ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन छायानाथ रारामा ब्ल्यांकेट वितरण

मुगु । मुगुको छायानाथ रारा नगरपालिकामा चिसो मौसममा राहत पुर्‍याउन ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरिएको छ। नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ का २५ जना ज्येष्ठ नागरिकहरूलाई चिसोबाट जोगाउन उक्त ब्ल्याङ्केट वितरण गरिएको हो। ‘नगरप्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत ६० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

ज्येष्ठ नागरिकहरूलाई चिसो मौसममा स्वास्थ्य समस्या पर्न सक्ने उल्लेख गर्दै नगरप्रमुख भामले उनीहरूको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे । चिसोमा ज्येष्ठ नागरिकहरूलाई न्यानोपन दिन यस्तो कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।

छायानाथ रारा नगरपालिकाका सबै १४ वटा वडामा प्रत्येक वर्ष चिसो मौसममा यस्तो वितरण अभियान सञ्चालन हुने गरेको छ। यसपटक अपाङ्गता भएका, विपन्न, गरिब तथा दलित समुदायका ज्येष्ठ नागरिकहरूलाई विशेष प्राथमिकतामा राखी सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यो पहलप्रति स्थानीय ज्येष्ठ नागरिकहरूले कृतज्ञता व्यक्त गर्दै यसबाट आफूहरूलाई ठुलो राहत मिलेको बताएका छन् ।

प्रतिक्रिया