न्यायिक समितिका सरोकारवालालाई तालिम

कालिकोट । ‘न्यायिक समितिको प्रतिबद्धता मेलमिलाप र सहज न्यायमा सहभागिता’ भन्ने मूल नाराका साथ न्यायिक समितिसँग सम्बन्धित सरोकारवालाहरूलाई एक दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

उक्त तालिम खाँडाचक्र नगरपालिका को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा खाँडाचक्र नगरपालिकाका न्यायिक समिति सदस्यहरू, जिल्लामा न्यायिक क्षेत्रमा कार्यरत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम खाँडाचक्र नगरपालिका उपप्रमुख गणेश बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने प्रहरी प्रमुख हिमबहादुर खत्रीलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

तालिमका क्रममा न्यायिक समितिको प्रभावकारी भूमिका, मेलमिलाप प्रक्रियालाई सुदृढ बनाउने उपाय तथा स्थानीय तहमा सहज र छिटो न्याय प्रवाह गर्ने विषयमा छलफल गरिएको थियो ।

सहभागीहरूले समाजमा रहेका विभिन्न कुरीति, कुसंस्कार तथा यौनजन्य घटनासहित साना–ठूला विवादहरू प्रायः लेनदेनकै कारण मिल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै दोषी व्यक्तिहरू कारबाहीको दायरामा नआउँदा अपराधजन्य घटना अझ बढ्ने जोखिम रहेको बताएका थिए ।

सरोकारवालाहरूले न्यायिक प्रक्रिया प्रभावकारी बनाउँदै समाजमा न्याय र मेलमिलापको संस्कारलाई बलियो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया