याउन सकिन्छ ।
सडक र हवाई दुवै माध्यमबाट रारा जान सकिन्छ । हवाई यात्राका लागि नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । ताल्चा विमानस्थलबाट करिब ३ घन्टा पैदलयात्रापछि रारा ताल पुग्न सकिन्छ । तर नियमित उडान नहुन सक्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि २ दिनको बस यात्राबाट मुगुको गमगढी पुगिन्छ र गमगढीबाट करिब ३ घन्टा पैदल यात्रामा रारा ताल पुगिन्छ । रारा भ्रमण गर्दा खाने बस्नेलगायत औसतमा दैनिक २ हजार रुपैयाँ खर्च लाग्छ । नेपालगन्जबाट ताल्चा विमानस्थलसम्मको यात्रा करिब ६ हजार भए पनि यो रकम फेरबदल भइरहन्छ । वीरेन्द्रनगरबाट रारा जान नियमित गाडीबाट निकै कठिन हुन्छ । त्यसैले फोर ह्विल गाडी रिजर्भमा जाँदा दिनको ६÷७ हजार रुपैयाँ खर्च लाग्छ ।
चन्दननाथ मन्दिर (जुम्ला)

कर्णालीको प्रमुख धार्मिक पर्यटकीयस्थल चदननाथ भैरवनाथ मन्दिर पनि एक हो । जुम्ला खलंगाको बीचमा रहेको चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो खडा गर्नुपर्ने प्रचलन छ (वर्षमा ५२ हप्ता हुने भएकाले) । लिंगोलाई रातो, सेतो, रंगीबिरंगी कपडाले ढाकिन्छ । लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ । ठड्याउने क्रममा लिंगो भााँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । देवताको जयघोष र पूजा आरती, भजनकीर्तनसाथ लिंगो फेर्ने चलन छ । चन्दननाथ मन्दिरसँगै जोडिएको बटुक भैरवनाथ मन्दिरमा पनि ४८ हातको लिंगो र ४८ हातकै ध्वजा र नेजा राखिएको छ ।
६७० सालमा चढाएको लक्ष्मीनारायणको मूर्तिमा लेखिएको मिति हेर्दा २०७९ सालको लिंगो फेर्ने काम ३ हजार पटक भएको देखिन्छ । जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घ्यु, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का, मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौँरी फुर्को ल्याउने परम्परा छ । जुम्ला राज्यको स्थापनासँगै १४४८ सालमा राजा बलिराजले चन्दननाथ मन्दिरको निर्माण गराएका थिए । पटक–पटक यो मन्दिरले विभिन्न समस्या झेल्दै आएको थियो । १८४६ मा जुम्ला राज्य कब्जामा परेपछि मन्दिरको भौतिक संरचना ध्वस्त भयो । त्यसपछि सिद्ध चन्दननाथ बाबाले मन्दिर निर्माण गरी चरणपादुका बनाएर दत्तात्रयको मूर्ति राखेका थिए । चन्दननाथ जान राराको यात्रा बनाएर २ घन्टा खलंगा पुगेर पनि घुमेर फर्किन सकिन्छ । चन्दननाथ मन्दिर दर्शन गर्न जाँदा जुम्ला तातोपानीमा पनि नुहाउन उपयुक्त समय हुन्छ । जुम्लाको अर्को पर्यटकीय गन्तव्य सिन्जा उपत्यका पनि घुम्न सकिन्छ ।
सांस्कृतिक विविधता

कर्णाली प्रदेशको राजधानी घोषणा हुनुअघि पनि सुर्खेत तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम हो । त्यसैले पनि यहाँ कर्णाली प्रदेशका अन्य सबै जिल्लाका मानिसको बसोबास छ भने सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरालगायत जिल्लाबाट पनि मानिसहरूको बसोबास छ । सबै जिल्लाका मानिसहरू यहाँ बसोबास गर्ने भएकाले पहाड, हिमाल तथा तराईको सांस्कृतिक विविधता पनि पाइन्छ । कर्णालीमा मागल, झोडा, देउडालगायत विभिन्न जातजातिको संस्कृति पनि यहाँ हेर्न लायक छ ।

प्रतिक्रिया