बनेपामा ट्रिपरमा आगजनी गर्ने १३ जना पक्राउ, अदालतबाट ७ दिनको म्याद थप

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा बजारमा सवारी दुर्घटनापछि ट्रिपरमा आगजनी र प्रहरीमाथि ढुंगामुढा गर्ने घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार फागुन ६ गते बनेपा बजारको चाँदनी चोकमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा प्र ०१–००४ क ३४२३ नम्बरको ट्रिपर र सोही दिशातर्फ गइरहेको बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा ३० वर्षीय स्कुटर चालक ओमन प्रधान गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि शीर मेमोरियल अस्पताल, बनेपा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिले ढुंगामुढा गरी अनुसन्धान कार्यमा अवरोध पुर्याएका थिए । साथै, ट्रिपरमा आगजनी गरी क्षति पुर्याइएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुलाई फागुन ६ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद अनुमति काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकका विभिन्न स्थानीय तहका साथै सिन्धुपाल्चोक र बाराका बासिन्दा समेत रहेका छन् ।
प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

तल छ पक्राउ पर्नेहरुको नाम लिस्ट

प्रतिक्रिया