
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार नै काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पक्राउ अनुमति लिएको हो । अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको विभागको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा उनीहरूमाथि विभागले अनुसन्धान गरिरहेको थियो । पक्राउ गरेरै अनुसन्धानको थप प्रक्रिया अघि बढाउनुपर्ने भएकाले अदालतबाट पक्राउ पुर्जी लिइएको हो ।
२४ भदौको जेनजी आन्दोलनमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दलका नेताहरूको भवन, पार्टी कार्यालयहरूमा पनि आगजनी, तोडफोड तथा आक्रमण भयो । बूढानीलकण्ठस्थित पूर्वप्रधानमन्त्री देउवा तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा निवासमा पनि आगजनी तथा तोडफोडसँगै उनीहरूमाथि सांघातिक आक्रमणसमेत भएको थियो । सो समयमा देउवा निवासमा ठुलो परिणाममा नगद रुपैयाँ भेटिएको थियो । त्यति ठुलो मात्रामा पैसा भेटिएसँगै पूर्वविशिष्टहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग आन्दोलनरत जेनजी र आमसर्वसाधारण तहबाट उठेको थियो । सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारकै पालामा पूर्वउच्च पदस्थहरूमाथि सरकारी संयन्त्रहरूले छानबिन प्रक्रिया अघि बढाइसकेका थिए । सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीहरू देउवा निवास, पूर्वऊर्जामन्त्री दीपक खड्का र पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेर फरेन्सिक टेस्टसमेत गरेका थिए ।
अनुसन्धानको निरन्तरताकै रूपमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । विभागको अनुसन्धानका क्रममा उनीहरूको चलअचल सम्पत्ति अस्वाभाविक देखिएको छ । २४ भदौको सोही घटनालाई टेकेर उनीहरूमाथि सम्पत्ति छानबिनका लागि पक्राउ पुर्जी जारी गरिएको हो । उनीहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान गरिरहेको थियो । बूढानीलकण्ठस्थित जलेको घर भत्काउन थालिएपछि प्रमाण मेटिन सक्ने भन्दै प्रहरीले घर भत्काउनै रोकेको थियो । यसअघि, सम्पत्ति शुद्धीकरणकै मुद्दामा पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् । उनीमाथि अनुसन्धान जारी छ ।
०००
देशमा छैनन् देउवा दम्पती, इन्टरपोलको सहायता लिने तयारी
पक्राउ पुर्जी जारी भए पनि देउवा दम्पती देशमा नभएकाले तत्कालै पक्राउ गर्न भने सम्भव छैन । त्यसका लागि प्रहरीले अन्तर्राष्ट्रिय कानुनअनुसार इन्टरपोलको सहायता लिने तयारी गरेको छ । शेरबहादुर देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसयता उनी नेपाल फर्किएका छैनन् । अध्यागमन विभागका अनुसार आरजु राणा भने १० फागुनमा भारत गएको देखिएको छ । देउवाको सचिवालयले ७ चैतमा जारी गरेको सूचनाअनुसार देउवा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका छन् । उपचार र पारिवारिक कार्यक्रम सकेर उनीहरू नेपाल फर्किने सचिवालयले जनाएको थियो । दम्पती नै देशबाहिर रहेकाले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत् रेड नोटिस जारी गरेर पक्राउ गर्ने प्रहरीको तयारी छ ।
०००
पक्राउ पर्ने दोस्रो पूर्वप्रधानमन्त्री बन्नेछन् देउवा
प्रहरीले इन्टरपोलको सहायतामा पक्राउ गर्न सकेको अवस्थामा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्ने दोस्रो पूर्वप्रधानमन्त्री बन्नेछन् । यसअघि जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ चैतमा पक्राउ परिसकेका छन् । उनीमाथि अनुसन्धान जारी छ । २०५२ सालमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बने । कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट गरी उनी २ कार्यकाल पार्टी सभापति भए । १७ असार, २०८१ मा तत्कालीन एमाले–माओवादी केन्द्रको गठबन्धन सरकार ढालेर कांग्रेस–एमाले गठबन्धन सरकार बनाउने सहमतिपछि ३१ असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । सहमतिअनुसार देउवाको प्रधानमन्त्री बन्ने पालो आगामी २०८३ साउन पहिलो साता थियो । तर, सरकारले स्वेच्छाचारिता र बढ्दो भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनले सरकारमात्रै ढालेन, प्रतिनिधिसभा विघटन गर्दै नयाँ जनादेशको म्यान्डेट पनि दियो ।
२३ भदौमा सरकारले बर्बर दमन गरेर युवाहरूको हत्या गरेपछि सरकारबाट समर्थन फिर्ता लिन पार्टीका नेताहरूले देउवालाई दबाब दिएका थिए, तर देउवा मानेनन् र २४ भदौमा उनी स्वयं आक्रमणको सिकार हुनुप¥यो । नेतृत्व छाड्ने दबाब बढेपछि उनले २८ असोजमा तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति छाडेर उपचारका लागि सिंगापुर पुगेका थिए । तर, पुस २८–३० मा भएको दोस्रो विधान महाधिवेशनले उनलाई सभापतिबाट हटाएर गगन थापालाई सभापति निर्वाचित ग¥यो ।
०००
सधैँ विवादको केन्द्रमा
देउवा दम्पतीले सार्वजनिक पदमा हुँदा अकुत कमाएको भन्दै सार्वजनिक वृत्तमा चर्चा हुने गरेको थियो । खासगरी आरजु राणाले पार्टीको टिकट वितरण तथा राजनीतिक नियुक्तिहरूमा पार्टी कार्यकर्ताहरूबाटै मोटो रकम बुझ्ने गरेको आरोप लाग्दै आएको थियो । पार्टीका कैयौँ नेताहरूले सार्वजनिक रूपमै सो प्रवृत्तिको आलोचना गर्ने गरेका थिए । उनीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत नाम मुछिएको थियो । तर, तत्कालीन सत्ता र शक्तिको आडमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न सकेको थिएन । पछिल्लो केही वर्षयता छोरा जयवीर देउवाले देशका विभिन्न ठाउँमा जग्गा जोडेको र ठुलो व्यापारिक साम्राज्य फैलाएको आरोप पनि लाग्दै आएको थियो । अनुसन्धानका क्रममा आरजु र उनका छोरा जयवीरका नाममा ११५ रोपनीभन्दा बढी जग्गा पाइएको विभाग स्रोतको दाबी छ ।
०००
प्रचण्ड र छोरी गंगा पनि राडारमा !
पूर्वविशिष्टहरूको सम्पत्ति छानबिनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । देउवासँगै पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि सम्पत्ति छानबिनको राडारमा परेका छन् । उनीसहित उनकी कान्छी छोरी गंगा दाहालमाथि पनि अनुसन्धान सुरु भइसकेको विभाग स्रोतको दाबी छ । प्रचण्डपछि अन्य पूर्वप्रधानमन्त्रीको सम्पत्तिमा अनुसन्धान सुरु गर्ने तयारी विभागको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्दै देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री कार्यालय मातहत रहने गरी अधिकारसम्पन्न समिति गठन गर्ने निर्णय गरेको थियो । आयोगले पहिलो चरणमा २०६२/६३ यताका सबै सार्वजनिक पदधारण गरेका राजनीतिक तथा प्रशासनिक कर्मचारीको सम्पत्ति छानबिन गर्ने लक्ष्य लिइएको छ भने दोस्रो चरणमा २०४८ सालदेखि २०६१/६२ सम्म पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने कार्यसूचीमै उल्लेख छ । हालसम्म आयोग गठन भइनसके पनि राज्यका विद्यमान संरचनाहरूमार्फत् नै छानबिनको कामलाई तीव्रता दिइएको हो ।
०००
भ्रामक प्रचारबाजी गरियो : देउवा
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवार सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेस गरेको भन्दै भ्रामक र झुटा प्रचारबाजी गरिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू नै गृहमन्त्री हुँदा अख्तियार ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू भएको उल्लेख गरेका छन् । ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु,’ उनले भनेका छन् । उनले आफ्नो उपचारको क्रम जारी रहेको पनि बताएका छन् ।
०००
स्विस बैंकमा नेपालीको कालोधनबारे गृहमन्त्रीको चासो
गृहमन्त्री सुधन गुरुङले स्विस बैंकमा नेपालीहरूको कालोधन भए/नभएको विषयमा चासो राखेका छन् । गृहमन्त्री गुरुङ र नेपालका लागि स्विस राजदूत डेनियल मैवलीबीच बुधबार भएको शिष्टाचार भेटका क्रममा गुरुङले यस्तो चासो राखेको उनको सचिवालयले जनाएको छ । गुरुङले स्विस बैंकमा नेपाली पूर्वविशिष्टहरूको अवैध धन भए/नभएको विषयमा अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए । अनुसन्धानबाट त्यस्तो रकम भएको पुष्टि भएमा फिर्ता ल्याउन सहयोग गरिदिन पनि गुरुङले आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया