
काठमाडौँ । मध्यपूर्वमा सुरु भएको युद्धले विश्व अर्थतन्त्रमा तनाव सिर्जना गरेको छ । अमेरिकाको प्रत्यक्ष संलग्नतामा इजरायलले इरानविरुद्ध गरेको आक्रमणपछि चर्किएको युद्ध सिंगो मध्यपूर्वमा फैलिँदा विश्व अर्थतन्त्रमै तनाव सिर्जना भएको हो । कोभिड–१९ को कहरपछि तंग्रिन लागेको विश्व अर्थतन्त्रमा विभिन्न समयमा भएका सैन्य तनावले केही असर गर्दै आए पनि यो युद्धले भने ठुलै असर पर्ने देखिएको छ ।
युद्धको प्रभाव सबैभन्दा पहिले ऊर्जा बजारमा देखिने विज्ञहरू बताउँछन् । युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा अमेरिकी कच्चा तेल र ब्रेन्ट क्रुड दुवैको मूल्यमा करिब ७ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । पछिल्लो २४ घन्टामा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२ डलर नाघेको छ । यदि युद्ध लम्बिए यो मूल्य १०० डलर नाघ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । प्राकृतिक ग्यासको मूल्य ३.९९ प्रतिशतले बढेर ४२.३५ डलर पुगेको छ भने सबैभन्दा उच्च वृद्धि हिटिङ आयलमा देखिएको छ । हिटिङ आयलको मूल्यमा ११ प्रतिशतको वृद्धि भई प्रतिग्यालेन ४२.५२ डलर पुगेको छ ।
ऊर्जा बजारको सबैभन्दा ठुलो चिन्ता विश्वको सबैभन्दा महत्वपूर्ण र रणनीतिक समुद्री मार्ग स्ट्रेट अफ हर्मुज हो । फारसको खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्ने साँघुरो समुद्री मार्ग बन्द भएमा विश्वको झन्डै २० प्रतिशत (दैनिक झन्डै २ करोड ब्यारेल) तेल आपूर्ति प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
साउदी अरेबिया, युएई र कुवेतजस्ता प्रमुख उत्पादक राष्ट्रहरूको तेल निकासीका लागि मुख्य मानिएको यो समुद्री मार्ग युद्धसुरु भएसँगै प्रभावित भएको छ ।
साँघुरो स्थानमा ३९ किलोमिटर मात्र चौडा यसको उत्तरमा इरान, दक्षिणमा ओमान र संयुक्त अरब इमिरेट्स पर्छन् । यो मार्ग ठप्प भएमा विश्वभर इन्धनको हाहाकार हुन सक्ने विज्ञहरूको दाबी छ । इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदिएपछि युरोपमा ऊर्जाको मूल्य अकासिएको छ ।
कच्चा तेल पछिल्लो २४ घन्टामा ११ प्रतिशतसम्म बढेको छ । युरोपको बेन्चमार्क ग्यासको मूल्य २४ प्रतिशतसम्म बढेको छ । लगानीकर्ताहरूमा त्रास फैलिएका कारण युरोपका प्रमुख स्टक एक्सचेन्जहरूमा झन्डै २ प्रतिशतको गिरावट देखिएको छ । हवाई सेवा र ट्राभल कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ ।
मध्यपूर्वको तनावले अमेरिकी डलर र स्विस फ्र्यांक बलियो भएका छन् भने युरोमा गिरावट आएको छ । वित्तीय संस्थाहरूको जोखिम बढेको छ । गोल्डम्यान स्याक्सका अनुसार तेलको मूल्यमा ‘रिस्क प्रिमियम’ जोडिन थालिसकेको छ ।
इरानको उत्पादन वा पूर्वाधारमा थप क्षति पुगेमा मूल्यमा ५ देखि १० डलरसम्म थप वृद्धि हुन सक्ने आकलन गरिएको छ । तेलको मूल्यवृद्धिले विश्वव्यापी मुद्रास्फीति बढाउने जोखिम पनि उत्तिकै छ ।
भारतजस्ता देश, जसले आफ्नो आवश्यकताको ठुलो हिस्सा आयात गर्छन्, प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् । इन्धन महँगिँदा ढुवानी खर्च बढ्ने र त्यसको असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने भएको छ ।
यसैबीच, (ओपेक प्लस) बैठकले आगामी अप्रिलदेखि दैनिक २ लाख ६ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने सहमति गरेको छ ।
मध्यपूर्वमा बढ्दो तनावका बीच आपूर्ति अवरोधको जोखिमलाई ध्यानमा राख्दै उत्पादन वृद्धिबारे निर्णय गरिएको जनाइएको छ । पछिल्लो २४ घन्टामा विश्व बजारमा सुन र चाँदीको भाउमा ठुलो उतारचढाव देखिएको छ । विशेष गरी मध्यपूर्वको युद्धका कारणका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा लाग्दा दुवै धातुको मूल्य अकासिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको भाउमा करिब ३ प्रतिशतसम्मको वृद्धि देखिएको छ । सुन प्रतिऔँस झन्डै ५ हजार ४०० डलर नाघेको छ भने चाँदी प्रतिऔँस करिब ९६ डलरसम्म पुगेको छ ।
विश्व बजारको वृद्धिसँगै नेपालमा पनि सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख २६ हजार र चाँदी ६ हजार नाघेको छ ।
०००
नेपालमा तत्काल असर नपर्ने निगमको दाबी
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागे पनि तत्काल प्रभाव नेपालमा नपर्ने नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढावबारे आधिकारिक जानकारी नलिई हल्लाका आधारमा निष्कर्षमा नपुग्न निगमले आग्रह गरेको छ ।
निगमसँग पर्याप्त मौज्दात रहेकाले पेट्रोलियम पदार्थको अभाव नहुने र होली तथा निर्वाचनको बिदामा पनि वितरण निरन्तर रहनेछ । केही पेट्रोल पम्पमा आइतबार र सोमबार लाइन देखिएको छ ।
खाना पकाउने ग्यासको अभाव भन्दै विगत १ महिनायता बजारमा ग्यास पाउन गाह्रो परिरहेको अवस्था छ । निर्वाचनका कारण माग बढ्दा दैनिक पेट्रोल र डिजेलको खपत उल्लेख्य रूपमा बढेकाले त्यसअनुसार आयात बढाइएको निगमले जनाएको छ । हाल निगमसँग करिब १५ दिनका लागि पुग्ने मौज्दात रहेको बताइएको छ ।
प्रतिक्रिया