सुन्तला बिक्रीबाट बागलुङमा भित्रियो २७ करोड

बागलुङ । यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा कीराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सुन्तला खेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुनमगरले जानकारी दिए । बसाइँसराइले रित्तिँदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।

पहिले कोदो, मकै र गहुँलगायतका खाद्यान्न बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मिहिनेतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित भएको उनको भनाइ छ । यस वर्ष ४ हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको पुनमगरले जानकारी दिए । किसानले न्यूनतम प्रतिकिलो ६५ रुपैयाँले बिक्री गरेको उनको भनाइ छ ।

उनले भने, ‘पछिल्लो समय सुन्तला खेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तला खेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मिहिनेतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।’

२०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।

काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाख रुपैयाँको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा ८ लाखमा बगान नै व्यापारीलाई दिएको बताए । सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ । अघिल्लो वर्ष औसा किराले झण्डै १ लाखको सुन्तला नष्ट गरिदिएको किसान कँडेलले बताए । सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको जानकारी दिए । फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

प्रतिक्रिया