रारा आएकी सदिक्षाकाे उपचारका क्रममा मृत्यु

मुगु । साथीहरूसँग रारा घुम्न आएकी एक आन्तरिक पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार काठमाडौं महानगरपालिका–धुम्बाराहीकी अन्दाजी ३० वर्षीया सदिक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घिमिरेसहितकाे समुह चैत १ गते काठमाडौँबाट रारा घुम्नका लागि प्रस्थान गरेकाे थियाे । उनीहरू चैत ३ गते रारा पुगेका थिए । रारा बसाइका क्रममा उनीहरूले सल्लेरीस्थित डाँफे होटलमा एक रात र हुटुमा रहेको सोही होटलको अर्को शाखामा एक रात गरी दुई रात बिताएका थिए।

चैत ५ गते नेपालगञ्ज फर्किने क्रममा सल्लेरीस्थित डाँफे होटलमै घिमिरेको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको बताइएकाे छ । साथमा रहेको औषधि प्रयोग गर्दा पनि सुधार नआएपछि साथीहरूले उनलाई जिल्ला अस्पताल मुगु पुर्याएका थिए ।

अस्पतालमा उपचारकै क्रममा चैत ६ गते बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको मुचुल्का उठाइसकिएको छ । परिवारको आग्रहअनुसार शवलाई पोस्टमार्टमका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

रारा क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकहरूमा उच्च भौगोलिक क्षेत्रका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । यसअघि पनि यस्तै कारणले चार जनासम्मको ज्यान गएको स्थानीयहरू बताउँछन् ।

रारा क्षेत्रको सल्लेरी आसपास अक्सिजन सिलिन्डर, औषधि र स्वास्थ्यकर्मी सहितको पूर्वाधारको व्यवस्था गर्न नसक्दा भविष्यमा थप मानवीय क्षति हुन सक्ने भन्दै स्थानीय होटल व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले छायाँनाथ रारा नगरपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई आवश्यक स्वास्थ्य पूर्वाधारको शीघ्र व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया