
झन्डै ४०–५० वर्षअघिको कालिकोट । न सडक थियो, न गाडी । नुन, तेल, कपडा र घरायसी सामान ल्याउन कालिकोटका बुढापाकाहरू पैदलयात्रा गरेरै नेपालगन्ज र राजापुर (बर्दिया) सम्म पुग्थे । आउजाउ गर्न सरदर २०÷२१ दिन लाग्ने त्यो यात्रालाई उनीहरू ‘हाट जानु’ भन्थे । तिलागुफा नगरपालिका–७ छाप्रेका देउडा खेलाडी पुन्नबहादुर शाही अहिले ६७ वर्ष पुगे । उनको स्मृतिमा त्यो समय अझै ताजै छ । ‘हाट जानु भनेको अहिलेजस्तो सजिलो थिएन, ढाडमा डोको, हातमा लौरो । जुत्ता–चप्पल पनि नहुने, अक्सर नांगै खुट्टा हिँडिन्थ्यो । जंगल, खोलानाला, भिरपाखा गर्दै २०÷२१ दिन लगाएर नेपालगन्ज पुगिन्थ्यो र फर्किइन्थ्यो,’ उनी भन्छन् ।
त्यतिबेला हाट जानु केवल सामान ल्याउने कुरा मात्र थिएन, त्यो एउटा संस्कारजस्तै थियो । गाउँबाट पहिलो पटक हाट जानेलाई साथीभाइले रमाइलो गर्ने गरेको कुरा सम्झिँदा उनी हाँस्दै भन्छन्– ‘पहिलो पटक हाट जाने मान्छेलाई त झन् ‘दीक्षा’ नै दिन्थे । चिसो खोलामा नुहाइदिने, कपडा खोसिदिने, कहिलेकाहीँ त नांगै बनाइदिने पनि गर्थे । कोही रिसाउँदैनथ्यो, बरु हाँसो–ठट्टा हुन्थ्यो ।’ राजापुर र नेपालगन्ज पुगेर नुन, तेल, मट्टितेल, लुगा, भाँडाकुँडा किनेर फर्किँदा झन् ठुलो परीक्षा सुरु हुन्थ्यो । भारी बोकेर उकालो चढ्नु, राति जंगलमै बास बस्नु सामान्य थियो । पुन्नबहादुर भन्छन्– ‘नुनको डोको बोकेर फर्किँदा ढाडमा घाउ हुन्थ्यो । तर, घरमा नुन पुगेपछि आमाबुबा र बालबच्चाको खुसी देख्दा सबै दुःख बिर्सिइन्थ्यो ।’ उनका अनुसार, त्यो बेला दुःख धेरै थियो, तर आपसी माया, साथ र खुसी पनि उत्तिकै थियो । बाटोमा देउडा गाइन्थ्यो, कथा सुनाइन्थ्यो, थकान बिर्साइन्थ्यो ।
आज कालिकोटका गल्लीगल्लीमा सडक पुगेको छ । गाडी गुड्छन् । मोबाइलमा एक क्लिकमै सामान अर्डर हुन्छ । तर, ४–५ दशकअघिको कालिकोट फरक थियो । त्यो कालिकोट, जहाँ नुन एउटा सपना थियो, तेल सुगन्धजस्तै दुर्लभ र नेपालगन्ज पुग्नु भनेको ७ समुद्र पार गर्नुजस्तै । पुन्नबहादुरका शब्दमा अझै पनि उही जोश, उही ठट्टा र उही देउडाको ताल बाँचेको छ । ‘हाट जानु भनेको घर छाड्नुजस्तै थियो । हाट जानु भनेको आजको जस्तो बजार जानु होइन बाबु,’ उनी भन्छन्, ‘घरपरिवारसँग बिदा माग्नु, अनि ज्यान बचाएर फर्किन्छु कि फर्किन्न भन्ने भरोसा नहुनु नै थियो ।’ त्यतिबेला कालिकोटका युवा नुन, तेल, मट्टितेल, कपडा र भाँडाकुँडा ल्याउन नेपालगन्ज र राजापुर (बर्दिया) जान्थे, पैदलै भिर र विकट जंगल, पहाडको यात्रा । न घडी, न नक्सा । केवल अनुभव र विश्वास मात्र हुन्थ्यो ।

उतिबेला उनले आफ्नो परिवारका सदस्यसँग कुरा गरेका केही शब्दहरू अहिले पनि उनको मानसपटलमा ताजै छन् ।
‘हाट जाँदै छौँ है साइनो, नुन ल्याउँला डोकोभरि ।
फर्की आउँला बाँचीकन कालले नमरी ।
आफन्त छाडेर जानु पीडा छन् मनभरि ।
फर्किने आस मरेको नाई आशीर्वाद देऊ आमा ।
जंगल उस्तै बाटो उस्तै दिन छोटा रात लामा ।’
पुन्नबहादुर उतिबेला नयाँ हटारूलाई गिज्याउने गरको प्रसंग सम्झँदै हाँस्छन् । भन्छन्–
‘नयाँ हाटे आयो रे,
लाजै लाजले भाग्यो रे,
चिसो पानी खायो रे,
अब त बाठो भयो रे ।’
‘जंगल, भिर, खोलानाला र रातबिरातको यात्रा सजिलो थिएन । रात परेपछि जहाँ पुग्यो, त्यहीँ बास । कहिले चट्टानमुनि, कहिले रूखको छहारीमा । बाघको डर त सधैँ हुन्थ्यो । तर, डरभन्दा ठुलो कुरा थियो— घरका बालबच्चालाई नुन,’ उनी सम्झिन्छन् । २०–२१ दिन लगाएर नेपालगन्ज पुग्दा कालिकोटेहरूलाई संसारै फरक लाग्थ्यो । बत्ती बलेको देख्दा अचम्म लाग्थ्यो । मान्छेहरू जुत्ता लगाएर हिँड्थे, पसलमा नुनको रास नैै हुन्थ्यो । तर, नुन किन्न सजिलो थिएन– पैसा कम, हिसाब कडा । नुनसँगै तेल, कपडा, साबुन, सुई धागो सबै ढाडमै बोकेर फर्किनुपर्ने बाध्यता । ‘फर्किने यात्रा झन् गाह्रो ।

उकालो झन् कठिन, ढाडमा नुनको भारी डोकोले घाउ नै बनाइदिन्थ्यो । तर, घर नजिकिँदै गर्दा मन हलुका हुँदै जान्थ्यो । गाउँ देखिने डाँडाबाट घरतिर हेरेर बैरागका गीतहरू गाउने गथ्र्यौं,’ उनी भन्छन्, ‘घर पुग्दा आमा रोई खुसी भइन् । बालबच्चा हाँसे वरिपरि आएर, श्रीमती सासू–ससुराको लाजले श्रीमान्लाई भेट्नेबित्तिकै ढोगभेट पनि गर्दिनथिन् । घरको खुसी, दुःखको मूल्य घर पुगेपछि नुन देखेर परिवार खुसी हुन्थे ।’
‘२०–२१ दिनको यात्राबाट फर्केर आएपछि गाईको घिउले शरीर मालिस गरेर २–३ दिन घाममा आराम गरिन्थ्यो । त्यो बेलाको खुसी आजको दिनमा पैसाले किन्न सकिँदैन,’ उनी भन्छन्, ‘हाट जानु दुःख थियो । तर, त्यो दुःखमा माया थियो, साथ थियो । देउडा ठाडिभाका थियो यात्राको साथी । देउडाबिनाको यात्रा अधुरो हुन्थ्यो । देउडा गाएरै डर भगाइन्थ्यो । थकान बिर्सिइन्थ्यो । देउडामा जीवन बोल्थ्यो— न सडक थियो न गाडी, नुनकै लागि ज्यान हाजिरी ।’
पुन्नबहादुरको भोगाइ आजको पुस्ताका केटाकेटीलाई रमाइलो कथा नै बनेको छ । आजको पुस्ता र हिजोको कथा अनि व्यथा फरक थियो । आज सडक आयो । गाडी आयो । सबै सजिलो भयो । तर, पुन्नबहादुरको आँखाको कुनै कुनामा नुनको डोको अझै बाँकी छ । आजका नानीहरूले हाट जानु भनेको मोबाइलमा हेर्छन् हाट भेटाउँदैनन् हाट त अहिले प्रत्येकका घर टोलमै छ, पसल बनेर । कालिकोटका बुढापाकाको हाट यात्रा केवल घरको गर्जो टार्न सामान ल्याउने कथा होइन । यो संघर्ष, संस्कार र सामूहिक जीवनको यात्रा थियो । आज त्यो समय कथामा सीमित हुँदै छ । नुनको स्वाद अझै बाँचेको छ, तर हाट जाने दिन गए ।

पुन्नबहादुर आज पनि ती दिन सम्झिँदा अलि गम्भीर हुन्छन् । भन्छन्, ‘त्यो समय हाट जानु भनेको साधारण यात्रा थिएन, साहसको परीक्षा थियो । गाउँबाट हाटतिर लाग्दा मनमा अनेक डर खेल्थे । बाटोमा चोर र लुटेराहरू हुन्छन् भन्ने कुरा सबैलाई थाहा थियो । त्यसैले ४–५ जना साथी जुटेपछि मात्र हिँडिन्थ्यो । एक्लै जाने त कल्पनै गर्न सकिँदैनथ्यो । साँझतिर उकालो–ओरालो, घना जंगल र सुनसान बाटा झन् डरलाग्दा हुन्थे । कतै झाडी हल्लिएको देख्दा मुटु काँप्थ्यो, कतै नाम लिएर बोलाएजस्तो लाग्थ्यो । गाउँलेहरू भूत–प्रेतको कुरा गर्थे, अनि मनले पनि त्यही मान्थ्यो ।’ त्यस्तो बेलामा सबैले आ–आफ्ना मान्ने देउता सम्झिन्थे । कसैले भाकल गथ्र्यो, कसैले देउताको नाम जप्थ्यो । देउता भाके बाटो काटिन्छ भन्ने विश्वास नै सबैभन्दा ठुलो सहारा थियो ।
हाट पुग्दा थकानले ज्यान गलिसकेको हुन्थ्यो । तर, मनमा एउटा सन्तोष हुन्थ्यो— डर पार गरियो, बाटो जितियो । नुन, तेल र सानो–साना सामग्री बोकेर फर्किदा फेरि उही डर, उही बाटो, तर देउतामाथिको उही भरोसा । आजका सजिला बाटा र सवारीसाधन देख्दा पुन्नबहादुरलाई लाग्छ— हाट त उस्तै थियो, तर त्यो समयको यात्रा सम्झना भएर मात्र बाँचेको छ ।

कालिकाेट
प्रतिक्रिया