ग्यास र इन्धनको कालोबजारी गर्नेमाथि काठमाडौं महानगरले बढायो निगरानी

काठमाडौं । देशमा खाना पकाउने ग्यास र सवारी साधनका लागि इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ ।

ग्यास हुँदा हुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरुमा तेल मौज्दाज हुँदा हुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो ।

प्रशासन विभागका प्रमुख महेश काफ्लेले भने, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारवाही गर्ने छौँ, नेपाल आयल निगमले ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ९१० रुपियाँ तोकेको छ, यही मूल्यमा खरिद विक्री गर्न व्यावसायी र उपभोक्ताहरुमा हाम्रो अनुरोध छ ।’

ग्यास अभाव हुने आशंका गरेर उपभोक्ताहरुले बढी माग गने गरेको पनि पाइएको उनले बताए । ‘यसरी ग्यास सञ्चिती गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ, यसकारण उपभोक्ताहरुलाई पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ ।’ काफ्लेले भने, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ, आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’

पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन हुँदा हुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएको पनि काफ्लेले बताए । यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ ।

ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्ने छ ।

प्रतिक्रिया