
नेपालको संसदीय इतिहासमा निर्वाचन र त्यसपछिका परिणामहरूले शक्ति समीकरण मात्र बदल्दैनन्, नेताहरूको चरित्र र प्रवृत्तिलाई पनि उदांगो पार्ने गरेका छन् । २०७४ सालको आमनिर्वाचनलाई फर्केर हेर्ने हो भने, तत्कालीन नेकपा एमाले इतिहासमै दोस्रोपटक मुलुकको सबैभन्दा ठुलो दलका रूपमा उदाएको थियो । नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका कारण प्राप्त भएको त्यो गणितीय सफलतापछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा जुन स्तरको ‘विजयको दम्भ’ देखियो, त्यो लोकतान्त्रिक अभ्यासका लागि निकै अशोभनीय थियो । आफ्ना राजनीतिक प्रतिस्पर्धीहरूलाई होच्याउने, कटाक्ष गर्ने र अपमानित गर्ने ओलीको शैली त्यसबेला पराजित पार्टीका नेता तथा कार्यकर्ताका लागि मात्र होइन, आमनागरिकका लागिसमेत सुन्न लायक थिएन । ओलीले त्यस समयमा सार्वजनिक मञ्चहरूबाटै ‘अब अरू पार्टी सकिएको’ घोषणा गर्दै कम्तीमा ६० वर्षसम्म अरूले सत्ताको सपना नदेख्न चेतावनी दिएका थिए । उनले ‘यो देशमा नेपाली कांग्रेस भन्ने पार्टी पनि अब बाँकी छ र ?’ भन्दै जुन तुच्छ टिप्पणी गरे, त्यसले उनीभित्रको अधिनायकवादी सोच र अहंकारलाई प्रष्ट पारेको थियो । तर, समय सधैँ एकनास रहँदैन । २०७४ सालमा एमालेले पाएको त्यो सफलतालाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको अभूतपूर्व ‘महाविजय’ ले पूर्णतः छायामा पारिदिएको छ । यस पटकको निर्वाचन परिणामले संसदीय इतिहासका पुराना सबै रेकर्डहरू ध्वस्त पारेको छ । सर्वाधिक मत ल्याउने र फराकिलो मतान्तरले विजयी हुने हरेक मानकमा रास्वपाले नयाँ कीर्तिमान कायम गरेको छ ।
यो विराट सफलताको पृष्ठभूमिमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको एउटा विशिष्ट राजनीतिक संस्कार लुकेको छ । यसअघि स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनासाथ उनले भनेका थिए, ‘निर्वाचन जित्नु मात्र ठुलो कुरा होइन, आफ्नो घोषणापत्रमा उल्लेख गरिएका वाचाहरू पूरा गरेपछि मात्र वास्तविक विजयोत्सव मनाउन सकिन्छ ।’ उनको यो दर्शन केवल स्थानीय तहमा मात्र सीमित रहेन । यस पटकको आमनिर्वाचनमा रास्वपाको तर्फबाट ‘भावी प्रधानमन्त्री’ घोषणा गरिएका शाहले चुनावी प्रचारप्रसारका क्रममा सडक यातायातबाटै देशका धेरै ठाउँ पुग्ने अर्को ऐतिहासिक रेकर्ड कायम गरे । तर, अचम्मको कुरा त के छ भने, यतिधेरै दौडधुप र जनलहरका बीच पनि उनले कतै पनि आफ्ना प्रतिस्पर्धीहरूमाथि तुच्छ कटाक्ष गरेको वा अपमानजनक शब्द बोलेको समाचार आएन । मतगणनाको प्रारम्भिक रुझान आफ्नो पार्टीको पक्षमा देखिनासाथ वरिष्ठ नेता शाहले विजयोत्सव नमनाउन आफ्ना उम्मेदवार र समर्थकहरूलाई कडा निर्देशन दिए ।
उनले जितलाई क्षणिक उत्सवका रूपमा नभई गह्रौँ जिम्मेवारीका रूपमा लिन र सिधै काममा केन्द्रित हुन आग्रह गरे । बालेनको यो दूरगामी र परिपक्व निर्देशनलाई पार्टी सभापति रवि लामिछानेले पनि तत्कालै औपचारिकता दिए । धेरैले आशंका गरेका थिए – ‘यस्तो अभूतपूर्व जितका कारण मनलाई उद्वेलित बनाइरहेका रास्वपाका समर्थकहरू शीर्षस्थ नेताको निर्देशनले मात्र थामिएलान् र ?’ तर, परिणाम अनपेक्षित रूपमा सुखद् देखियो । देशका केही छिटफुट स्थानबाहेक रास्वपाका कार्यकर्ता र समर्थकहरूले आफ्ना नेताहरूको आग्रहलाई अत्यन्तै अनुशासित र मर्यादित रूपमा पालना गरे । यो अनुशासनले एउटा ठुलो भ्रमलाई पनि चिरेको छ । कतिपय आलोचकहरूले रास्वपालाई ‘अराजक व्यक्तिहरूको झुण्ड’ भन्ने आरोप लगाउने गरेका थिए । तर, विजयको उन्मादलाई संयमतामा बदल्न सक्ने यो क्षमताले रास्वपा एक जिम्मेवार र संगठित शक्ति हो भन्ने प्रमाणित गरिदिएको छ ।
वास्तवमा मुलुकको राजनीतिले सकारात्मक दिशा ग्रहण गर्न नसक्नुमा विविध कारणहरू छन् । तीमध्ये मुख्य कारण राजनीतिक दलहरूबीचको असहिष्णु व्यवहार र गतिविधि नै हो । आफू स्थापित हुने नाममा पुराना दलहरूले एकअर्कालाई गम्भीर लाञ्छना लगाउने जुन फोहोरी खेल खेले, त्यसले गर्दा आमजनतामा ‘सबै राजनीतिक दल खराब हुन्’ भन्ने निराशावादी मनोविज्ञान विकास भएको थियो । बहुदलीय संसदीय व्यवस्थाको संस्थागत विकासका लागि जनतामा रहेको यो नकारात्मक मानसिकता तोड्नु अपरिहार्य थियो । यसपटकको निर्वाचनमा होमिँदै गर्दा र ऐतिहासिक सफलता प्राप्त गर्दै गर्दा रास्वपाले यही मानसिकता बदल्ने सफल प्रयास गरेको देखिन्छ ।
लामो समयदेखि केवल भाषण र खोक्रा आश्वासनको राजनीतिबाट वाक्क–दिक्क भएका नेपाली जनताले अब ठोस परिणाम खोजेका छन् । त्यही परिणामकै तीव्र प्रतीक्षामा रहेका जनताले पुराना राजनीतिक दलहरूलाई चुनावमार्फत् दण्डित गर्दै रास्वपालाई यो महाविजयको उपहार दिएका हुन् । निर्वाचन प्रचारका क्रममा देखाइएको शालीनता र जितपछिको स्वाभाविक उद्वेलनलाई नियन्त्रण गर्ने क्षमताजस्ता प्रारम्भिक संकेतहरूले रास्वपाले पूर्ण जिम्मेवारीका साथ मुलुक हाँक्नेछ भन्ने आमजनविश्वासलाई थप मजबुत बनाएको छ । जनताले दिएको यो शक्तिशाली अभिमत र विश्वासलाई कुनै पनि बहानामा तलमाथि हुन दिनु हुँदैन भन्ने तथ्यलाई रास्वपाका नेता तथा कार्यकर्ताले गम्भीरतापूर्वक हृदयंगम गरेको हुनुपर्छ । निर्वाचनपछिका यी सुरुआती दिनहरूमा रास्वपाले देखाएको संयमित र कार्यमुखी संकेतहरू निश्चय नै नेपाली राजनीतिको उज्ज्वल भविष्यका लागि आशाजनक छन् ।
प्रतिक्रिया