
कालिकोट । कुनै समय थियो— जब किशोरीहरूका लागि महिनावारी लाज, पीडा र असहजताको पर्याय थियो । स्कुल जाँदा मनमा डर हुन्थ्यो— कपडामा रगतको दाग त देखिएको छैन ? साथीहरूले जिस्काउने हुन् कि ! अपमान सहनुपर्ला कि ! तर आज त्यही स्कुल उनीहरूको आत्मविश्वास र सम्मानको आधार बन्दै गएको छ । बडिमालिका माविमा ८ कक्षामा पढ्दै गरेकी रास्कोट नगरपालिका–५ की १४ वर्षीया सम्पदा शाही भन्छिन्, ‘हिजोका दिन सम्झिँदा अझै मन भक्कानिन्छ । महिनावारी हुँदा स्कुल जानै मन लाग्दैनथ्यो । प्याड थिएन, ट्वाइलेट थिएन, धारा थिएन । कपडाले काम चलाउनुपथ्र्यो, त्यो पनि लुकाएर ।’
विगत सम्झिएर भावुक हुँदै उनी थप्छिन्, ‘कहिलेकाहीँ कपडामा रगत देखियो भने अनि साथीहरूले जिस्क्याउँथे । त्यतिबेला जमिन फाटेर भासिए जस्तो लाग्थ्यो । घर फर्किनुबाहेक अर्को उपाय हुँदैनथ्यो । पढाइ छुट्थ्यो, मन दुख्थ्यो, तर कसैलाई भन्न सकिँदैनथ्यो ।’ उनको आवाजमा पीडा मात्र होइन, भोगाइको गहिरो छाप पनि सुनिन्छ । तर, अहिलेको अवस्था फरक छ । उनी भन्छिन्, ‘अहिले त स्कुलमै सफा शौचालय छ, पानी छ, महिनावारी कक्ष छ । डर लाग्दैन । ढुक्क भएर स्कुल आउँछु ।’
त्यस्तै, सोही स्कुलमा ७ कक्षामा पढ्ने १३ वर्षीया यमुना शाही अहिलेको परिवर्तन देखेर मख्ख छिन् । ‘पहिले महिनावारी भनेको लुकाउने कुरा जस्तो लाग्थ्यो । कसैले थाहा पाए लाज लाग्थ्यो । स्कुलमा केही सुविधा नहुँदा आफैँलाई कमजोर ठान्थ्यौँ । कहिलेकाहीँ त स्कुल नै आउँदैनथ्यौँ,’ उनी भन्छिन्, ‘तर अहिले त्यस्तो छैन । सुविधा आएपछि हामी पनि अरूजस्तै हौँ भन्ने महसुस हुन थालेको छ । पढाइमा ध्यान दिन सजिलो भएको छ ।’
रास्कोट नगरपालिकाका स्कुलहरूमा बनेका अपांगता तथा लैंगिकमैत्री ३ कोठे पक्की शौचालय भवन, हातधुने धारा र महिनावारी स्वच्छता कक्षले केवल भौतिक संरचना मात्रै थपेको छैन, यसले किशोरीहरूको भावनाको सम्मानसँगै जीवनका सपना पूरा गर्न पनि मद्दत गरेको छ । रास्कोट नगरपालिकाको समन्वय र प्लान इन्टरनेसनल नेपालको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको साझेदारीमा सञ्चालित रास्कोट महिनावारी स्वास्थ्य तथा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार परियोजनाअन्तर्गत विभिन्न स्कुलमा यस्तो संरचना निर्माण गरिएको छ ।

यो परियोजनाअन्तर्गत रास्कोट–८ को जनजागृति मावि, रास्कोट–६ को कालाशिल्ला मावि, रास्कोट–१० को सुन्दर आधारभूत विद्यालय र रास्कोट–३ को मालिका माविमा अपांगता तथा लैंगिकमैत्री शौचालय भवन, धारा र महिनावारी स्वच्छता कक्ष निर्माण गरिएको छ भने अन्य स्कुलमा पनि काम सुरु भइसकेको छ । पहिले असहज महसुस गर्दै छात्राहरूले स्कुल नै छाड्ने अवस्थाको अन्त्य गर्दै अहिले छात्राको संख्या बढ्न थालेको छ । नियमित उपस्थितिमा सुधार आएको विद्यालयहरूले जनाएका छन् । शिक्षकहरूका अनुसार पहिले किशोरीहरू चुपचाप समस्या सहन्थे, भन्न सक्दैनथे । तर, अहिले उनीहरू खुल्न थालेका छन्, यसले स्कुललाई अझै समावेशी र सुरक्षित बनाएको अनुभव शिक्षकहरूको छ ।
‘विद्यालय भनेको केवल पढाइ हुने ठाउँ मात्र होइन, यो बालबालिकाको सुरक्षित र सम्मानजनक भविष्य निर्माण हुने आधार हो । पहिले आधारभूत सरसफाइ सुविधासमेत नहुँदा किशोरीहरू धेरै समस्यामा पर्थे । महिनावारी हुँदा कक्षामा बस्न सक्दैनथे, लाजका कारण घर फर्किन्थे, जसले गर्दा पढाइमा ठुलो असर पथ्र्याे,’ कालाशिल्ला माविका प्रधानाध्यापक देवराज चौलागाईं भन्छन्, ‘अहिले बनेका संरचनाले विद्यालयको वातावरण नै परिवर्तन भएको छ । किशोरीहरू ढुक्क भएर आउन थालेका छन् । पहिले घट्दै गएको छात्राको उपस्थितिमा अहिले उल्लेखनीय वृद्धि भएको छ ।’ अभिभावक पनि यो परिवर्तनप्रति खुसी छन् । उनीहरू भन्छन्— ‘छोरीहरू पहिले विद्यालय जान डराउँथे, अहिले उत्साहित भएर जान्छन् । हाम्रा लागि ठुलो परिवर्तन हो ।’

हुरेन्डेक नेपाल कालिकोटका जिल्ला व्यवस्थापक दिलीपकुमार शाही महिनावारीकै कारण कुनै पनि किशोरीले पढाइ छुटाउनुपर्ने अवस्था स्वीकार्य नभएको बताउँछन् । ‘यो संरचना सुविधा मात्र होइन, उनीहरूको अधिकार र सम्मानको सुनिश्चितता हो,’ उनी भन्छन्, ‘अब विद्यालयहरू किशोरीमैत्री बन्नैपर्छ । यो विकल्प होइन, आवश्यकता हो ।’ परियोजना संयोजक सूर्य रोकाया भन्छन्, ‘हिजोसम्म महिनावारीकै कारण कक्षा छुटाउने बाध्यता भोगेका छोरीहरू आज निर्धक्क विद्यालय आउँदा, उनीहरूको मुस्कानमै हाम्रो सफलताको अनुभूति हुन्छ ।’ त्यस्तै हुरेन्डेकका उपाध्यक्ष खडानन्द अधिकारीले किशोरीहरूले महिनावारीकै कारण लाज, डर र अपमान सहनुपर्ने समाजको पीडादायी यथार्थ रहेको बताउँछन् । उनी भन्छन्, ‘सानो प्रयासले पनि ठुलो परिवर्तन सम्भव रहेछ ।’

कालिकाेट
प्रतिक्रिया