‘आ बाट आमा’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ को कथा अधिकांश नेपालीको जीवनसँग जोडिएको अभिनेता पल शाहले बताएका छन् । चलचित्र प्रदर्शन भएको पहिलो दिन दर्शक प्रतिक्रिया लिन काठमाडौँका विभिन्न चलचित्र भवन पुगेका अभिनेता शाहले आफूले चाहना राखेको भूमिका चलचित्रमा निर्वाह गर्न पाएको बताए । उनले भने, ‘मैले आफ्नो भूमिकाका विषयमा धेरै खुलाउन मिल्दैन किनकि त्यसले कथा बाहिरिने डर हुन्छ । तर, चलचित्रमा मैले चाहेको जस्तो भूमिका निर्वाह गर्ने मौका पाएको छु, त्यसैले मैले सक्दो मिहिनेत गरेको छु । यो चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजकै हो । चलचित्र हेर्न गएका दर्शकले नै अन्यलाई हेर्न सिफारिस गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

उक्त चलचित्रमा अभिनेता शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । अभिनेत्री थापाले विषयवस्तुले आकर्षण गरेका कारण आफू जोडिएको बताइन् ।

‘यस चलचित्रको आकर्षण नै कथा हो । यसमा सबैले उत्तिकै मिहिनेतका साथ काम गरेका छन् । चलचित्र हेर्न आएका दर्शकले पनि आफ्नै कथा भनेर हामीलाई प्रतिक्रिया दिनुभएको छ,’ उनले भनिन् । चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यु निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले संगीत सिर्जना गरेका छन् ।

प्रतिक्रिया