शरीरका विशेष विन्दुहरू ‘अकुप्वाइन्ट्स’ मा सुईहरू घोचेर रोगहरूको उपचार गरिन्छ । यो पद्धति शरीरको ऊर्जा प्रवाहलाई सन्तुलनमा राख्ने विश्वासमा आधारित मानिन्छ । चिनियाँ दर्शन अनुसार, जब ऊर्जाको प्रवाह अवरुद्ध हुन्छ, तब रोगहरू उत्पन्न हुन्छन् । अकुपन्चरले यी अवरोधहरू हटाएर स्वास्थ्य सुधार गर्छ ।

मान्छेले जीवनकालमा अनेक रोगको सामना मात्रै गर्दैन, सम्भव भएसम्म जाने, बुझे र सुने अनुसारको उपचारको पद्धति पनि अपनाउँछ । त्यसैले रोग मात्रै होइन, उपचारका पद्धति पनि अनेक भित्रँदै छन् । झारफुक, आयुर्वेदिक हुँदै आधुनिक चिकित्सामा विश्वास गर्ने नेपाली समाज पछिल्ला दिनमा अकुपन्चर चिकित्सा पद्धतितिर पनि ढल्केको पाइन्छ । आधुनिक चिकित्सा पद्धतिमा रोगको निदानका लागि प्रयोगशाला परीक्षण र वैज्ञानिक औषधिमा आधारित उपचार गरिन्छ । यद्यपि अहिले पनि हाम्रो समाज माथि उल्लेख भएका सबै पद्धतिमा जोडिएकै पाइन्छ । नेपाली समाजमा स्वास्थ्य उपचारमा पछिल्लो समय अकुपन्चर विधि पनि बाक्लै प्रयोगमा आएको भेटिन्छ ।
अकुपन्चर के हो ?
अकुपन्चर चिनियाँ चिकित्सा पद्धतिअन्तर्गतको चिकित्सा विधि हो । अकु अर्थात सियो र पञ्चर अर्थात् घोचाइ । यस अर्थमा स–साना सियोको माध्यमबाट छालाका विभिन्न विन्दुहरूमा गरिने घोचाइ नै सामान्य अर्थमा अकुपन्चर चिकित्सा हो । यो विधिमा शरीरका विशेष विन्दुहरू ‘अकुप्वाइन्ट्स’ मा सुईहरू घोचेर रोगहरूको उपचार गरिन्छ । यो पद्धति शरीरको ऊर्जा प्रवाहलाई सन्तुलनमा राख्ने विश्वासमा आधारित मानिन्छ । चिनियाँ दर्शनअनुसार, जब ऊर्जाको प्रवाह अवरुद्ध हुन्छ, तब रोगहरू उत्पन्न हुन्छन् । अकुपन्चरले यी अवरोधहरू हटाएर स्वास्थ्य सुधार गर्छ ।
यो पद्धति चीनमा करिब ५ हजार वर्ष पुरानो मानिन्छ । नेपालमा सुश्रुत संहितामा ‘सूचीभेद’ वा भेदन चिकित्साको रूपमा उल्लेख छ, जुन अकुपन्चरसँग मिल्दोजुल्दो छ । आयुर्वेदको मर्म चिकित्सासँग पनि यसले समानता राख्ने बताइन्छ । नेपालमा अकुपन्चरको अभ्यास बिस्तारै लोकप्रिय हुँदै छ । काठमाडौँ र अन्य ठुला सहरमा अकुपन्चर क्लिनिकहरू सञ्चालित छन् । यहाँका प्रशिक्षित चिकित्सकहरूले परम्परागत र आधुनिक विधिहरूको संयोजनबाट यो उपचार विधि अगाडि बढाउँछन् । नेपालमा यो विशेष गरी पीडा व्यवस्थापन र तनाव कम गर्न प्रयोग हुने गरेको पाइन्छ ।
अकुपन्चरको प्रयोग ?
विश्व स्वास्थ्य संगठनको सन् २००२ को क्लिनिकल ट्रायलअनुसार अक्कुपञ्चर १०० भन्दा बढी रोगमा प्रभावकारी हुन्छ । विशेषगरी न्युरो र हाडजोर्नी, माइग्रेन, ढाड दुःखाइ, ‘न्युरोजेनिक ब्लाडर’, नशाका कारण पिसाबसम्बन्धी समस्या, प्यारालाइसिस, अनिद्रा आदिमा यो उपचार पद्धति प्रयोग हुन्छ । महिलाका समस्या महिनावारीको दुःखाइ र कारण पत्ता नलागेको बाँझोपनमा पनि यो उपयोगी हुने विज्ञ बताउँछन् । ज्वरो निको पर्ने, घाउ छिटो निको पार्ने, हातखुट्टा पोल्ने/झमझमाउने समस्या निको पार्न पनि यो उपचार पद्धति प्रयोग हुन्छ ।
प्राचीन कालमा मानिस युद्ध लड्दा ढुंगाको हतियार प्रयोग गर्थे । युद्धमा लड्दा ढुंगाको हतियारले मानिसका विभिन्न ठाउँमा प्रहार गर्थे । यसरी ढुंगाकोे हतियार शरीरका विभिन्न भागमा रोपिँदा त्यो रोपिएको भागमा घाउ त लाग्दथ्यो तर प्रहार गरेको ठाउँमा घाउ भएता पनि शरीरको अर्को कुनै भागको दुःखाइ कम भएको महसुस गर्न थाले, र लामो समयदेखिको रोग निको भएको पाए । त्यसले यो एकप्रकारको उपचार विधि बन्दै आयो । त्यसैबाट अक्कुपञ्चर पद्धतिको परिकल्पना भएको पाइन्छ ।
अकुपन्चर चिकित्सकीय उपचार सुरुआत ५ हजार वर्ष पहिले भएको मानिन्छ । आधुनिक चिकित्साभन्दा लामो इतिहास बोकेको अकुपन्चर केही दशकअघि गुमनाम जस्तै थियो । तर समय क्रममा विज्ञहरूले यस उपचारबारे गहन अध्ययन, अनुसन्धान गरी उपयोगिता पत्ता लगाए । पत्ता मात्र लगाएनन् थप यसलाई कसरी उपयोग गर्न सकिन्छ भनेर हर सम्भव प्रयास गरे । फलस्वरूप यो पद्धति पुनः चर्चामा छ । तर अझै पनि जनमानसमा यो पद्धतिका बारेमा अनेक जिज्ञासा छ ।
००००
जिज्ञासा
अकुपन्चर उपचार पद्धति विज्ञान प्रमाणित भएको विज्ञ बताउँछन् । यसको प्रभावकारिता आधुनिक अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ । विभिन्न अध्ययनले अकुपन्चरले पीडा व्यवस्थापन, तनाव र अन्य स्वास्थ्य समस्यामा सहयोग पु¥याउन सक्छ भनेर देखाएका छन् ।
अकुपन्चर गर्दा दुःखाइ हुन्छ कि हुँदैन भन्ने जिज्ञासा पनि छ । विज्ञ भन्छन् – यो विधिबाट उपचार गराउँदा दुःखाइ हुँदैन । धेरैजसो व्यक्तिलाई अकुपन्चरको बेला सुई घोच्दा हल्का पीडा वा सुईको स्पर्श मात्र महसुस हुन्छ । सुईहरू धेरै पातलो हुन्छन्, जसले गर्दा सुई घोच्दा हुने दुःखाइ न्यून हुन्छ । सही तालिमप्राप्त चिकित्सकले गर्दा पीडा महसुस हुँदैन भन्ने दाबी छ ।
यसले दुःखाइ हुनेभन्दा पनि दुःखाइको व्यवस्थापनमा मात्र प्रयोग गरिन्छ । अकुपन्चरले दुःखाइ व्यवस्थापन मात्र नभएर अनिद्रा, पाचन समस्या, महिला स्वास्थ्यका समस्या, मानसिक स्वास्थ्य र प्रतिरक्षा प्रणाली सुधार गर्न पनि मद्दत गर्छ । त्यसैले यो एक बहुआयामिक उपचार पद्धति मानिन्छ ।
यसैगरी अकुपन्चरले औषधिलाई पूर्णरूपमा प्रतिस्थापन गर्दैन । तर यो अन्य चिकित्सा विधिहरूसँग मिलेर काम गर्न सक्ने बताइएको छ । जसले गर्दा बिरामीलाई छिटो राहत मिल्छ । यसले कतिपय अवस्थामा बिरामीलाई औषधिको मात्रा कम गर्न सहयोग पुर्याउँछ ।
उपचारका क्रममा अकुपन्चर थोरै तर प्रभावकारी सिद्धान्त अनुसरण गरिन्छ । धेरै बिन्दुहरूमा सुई लगाउँदा शरीरको ऊर्जा नोक्सान भई कमजोरी उत्पन्न हुनसक्छ, जसले राम्रो उपचार परिणाम दिन सक्दैन । यो विधिमा उपचार ७ देखि १० दिनसम्म गरेर २ दिनको विश्राम उपयुक्त मानिन्छ । निरन्तर अकुपन्चर गर्दा सुधार रोकिन सक्ने र थकावट देखा पर्न सक्ने बताइन्छ ।
अकुपन्चरपछि शरीरका बिन्दुहरू खुला हुने हुँदा बाह्य चिसो हावाको जोखिम रहन्छ । यसका साथै, शरीरमा पहिले नै आद्र्रता बढी भएका बिरामीहरूमा अवस्था बिग्रिन सक्छ । यस्तो अवस्थामा टिडिपी ल्याम्प, मोक्सिबुसन वा तातो अकुपन्चरले नकारात्मक प्रभाव घटाउन सहयोग पुर्याउने बताइन्छ । भित्री ताप भएका बिरामीहरूमा वर्षायाममा अकुपन्चर लाभदायक मानिन्छ । अनिद्राका बिरामीलाई पनि वर्षायामअघि अकुपन्चर गर्दा लाभ मिल्छ । किनकि अनिद्राको कारण याङ ऊर्जा यिनमा प्रवेश नगर्नु हो । वर्षायाममा यी ऊर्जा बढी हुने भएकाले अनिद्राका बिरामीलाई निदाउन मद्दत पुर्याउँछ ।
अकुपन्चरले विभिन्न तीव्र र दीर्घकालीन रोगहरू, जस्तै आन्तरिक रोग, बाह्य रोग, स्त्रीरोग, बाल रोग र पञ्च इन्द्रियसँग सम्बन्धित रोगहरूको उपचार गरिन्छ । विशेषगरी महिलाको महिनावारीको पीडा, पेट दुःखाइ, मांसपेशी र जोर्नी पीडा, टाउको दुःखाइ जस्ता समस्याहरूमा अकुपन्चरले छिटो र प्रभावकारी रूपमा पीडा कम गर्न मद्दत गर्छ ।
अकुपन्चर धेरै प्रचलित र सुरक्षित उपचार विधि मानिन्छ । जसले साधारणतया कुनै गम्भीर नकारात्मक प्रभाव गर्दैन । यद्यपि, अकुपन्चर गर्दा केवल स्नायु वा रक्तनलीहरूमा कुनै हानि नगरी मांसपेशी र त्यससँग जोडिएको तहको बीचमा सुई प्रवेश सावधानीपूर्वक गर्नुपर्ने हुँदा यो उपचार व्यावसायिक चिकित्सकबाट मात्र गरिनुपर्छ । अहिले प्रयोगमा आइरहेका अकुपन्चर सुईहरू एकपटक मात्र प्रयोग गरिने हुन्छन् । सुईको प्वाल पनि निकै सानो हुने भएकाले संक्रमणको जोखिम नरहने विज्ञ बताउँछन् ।
यो उपचार पद्धतिका लागि गर्भवती महिलाहरूले अकुपन्चर चिकित्सकको सल्लाहमा सुरक्षित रूपमा गराउन सक्ने बताइन्छ । यो विधि गर्भावस्थाका लक्षणहरू मुर्छा, पीठ दुःखाइ र तनाव व्यवस्थापनमा सहयोग पु¥याउन सक्छ ।
करिब ५ हजार वर्षभन्दा पनि पहिलेदेखि चीनबाट सुरु भएको अकुपन्चर चिकित्सा १६औँ शताब्दी पछि युरोप र अमेरिका हुँदै संसारभरी नै लोकप्रिय बन्दै गइरहेको छ । हाल विश्वका झन्डै १९६ राष्ट्रहरूमा अकुपन्चर सेवा विस्तार भएको पाइन्छ ।
सन् २०१७ मा प्रकाशित न्युरोपञ्चर भन्ने पुस्तकका अनुसार अकुपन्चरले विभिन्न तरिकाले आफ्नो काम गर्छ । जसमा स्थानीय मेकानिजम, स्पाइनल कर्ड मेकानिजम, इन्डोजेनस ओपोइड सर्किट मेकानिज्म, स्नायु प्रणाली मेकानिज्म र स्नायुमांशपेसीगत मेकानिजम पर्छ । अकुपन्चर चिकित्सा अन्य विभिन्न स्वास्थ्य समस्याहरूमा उपयोगी भएता पनि बिशेष रुपले दुःखाई कम गर्नका लागि प्रख्यात छ ।
००००
अकुपन्चरको महत्व र आकर्षण बढ्दै छ : सुवास ढकाल, अकुपञ्चरिस्ट
अकुपञ्चर उपचार विधिमा नकारात्मक असर नपर्ने, रोगप्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले सबै पुस्ताको मान्छेमा आकर्षण बढ्दो छ ।

अकुपन्चर भनेको परापूर्व कालदेखि नै प्रचलित उपचार विधि हो । यो विधिमा मसिनो सियोले शरिरमा रहेको अकुप्वाइन्ट भन्ने हुन्छ । त्यो प्वाइन्टमा सियोले दबाब दिएर थिचेर गरिने उपचार पद्धतिलाई नै अकुपन्चर भन्छ । शरीरको छाला छेडेर गरिने उपचार पद्धतिलाई नै अकुपन्चर भनिन्छ ।
नेपालमा यसको सुरुआत २०२७–२८ सालमा कोदारी राजमार्ग निर्माणमा आएका चिनियाँ प्राविधिकले यहाँका गाउँले नेपालीलाई अकुपन्चर विधिबाट उपचार गरेपछि यसको सुरुआत भएको हो । त्यो भन्दा पहिला नेपालमा यो विधि थिएन । सयम क्रममा यसको संस्थागत विकास भएको हो । संस्थागत रूपमा भने २०४९ सालमा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखामा जापान सरकारको सहयोगमा योे कार्यक्रम सुरु भयो । ०५४ सालदेखि भने नेपाल सरकारले सिटिभिटीअन्तर्गत एचए लेबलको ३ वर्षे कोर्सको शिक्षण सामग्री विकास गरेर अध्ययन भइरहेको छ ।
नेपालमा पछिल्लो सयम यसको महत्व बढ्दै र आकर्षण पनि बढेको छ । यो विधिअन्तर्गत उपचार गर्नेमा दीर्घ रोगी, नशा च्यापिएका, बाथ, प्यारालाइसिसलगायत पुराना रोगका बिरामी उपचार गर्न आउँछन् । यो विधिमा २०० भन्दा बढी रोगको उपचार हुन्छ । खासगरी, प्यारालाइसिस, मुखबांगो हुने, हड्डी खिइएर, नशा च्यापिएर हुने दुःखाइका बिरामीको उपचार हुन्छ । यसले खासमा दुःखाइको व्यवस्थापन गर्ने हो ।
चीनमा जति व्यवस्थित उपचार गर्ने क्षमता नेपालमा छैन । यद्यपि नेपालमा पनि अकुपन्चर विधिबाट उपचार भइरहेको छ । कतिलाई भ्रम छ । अकुपन्चर विधिबाट उपचार गराउँदा दुःखाइ हुन्छ कि भन्ने । हेर्दा त्यस्तो लाग्न पनि सक्छ, धेरै सियो जस्ता पिनले एकैपटक शरीरका विभिन्न भागमा घोच्दा । तर, डराउनु पर्देन । अकुपन्चर गर्दा घ्यू कमिलाले टोकेको जस्तो मात्रै हुन्छ ।
यो विधिमा शरीरका विशेष विन्दुहरू ‘अकुप्वाइन्ट्स’ मा सुईहरू रोपेर रोगहरूको उपचार गरिन्छ । यो पद्धति शरीरको ऊर्जा प्रवाहलाई सन्तुलनमा राख्ने विश्वासमा आधारित मानिन्छ । चिनियाँ दर्शनअनुसार, जब ऊर्जाको प्रवाह अवरुद्ध हुन्छ, तब रोगहरू उत्पन्न हुन्छन् । अकुपन्चरले यी अवरोधहरू हटाएर स्वास्थ्य सुधार गर्छ ।
नेपालमा अक्कुपञ्चर उपचार नरदेवी आयुर्वेदिक अस्पताल र महानगरपालिकाको स्वास्थ्य विभागले चलाएको छ । केही समय कोरियन चिकित्सकहरूले पनि नेपालमा सेवा दिएका थिए अहिले भने नेपालीले नै सेवा दिइरहेका छन् । निजी अस्पताल र नर्सिङहोमहरूमा पनि यो सेवा पाइन्छ । यो विधिबाट उपचार गराउँदा सामान्यतः १० दिनको कोर्स हुन्छ । रोग र अवस्था हेरेर महिनौँ दिन पनि लाग्न सक्छ । यो उपचार विधिमा नकारात्मक असर नपर्ने, रोगप्रतिरोधात्मक क्षमता पनि बढाउने भएकाले सबै पुस्ताको मान्छेमा आकर्षण बढ्दो छ ।
प्रतिक्रिया