उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी, २ प्यानलबाट उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ । महासंघको कार्यकारिणी समितिको १५औँ बैठकले गरेको निर्णयअनुसार यहि चैत २९ मा साधारणसभा र त्यसलगत्तै चैत ३० मा निर्वाचन कार्यक्रम तय गरिएको छ । निजी क्षेत्रको नेतृत्व चयनलाई नीतिगत दिशानिर्देशन र आर्थिक एजेन्डा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
मुलुक आर्थिक सुस्तता, लगानी संकुचन र नीतिगत अनिश्चितताबाट गुज्रिरहेको अवस्थामा महासंघको नयाँ नेतृत्वले कस्तो रणनीति अवलम्बन गर्छ भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ । विशेषतः सरकारसँगको सम्बन्ध, कर नीतिमा सुधार, उद्योगमैत्री वातावरण निर्माण, विदेशी लगानी आकर्षण तथा आर्थिक पुनरुत्थानका एजेन्डामा महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले योे निर्वाचनलाई सामान्य संगठनात्मक प्रक्रिया भन्दा बढी रणनीतिक महत्वको रूपमा हेर्ने गरिन्छ ।

महासंघको विधान २०४९ (सातौँ संशोधनसहित) बमोजिम साधारणसभासँगै उपाध्यक्षहरू तथा कार्यकारिणी समितिका सदस्यहरूको निर्वाचन हुने व्यवस्था रहेकाले यसपटकको सभा औपचारिकता मात्र नभई नेतृत्व चयनको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ । निजी क्षेत्रको छाता संगठनको नेतृत्व चयन हुने भएकाले यसले आगामी आर्थिक नीति, लगानी वातावरण र सरकारसँगको समन्वयमा समेत दूरगामी प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

निर्वाचन कार्यतालिका

महासंघद्वारा निर्धारित कार्यक्रमअनुसार चैत २९ आइतबार बिहान साधारणसभाको उद्घाटन सत्र सम्पन्न हुनेछ । उद्घाटनपछि सोही दिन महासंघको विधानअनुसार वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, नीतिगत छलफल तथा अन्य नियमित एजेन्डाहरूमाथि छलफल गरिनेछ । त्यसको भोलिपल्ट चैत ३० सोमबार निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । निर्वाचन समितिले निर्धारण गरेको समयतालिकाअनुसार उपाध्यक्ष पदसहित कार्यकारिणी समितिका सदस्यहरूको चयन प्रक्रिया अघि बढाइनेछ ।

२ प्यानलबाट उम्मेदवारी घोषणा

महासंघको प्रस्तावित वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले गत ११ फागुनमै उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल अहिलेको कार्यकारिणी समितिमा वस्तुगत तर्फका उपाध्यक्ष हुन् । यो समूहबाट एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको उम्मेदवारी रहनेछ । श्रेष्ठ अहिलेको कार्यकारिणी समितिमा पनि एसोसिएट उपाध्यक्ष हुन् । त्यस्तै, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठ छन् । यो समूहको चैत १३ गते वस्तुगत तर्फका सदस्यको उम्मेदवारी घोषणा गरिने जनाएको छ । महासंघको आसन्न नेतृत्व चयनको सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हेमराज ढकालले आफ्नो उम्मेदवारीलाई अनुभव, निरन्तरता र नीतिगत सुधारको आवश्यकताका रूपमा बुझ्नुपर्ने बताए ।

त्यस्तै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष अञ्जन श्रेष्ठ समूहले गत सोमबार एक कार्यक्रमबीच आफ्नो समूह घोषणा गरेको छ । यो समूहले वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे र जिल्ला÷नगरतर्फको उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका छन् । वस्तुगत उपाध्यक्षतर्फका आकांक्षी शिवप्रसाद घिमिरेले महासंघको कार्यकारिणी सदस्य, स्थल यातायात तथा पारवहन समिति सभापति तथा नेपाल कत्था उद्योग उत्पादक संको अध्यक्ष हुन् । उनी नेपाल एलपी ग्यास उद्योग संंघको निवर्तमान अध्यक्षसमेत हुन् ।

वस्तुगत उपाध्यक्षतर्फ उम्मेदवारी घोषणा गर्नु भएका शिवप्रसाद घिमिरेले महासंघ नेतृत्व केवल पद वा प्रतिष्ठाको विषय नभई निजी क्षेत्रका समस्या सुल्झाउने र मुलुकको समग्र आर्थिक तथा व्यावसायिक अवस्था सुधारका लागि पहल गर्ने ठाउँका रूपमा लिइनुपर्ने बताए । विगतका नेतृत्वसँग नजिक रही समन्वयात्मक ढंगले काम गरेको आफ्नो अनुभव पनि आफ्नो महत्वपूर्ण पुँजीका रूपमा रहेको घिमिरेको भनाइ छ ।

महासंघ कार्यकारिणी समिति

महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत सदस्यका रूपमा वस्तुगत संघ तथा वस्तुगत महासंघ, एसोसिएट सदस्यका रूपमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठान र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, संस्थापक सदस्य, वैदेशिक सदस्य र मानार्थ सदस्य रहने व्यवस्था छ । ‘नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ (सातौँ संशोधन)’ अनुसार महासंघको विधानमा उल्लिखित सबै काम गर्ने गराउने अधिकार कार्यकारिणी समितिले पाएको छ । विधानमा उल्लिखित कार्यकारिणी समिति चयनसम्बन्धी व्यवस्थाअनुसार समितिमा महासंघ अध्यक्ष, महासंघ निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायत रहने व्यवस्था छ । त्यस्तै महासंघका उपाध्यक्षहरूमा जिल्ला नगर तर्फबाट २ जना, वस्तुगत तर्फबाट १ जना, एसोसिएट द्विराष्ट्रिय तर्फबाट १ जना र महिला उपाध्यक्ष १ जना रहन्छन् भने १ जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

महासंघका सदस्यहरूमा प्रदेश अध्यक्षहरू ७ जना, उद्योग वाणिज्य संघहरूको खुला तर्फबाट कम्तीमा २ जना महिलासहित १७ जना, उद्योग वाणिज्य संघ सदस्य मध्येबाट प्रत्येक प्रदेशबाट निर्वाचित २ जनाका दरले १४ जना, वस्तुगत तर्फबाट निर्वाचित हुने कम्तीमा १ जना महिलासहित १४ जना, वस्तुगत महासंघमा १५ भन्दा बढी सदस्य भएमा निर्वाचित हुने २ जना, द्विराष्ट्रिय संघहरूबाट निर्वाचित १ जना, एसोसिएट सदस्यमध्येबाट कम्तीमा २ जना महिलासहित १९ जना, महासंघद्वारा प्रवद्र्धित नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष (पदेन), संस्थापक सदस्यहरू १२ मध्येबाट २ जना र अध्यक्षबाट मनोनीत कम्तीमा २ जना महिलासहित ७ जना रहने व्यवस्था छ । यो विधान लागू हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालको स्वतः अध्यक्ष हुनेछन् भने अर्कोपटकबाट भने महासंघको अध्यक्षका लागि पनि प्रत्यक्ष निर्वाचन हुनेछ ।

प्रतिक्रिया