संसद्‌मा २६ वर्षीय ‘जेन-जी’ युवा खनालको सानदार प्रवेश

नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ बाट २६ वर्षीय नवयुवा मनिष खनाल प्रतिनिधि सभा सदस्यमा सानदार जित हासिल गर्दै संसद्‌मा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा होमिएका जेन-जी युवा खनाल ४१ हजार ३ सय ७४ मतका साथ विजयी भएका हुन् ।

खनालले ३२ वर्षदेखि नेकपा एमालेले विजय हासिल गर्दै आएको नवलपरासी (ब.सु. पूर्व) क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तिलबहादुर महतलाई २५ हजार ५ सय ९२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । महत यही क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार थिए । त्यस्तै, नेपाली कांग्रेसका ओमबहादुर घर्ती १४ हजार ७ सय १३ मत हासिल गरी तेस्रो स्थानमा रहेका छन् ।

सानै उमेरदेखि राजनीतिमा रुचि भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. ६ घर भएका खनाल गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ आन्दोलनपछि चर्चामा आएका थिए । २० वर्षकै कलिलो उमेरमा विवेकशील साझा पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका खनाल २०७६ सालमा जनकपुरमा सम्पन्न तत्कालीन विवेकशील साझा पार्टीको महाधिवेशनबाट २० वर्षकै उमेरमा सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया