
सुर्खेत । सुर्खेत जिल्ला अदालतले इनिशा विकको सामूहिक बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको बाल इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ । अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।
प्रहरीले अनुसन्धानका क्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जबरजस्ती करणीसहित कर्तव्य ज्यान र अन्य ३ जनालाई कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिमाना मागदाबीसहित अभियोग दायर गरेको थियो । उक्त अभियोगअनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिने गरी ५ लाख रुपैयाँ जरिमाना र कर्तव्य ज्यानअन्तर्गत आजीवन काराबासको मागदाबी गरिएको छ ।
दुवै पक्ष प्रदर्शनमा
इनिशा विक हत्या आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरिएपछि इनिशा प्रकरणमा दुवै पक्ष प्रदर्शनमा उत्रिएका छन् । आइतबार अदालतमा अभियोग दर्ता गरिएसँगै सोमबारदेखि आरोपित पक्षका आफन्त पनि प्रदर्शनमा उत्रिएका हुन् । २५ दिनदेखि इनिशाका आफन्त र अधिकारकर्मीले इनिशालाई न्याय माग्दै प्रदर्शन र धर्ना गरिरहेका छन् । आइतबार सरकारी वकिल कार्यालयले अभियोजन दर्ता गरेसँगै पक्राउ परेका किशोरहरूका आफन्त पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले मंगलबार सरकारी वकिल कार्यालयअगाडि धर्ना दिए । अदालतमा इनिशाका आफन्त र अधिकारकर्मीहरूले धर्ना दिएका थिए । इनिशाको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै पक्राउ परेकालाई कानुनी कारबाही गर्न उनीहरूले दबाब बढाइरहेका छन् ।
प्रहरीको अनुसन्धान प्रतिवेदनविपरीत सरकारी वकिल कार्यालयले आरोपित चारै जनालाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा निर्दोषलाई फसाउन खोजेको आरोपितका आफन्तको आरोप छ । सरकारी वकिलले तथ्य र प्रमाणका आधारमा नभई हचुवाका आधारमा अभियोजन गरेको भन्दै आरोपित पक्षका आफन्तले मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरे । बजारमा प्रदर्शनपछि जिल्ला अदालतअगाडि धर्नामा बसेका उनीहरूले सरकारी वकिलविरुद्ध नाराबाजीसमेत गरेका थिए । १ जनाले गल्ती गरे पनि साथीलाई सहयोग गर्न गएकै आधारमा फसाउन खोजिएको उनीहरूको आरोप छ ।
फागुन २३ गते मृत्यु भएकी इनिशाको शव २६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शवगृहमै छ । इनिशाका आफन्तले पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै पुनः अनुसन्धानको माग गरिरहेका छन् ।
प्रतिक्रिया