हामी आयातित ज्ञान, सीप तथा प्रविधिमा अभ्यस्त छौँ । त्यसमा शास्त्रीय कुरा कसरी जोड्ने ? रैथाने कुरा कसरी जोड्ने ? यो कुरामा शिक्षक कसरी सक्षम बन्ने ? विद्यार्थीलाई कसरी त्यसतर्फ लाने ? अर्थात् अहिलेको आयातित स्थितिलाई कसरी बदल्ने ? यसका लागि भोलिका शिक्षक चनाखो हुनुपर्छ

बदलिँदो हिजो
बुद्धले सबै चिजलाई अनित्य माने । अनित्य भन्ने चिन्तनको आधार नै परिवर्तन हो । त्यही परिवर्तनको आडमा बुद्धले शून्यताको बोध गराए । यजुर्वेदको शब्दमा खमब्रह्म भनेको त्यही हो । खम भनेको आकाश हो, ब्रह्म भनेको ब्रह्माण्डीय ऊर्जा । अनित्यको प्रक्रियाबाट शून्य बुझाउन बुद्धले ४ आर्य सत्यको चिन्तन दिए । दुःख छ, दुःख र सुख एकैसाथ आउँछन् । बुद्धको भनाइमा प्रत्युत्तसमपाद निरोधले दुःख हट्छ । अष्टांग मार्गबाट निर्वाण प्राप्त हुन्छ । यसरी हेर्दा बुद्धको शब्दमा अनित्य नै सत्य हो । अर्थात् परिवर्तन सत्य हो । त्यसो भए भोलिको शिक्षा हिजोको जस्तो बनाएर हुन्छ त ? उत्तर सहज छ— हुन्न । तिनै सहजताका कुराहरू तलको अनुच्छेदमा उल्लेख गरिएको छ ।
शिक्षक बदल्ने बाटो
स्थायी शिक्षकलाई बदल्ने भनेको तिनको पुरानो मानसिकता बदल्ने हो । यसका लागि उनीहरूले गरेका राम्रा अभ्यासको तेरिज नेपाली तथा अंग्रेजी भाषामा सार्वजनिक गर्नुपर्छ । गरेको काम पनि उजागर हुने, अरूले त्यसैबाट सिक्ने । यसबाट जिम्मेवार हुने बाटो बन्छ । आधुनिक प्रविधिको सहाराले यो काम गर्नुपर्छ । यति गर्नासाथ शिक्षकको मानसिकता बदलिन्छ । नगर्नेहरू टाढिन्छन् । गर्नेहरू कसीमा घोटिन्छन् । डिस्कर्डबाट तालिम दिने अर्काे तरिका हो ।
एकैपटक सबै शिक्षक जुटाउने, फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, भाइबर आदिबाट पनि शिक्षकको मानसिकता बदल्न सकिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) ले तालिमलाई पनि यान्त्रिक बनाइसकेको छ । अब शिक्षकले पाठयोजना बनाउनुपर्दैन । सन्दर्भ, विषयवस्तु र कक्षागत तह दिनासाथ पढाउने सामग्री पनि एआईले नै तयार पारिदिन्छ । यसको अर्थ हो— एआईलाई शिक्षणमा उपयोग गर्ने तरिका शिक्षकलाई सिकाए हुन्छ । स्थायी शिक्षकलाई बदल्ने सहज उपाय यही हो ।
स्थायी भएनौँ भन्ने शिक्षकहरूलाई बदल्न तिनलाई बुद्धको अनित्य पढाउनुपर्छ । स्वीकार— स्थायी के चिज पो छ र ? त्यतिले शिक्षक मान्दैनन् । उनीहरूले स्थायीले पेन्सन पाएको देखेका छन् । उनको सान देखेका छन् । त्यसो भए अस्थायीलाई स्थायी गर्ने विकल्पको टुंगो गर्नुपर्छ । तिनलाई स्थायी गर्न उमेरहद नतोक्नु एउटा उपाय हो । प्रत्येक महिना स्थायी हुन जाँच दिन पाउने प्रबन्ध हुनु दोस्रो उपाय हो । स्वतः स्थायी गर्ने तेस्रो उपाय हो । आन्तरिक रूपमा स्थायी गर्ने चौथो उपाय हो । प्रत्येक उपायका राम्रा पक्ष पनि छन् । कमजोरी पनि छन् । त्यसबारे संवाद गरी निधो गर्नुपर्छ । तब अस्थायी शिक्षकलाई बदल्न सकिन्छ ।
सबै शिक्षकले भौतिक सुविधा मागेका छन् । यो माग पूरा गर्ने सहज उपाय छ— उनकै तलबबाट काटिने गरी किस्ताबन्दीमा बहुबर्से ऋणमा भौतिक सुविधा दिए हुन्छ । लगानी पनि नपर्ने, काम पनि हुने । अमेरिका, युरोप तथा अस्ट्रेलिया देखेका नेपालीले यसको अनुभव गरेका छन् । बिदेसिएका नेपालीलाई ती देशले बाध्य पारेर राख्ने तरिका पनि बुझेका छन् । तर, नेपालमा त्यो तरिका अपनाउन ठुला राजनीतिक दल तथा शिक्षक महासंघका पदाधिकारीले नसुन्नु चाहिँ मैले उदेकका रूपमा बुझेको छु । तर, यो सम्भव छ । पालिकाले पनि गर्न सक्छ । प्रदेश क्रियाशील भए पनि सक्छ । शिक्षक महासंघका सबै घटक क्रियाशील भए पनि हुन्छ ।
केवल संरक्षण दिने र लिने सोच बदल्नुपर्छ, सुविधा दिन चाहने संस्था भेटिन्छन् । कमिसन नलिई काम गर्ने नेतृत्व पनि भेटिन्छन् । साक्षी बस्ने पालिका पनि पाइन्छन् । यति गर्नासाथ शिक्षकका सुविधामुखी मागहरू एकसाथ पूरा हुन्छन्— स्थायीका पनि, अस्थायीका पनि, करारका पनि । अर्थात् थरिथरिका शिक्षकका लागि बेग्लाबेग्लै मोर्टगेज रकम तोके हुन्छ । स्थायीलाई लामो अवधिको र थोरै रकमको किस्ताबन्दी । अस्थायी तथा करारलाई अलि छोटो अवधिको, अलि धेरै रकमको किस्ताबन्दी । यति गर्नासाथ शिक्षकले पेसामा तुलना गर्दैनन् । बेलायती अभ्यासले यही भन्छ । निर्णय गर्ने नेतृत्व मात्र चाहिएको हो ।
शिक्षण बदल्ने बाटो
विद्यार्थी तीव्र गतिमा बदलिए– पुस्तान्तरले गर्दा, प्रविधिले गर्दा । त्यसअनुसार शिक्षक बदलिएका छैनन् । बदलिएका विद्यार्थीले पुर्खा चिनेनन् । शास्त्रीय कुरा बुझेनन् । रैथाने ज्ञान, सीप, प्रविधि जानेनन् । त्यसमा स्टिम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट, म्याथम्याटिक्स) खोजेनन् । न पुर्खाको श्रवण, मनन, तथा निदिध्यासनको अभ्यास गरे । न पाउलो फ्रेरेको प्राक्सिसको अभ्यास गरे, न महाभारतको आचार्यात पदमादत्ते… को सूत्रलाई शिक्षण सिकाइको अंग बनाए । न पुर्खाको ६४ कला (गरिखाने सीप) सिके । न रैथाने सीपको उद्यमीकरण गरे । अर्काे शब्दमा भन्दा कमाउने कला पनि जोडेनन् । पढ्ने कला पनि जोडेनन् । यसका लागि एआई सहायक हुन्छ । समस्यामा आधारित सिकाइ उपयोगी हुन्छ । खोजविधि सहयोगी हुन्छ । त्यही खोजमा प्रक्रिया जोडिदिए अनुसन्धान हुन्छ । कारण र असर भनिदिए वैज्ञानिक हुन्छ । यो काम शिक्षकले गर्नुपर्छ । विद्यार्थीलाई गराउनुपर्छ ।
हामी आयातित ज्ञान, सीप तथा प्रविधिमा अभ्यस्त छौँ । त्यसमा शास्त्रीय कुरा कसरी जोड्ने ? रैथाने कुरा कसरी जोड्ने ? यो कुरामा शिक्षक कसरी सक्षम बन्ने ? विद्यार्थीलाई कसरी त्यसतर्फ लाने ? अर्थात् अहिलेको आयातित स्थितिलाई कसरी बदल्ने ? यसका लागि भोलिका शिक्षक चनाखो हुनुपर्छ । उनीहरूको चनाखोपना हो— पढाउन छाड्ने, पढ्ने कला सिकाउने । कमाउने कला सिकाउने । बचत गर्ने तरिका सिकाउने । बेच्ने कला सिकाउने । हरकुरामा सम्भावना खोज्न लगाउने । विद्यार्थीले यो कुरा खोजेको छ । भोलिको शिक्षकले यो काम गर्नुपर्छ । यति गर्नासाथ शिक्षण बदलिन्छ । विद्यार्थीको सिकाइ कला बदलिन्छ । शिक्षक स्वयंले पाठ्यक्रम तथा पाठ्यपुस्तक अद्यावधिक गर्ने कला जान्दछन् । विद्यार्थी नै पाठ्यक्रम तथा पाठ्यपुस्तक हो भन्ने कुरा कार्यान्वयन हुन्छ ।
अहम् घटाउने बाटो
अहिले तुजुक देखाउनेहरूको राज छ । धनको तुजुक, पदको तुजुक, दलको तुजुक, बलको तुजुक । हाम्रा, शिक्षक, विद्यार्थी तथा अभिभावकको संवेगी तथा उद्दण्ड व्यवहारले त्यसको जानकारी दिएका छन् । यसलाई कसरी विवेकी बनाउने ? उत्तर सहज छ— योग सिकाएर । ध्यान गराएर । आसन सिकाएर । प्राणायाम गराएर । उनीहरूकै इच्छामा आधारित विषयवस्तुमा पारंगत बनाएर । अन्य कुनै उपाय गरेर । यी कुरा गर्नाले भोलिका विद्यार्थीमा सीप हुन्छ । कमाउने जाँगर हुन्छ । यसर्थ २१औँ शताब्दीले खोजेको सम्पन्नता आर्जित हुन्छ । रूपान्तरित क्षमता सुनिश्चित हुन्छ । विद्यार्थी स्वतः क्रियाशील व्यक्ति बन्छ । शिक्षक क्रमशः सहजकर्ता बन्छ ।
आवश्यकताअनुसार कोच बन्छ । अन्तरविषयक विद्यार्थी उत्पादक बन्छ । जीवन्त संसार जान्ने विद्यार्थी बनाउने उपायमा लाग्छ । परिणामतः सिकाइ लचिलो बन्न जान्छ । परीक्षा सहज बन्न पुग्छ । जहाँ पनि, जहिले पनि, जोसुकैसँग पनि, जेसुकैसँग पनि सिकाइ हुने रहेछ भन्ने कुराले मूर्त रूप लिन्छ । यति हुनासाथ अहम् घट्छ, विवेक बढ्छ ।
डिजिटल युगमा जोडिने बाटो
भोलिको विद्यार्थी डिजिटल संसारको प्यादा हो । यान्त्रिक संसारमा जिउनुपर्ने । बाटोमा हिँड्दा गुगल म्याप चलाउन जान्ने । पैसा तिनुपर्दा क्युआर कोडमा तिर्न जान्ने । सामान किन्दा अनलाइन सपिङ जान्नुपर्ने । च्याटबटसँग पढ्न जान्नुपर्ने । डिस्कर्डमा संवाद गर्नुपर्ने । रोवर्टलाई काम लगाउनुपर्ने । ड्रोनलाई फोटो खिचाउनुपर्ने— यी सबै कुरामा कृत्रिम बुद्धिको प्रयोग छ, हुन्छ । यसको अर्थ हो— भोलिको विद्यार्थीले यो कुरा जान्नुपर्छ । शिक्षकले सिक्ने कलामा विद्यार्थीलाई जोड्नुपर्छ । पाठ्यक्रममा यो कुरा छ र छैन भन्ने संकथन गौण हो । शिक्षक तालिममा आएन भन्ने कुरा फाल्तु हो । तर, विद्यार्थीको जीवनमा माथिका ज्ञान, सीप तथा प्रविधि चाहिन्छन् । यसका लागि शिक्षक तयार हुनैपर्छ— आफैँ सिकेर, विद्यार्थीसँग सिकेर, विद्यार्थीलाई नै शिक्षक सहायक बनाएर, सहभागी बनाएर ।
पहिचान बदल्ने बाटो
हिजो आयातित कुरामा गर्व गर्न जानियो । अंग्रजी पढेकामा गर्व, पढाएकामा गर्व, विदेश गएकामा गर्व, पठाएकामा गर्व । तर, दिन बदलिँदै गए । किनकि विदेश असहिष्णु बन्न थाल्यो । प्राज्ञिक संसारले रैथाने कुरा खोज्न थाल्यो । रैथाने कृषिले भाउ पाउन थाल्यो । यसको अर्थ हो— आयातित ज्ञानमा औपनिवेशिकता पनि भेटियो । प्रकृतिको अत्यधिक दोहन पनि थाहा भयो । अर्कातिर हाम्रा पुर्खाले बनाएका रैथाने सामग्रीले पहिचान दिन थाल्यो । बजार लिन थाल्यो— खानाले, नानाले, छानाले, बानाले, बजारले । यो स्थितिमा हामीलाई रैथाने कुरामा डिजिटल प्रविधि जोड्ने बाध्यता आइलाग्यो ।
नजोडौँ खाडल भयो, जोडौँ ढंग सिकाउने शिक्षक चाहियो । यो यथार्थले चीनको अभ्यास खोज्यो— रैथाने कुरामा आयातित ज्ञान जोड्ने, सीप जोड्ने, प्रविधि जोड्ने । अर्काे शब्दमा भन्दा— पुर्खालाई नवीनताको जामा लगाइदिने । साँझको पाहुनालाई बास दिने हिजोको संस्कार हो । जे छ खान दिने हिजोकै अभ्यास हो । त्यसमा सुलभ तथा सस्ता होमस्टे बनाउने सीप चाहियो । स्वस्थकर फुटपाथका खानाघर बनाउने तर्किब जान्नुप¥यो । हरविद्यार्थीले यी सीप स्कुलमै जान्नुपर्ने हुन्छ । त्यसो गर्न, गराउन शिक्षक तयार हुनुपर्छ । विद्यार्थीलाई तयार पार्नुपर्छ ।
शैक्षिक सेवा दिने बाटो
मोड्युलर ट्युसन सेवा अहिलेको आवश्यकता हो । अनलाइन ट्युसन, प्राज्ञिक सहयोग, इभेन्ट प्लानिङ अहिलेको जरूरी हो । वासलात निकाल्नु दैनिक आवश्यकता हो । घरमा उपलब्ध उपकरणहरूको मर्मत गर्नु जान्नु जरूरी हो । यसका लागि अहिलेका विद्यार्थीहरू ग्रोक, च्याटजिपिटी वा डिपसिक जस्ता एआई टुलको भर पर्छन् । तिनले पनि समय लिन्छन् । यो बेलामा यी सीप सिकाउने यन्त्र बनाउने विद्यार्थी चाहिन्छ । चलाउने विद्यार्थी चाहिन्छ । त्यसैबाट कमाउने सोच चाहिन्छ । सेवा पनि दिने दृष्टिकोण चाहिन्छ । यसका लागि शिक्षक लमी बन्नुपर्छ । आफूले नजाने अरूलाई गुहार्ने, अतिथि शिक्षक खोज्ने, कक्षामा जोड्ने— अनलाइन भए पनि, अफलाइन भए पनि ।
कमाउने बाटो
खेतबारी खाली भए । युवा पलायन भए । यो भाष्य जहाँकहीँ छ— मधेस, पहाड हिमाल । यो स्थिति बदल्न शिक्षक क्रियाशील हुनुपर्छ । सके खाद्यान्न उत्पादन गर्न, नसके तेलहन, दलहन । नभए किसानको पेन्सन सुनिश्चित गर्न । अर्थात् दीर्घकालीन फलफूल खेती गर्न–गराउन । यसका लागि शिक्षकले म्याक्रो, मेसो तथा माइक्रो खेती गर्न सिकाउनुपर्छ । उत्पादित वस्तु प्रशोधन गर्न सिकाउनु अर्काे सीप हो । मकै प्रशोधन गरेर के–के बनाउने ? अंगुर प्रशोधन गरेर के–के बनाउने ? त्यसका लागि स्थानीय शिल्पीलाई त्यहीँ मेसिन बनाउन लगाउने । यो कुरामा विद्यार्थीलाई तयार पार्नुपर्छ—शिक्षकले, प्रविधि निर्माताले, सहकार्यले । यति गरे बाँझिएका खेतबारी खाद्य भण्डार बन्छन्, विद्यार्थी उत्पादक हुन्छन् । अनि खेतबाट उद्योग, उद्योगबाट बजार, बजारबाट भान्सामा लाने चक्रमा विद्यार्थी प्रवेश गर्छन् । भोलिको शिक्षाले यो कुरा खोजेको छ । त्यसतर्फ उन्मुख शिक्षक र विद्यार्थी खोजेको छ ।
के सबै खेतबारीमा जान्छन् त ? नगए पनि हुन्छ । कोही मेसिन बनाउनेमा गए भयो । कोही सेवा दिनेमा लागे भयो । कोही केमा, कोही केमा । यसको अर्थ हो— सहरका विद्यार्थी मोबाइल फोनको काम गर्लान् । गाउँकाले सौर्य ऊर्जा तथा हाइड्रोजन ऊर्जाको काम गर्लान् । सुविधासम्पन्न भएकाले चन्द्रमा तथा मंगल ग्रहमा जाँदा कार्बनडाइअक्साइडमा कसरी सास फेर्ने भन्ने प्रविधिको खोजी गर्लान् । कसैले ढलको पानी शुद्ध बनाउने सोच ल्याउलान् । कसैले गाउँघरमा भएको पानीलाई विशुद्ध बनाउने उपाय खोज्लान् । अनि कतिले स्कुलकलेजमा चाहिने शैक्षिक सामग्री बनाउलान् । कसैले एआईको खुराक देलान् । यसका लागि भोलिका पालिकाले लगानी गर्नुपर्छ । त्यसका लागि शिक्षक तथा विद्यार्थी क्रियाशील हुनुपर्छ । तथ्यांकले भन्छ— २६ खर्ब रुपैयाँ बैंकमा थुप्रिएको छ । पालिकाले ऋणमा त्यो रकम लिएर यस्ता अनुसन्धानमा खर्च गरे हुन्छ । त्यहीँ कमाउन सकिन्छ, रमाउन सकिन्छ, जमाउन पनि सकिन्छ । यो सोचका शिक्षक भोलिको शिक्षाले खोज्छ । त्यस्तैखाले विद्यार्थी खोज्छ ।
डिजिटल प्रविधिमा अभ्यस्त विद्यार्थीलाई कमाउने बनाउन अनेकन प्लेटफर्म तयार पारे हुन्छ । कृषिको डिजिटल प्लेटफर्म— त्यसकै तालिम दिने, त्यहीँबाट आम्दानी गर्ने, पढाइ गर्ने । पर्यटनको डिजिटल प्लेटफर्म, नवीकरणीय ऊर्जाको डिजिटल प्लेटफर्म, परम्परागत सीप, ज्ञान, प्रविधि आदिका डिजिटल प्लेटफर्म । यसका लागि भोलिका शिक्षक तथा विद्यार्थीलाई तयार पार्नुपर्छ ।
एकीकृत बन्ने–बनाउने बाटो
भोलिको शिक्षा एकीकृत हुुन्छ— स्टिम खालको, अन्तरविषयक, परियोजनामा आधारित, समस्यामा आधारित, स्वेच्छामा आधारित, स–साना उद्यममा आधारित । तिनै आधारितवालाको जगमा उद्यमी क्लब बन्छन्— स्कुलपिच्छेका, अन्तरस्कुलका । ती विद्यार्थी तथा शिक्षकले सहकारी चलाउँछन् । इजरायलको किबुज्जमा भएका जस्ता— कृषि छ, कृषि पैदावार प्रोसेसिङ गर्ने उद्यम छ । उत्पादित बस्तु बेच्ने बजार छ । यही सोचलाई सान्दर्भिक गर्ने गरी भोलिका स्कुल, कलेज तथा विश्वविद्यालयमा उत्पादन, प्रोसेसिङ र बजार हुन्छन् । स्कुलपिच्छे भए पनि, अन्तरस्कुल भए पनि । पालिकाका निश्चित ठाउँमा भए पनि । ती कार्यमा स्कुले विभिन्न संस्थासँग सहयोग लिन्छ— स्वदेशका, बिदेसिएका नेपालीका, विदेशीका । बजारको नियमन गर्न भर्चुअल मनिटोरिङ तथा मेन्टोरिङको प्रबन्ध गर्छ । यसका लागि सडक चाहिन्छ— डिजिटल सडक, देखिने सडक र अन्य यातायात तथा सञ्चार सुविधा ।
अहिले वर्क फ्रम होम भनेझैँ पढाइ पनि त्यही स्वरूपको हुन्छ । डिजिटल तथा ननडिजिटल सामग्री लिन पाउने केन्द्रहरू बन्छन् । यसो हुँदा कसैले पनि मसँग साधन छैन भन्ने परिवेश रहन्न । हुनेले आप्mनैं सामग्री प्रयोग गर्छन् । नहुनेले केन्द्रबाट सापटी लिन्छन्— अहिलेका स्थिर पुस्तकालय जस्ता । यसरी हेर्दा भोलिका विद्यालयहरू केन्याका एम—पेसा जस्ता बन्छन् । अर्थात् पैसा लिन पनि पाउने, जम्मा गर्न पनि पाउने, पठाउन पनि पाउने । अहिलेका डिजिटल खल्ती जस्ता— क्युआर कोडका काम गर्ने ।
भारतका जस्ता इकमर्समार्फत् रैथाने सामग्री बेच्ने । जर्मनीका जस्ता सहकार्यमा उद्यम चलाउने । ब्राजिलका जस्ता वातावरणमैत्री उद्यम हुने । यसरी हेर्दा भोलिका स्कुलहरू पढ्ने, कमाउने । कमाइमै पढ्ने, पढाइमै कमाउने स्वरूपका बन्छन् । यसका लागि शिक्षक तयार छौँ त ? अभिभावक तयार छौँ त ? संस्कृति तयार छ त ? राजनीति तयार छ त ? विद्यार्थी तयार छन् त ? व्यवस्थापन तयार छ त ? यसबारेमा हामीले परिवेश बनाउनुपर्छ । अन्यथा पछि पर्नु नै हाम्रो नियति हुन्छ ।
बचत गर्ने बाटो
हामी तरंग (ऊर्जा/चेतन), मन र पदार्थका समष्टि हौँ । पदार्थ उन्मुख हुँदा धन खोज्छौँ । मन उन्मुख हुँदा मान, माया, तथा सम्मान खोज्छौँ । तरंग (ऊर्जा÷चेतन) हुँदा आनन्द खोज्छौँ । खोजको यो दौडमा भोलिका विद्यार्र्थीलाई तिनै कुरा दिनुपर्छ । धनका लागि प्रत्येक विद्यार्थीको कम्तीमा दिनको ४ रुपैयाँ बचत गर्नैपर्ने संस्कार बनाउनुपर्छ । बैंकले सामाजिक जिम्मेवारी अन्तर्गत १ रुपैयाँ, पालिकाले नागरिक सेवाअन्तर्गत १, अभिभावकले सन्तति जन्माएकाले १ दिने अनि विद्यार्थीले १ रुपैयाँ कमाएर जम्मा गर्ने । इलामको रोङ गाउँपालिकाले यो अभ्यास गरेको छ । यसलाई देशव्यापी बनाउन शिक्षक र पालिका क्रियाशील भए बैंक र अभिभावक सहयोगी हुन्छन् । अभिभावकविहीनलाई कसैले जिम्मा लिए हुन्छ । यसो गर्नाले पुर्खाको शब्दमा सरस्वती र लक्ष्मी एकसाथ मिल्छन् । काली स्वतः आउँछिन् ।
माथिका चिन्तनलाई मूर्त रूप दिन चाहने शिक्षक भोलिको शिक्षक हुन्छ । अभिभावक भोलिको दौडमा लाग्न सक्छ । विद्यार्थी दिन, काल तथा अवस्थासँग अभ्यस्त बन्न सक्छ । प्रश्न हो— विवादमा अल्झिने कि संवादमा जाने । संवादमै रमाउने कि कार्यान्वयनमा जाने । आज सोचे भविष्य हाम्रो हो । हिजो मात्र सोचे विद्यार्थी उम्किने भो । गर्ने हामीले नै हो ।
प्रतिक्रिया