६ दिनका लागि १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंक ले ६ दिन अवधिका लागि १ खर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकले फागुन १९ गते दिउँसो ३ बजे निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन् । यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको करिब ९ खर्ब रुपैयाँ अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि कर्जा विस्तार अपेक्षित रूपमा नबढेपछि रकम विभिन्न मौद्रिक उपकरणमार्फत केन्द्रीय बैंकमै पार्क गरिएको हो ।

नेपाल राष्ट्र बैंक ले निक्षेप संकलन बोलकबोल, स्थायी तरलता सुविधा र राष्ट्र बैंक ऋणपत्रमार्फत बजारबाट रकम उठाउँदै आएको छ । राष्ट्र बैंकका अनुसार आइतबारसम्म ८ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ विभिन्न उपकरणमार्फत केन्द्रीय बैंकमै लगानीका रूपमा रहेको छ । त्यसमध्ये ५ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल, २ खर्ब रुपैयाँ ऋणपत्र र १ खर्ब २४ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधाअन्तर्गत रहेको छ ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत १८ खर्बभन्दा बढी, स्थायी तरलता सुविधामार्फत ३०७ खर्बभन्दा बढी र ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ उठाइसकेको छ । आइतबार मात्र ८७ दिन अवधिका लागि १ खर्ब १० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल जारी गरिएको थियो, जसमा बैंकहरूले १ खर्ब १४ अर्ब रुपैयाँका लागि प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया