
म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कभर्डहल निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान सुरु भएको छ । जिल्ला भलिबल संघले २ रोपनी ८ आना जग्गा खरिदका लागि सुुरु गरेको अभियानको पहिलो दिन ३ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएको छ । संघका अध्यक्ष तेजेन्द्र बानियाँले समुदायस्तरबाट सहयोग जुटाएर जग्गा व्यवस्थापन गरेपछि सरकारी लगानीमा कभर्डहल निर्माण गरिने जानकारी दिए ।
बेनीको महारानीथान नजिकै खरिद गर्न लागिएको जग्गालाई १ करोड ४२ लाख ५० हजार मूल्यांकन गरी ३ लाख रुपैयाँ पेस्की उपलब्ध गराएका छौँ,’ उनले भने, ‘सार्वजनिक संघसंस्थाको आफ्नै जग्गा नहुँदासम्म सरकारी निकायले पूर्वाधार निर्माणमा लगानी गर्न नमिल्ने नीतिगत व्यवस्थाका कारण अभियान सञ्चालन गरेका हौँ ।’
१ हजार दर्शक अट्ने क्षमताको भलिबल कोर्ट, अफिसियल बैठककक्ष, जिमहल, कपडा फेर्ने कोठा, चमेनागृह, प्यारापिट, एलसिडी बोर्ड, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, शयनकक्ष, भण्डारण, जेनेरेटर र कार्यकक्ष रहने ३ करोड रुपैयाँ लागत अनुमान गरिएको कभर्डहल ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबाट लगानी जुटाएर कभर्डहल निर्माण गरिने संघले जनाएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका थुप्रै भलिबल खेलाडी जन्माएको म्याग्दीमा हाल कभर्डहल नहुँदा ठुलो वर्षात्, चर्को घाम र चिसो मौसममा खेल प्रतियोगिता र अभ्यास सञ्चालन गर्न समस्या भएको संघका महासचिव कुमार किसानले बताए । कभर्डहल निर्माणपछि संघअन्तर्गतको अक्षयकोष कार्यसमितिमार्फत भलिबल प्रशिक्षण केन्द्रका रूपमा सञ्चालन गरिने योजना छ । २०८० सालमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको सहयोगमा स्थापना भएको ४७ लाख रुपैयाँको अक्षयकोष रकम वृद्धि गरी ब्याजबाट कभर्डहल तथा खेल प्रशिक्षण सञ्चालन गरिने संघले जनाएको छ । संघको कभर्डहल निर्माण गर्ने योजनालाई साझा मानेर सघाउने जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।
खेलाडी उत्पादनका लागि प्रशिक्षण र उमेर समूहको आधारमा प्रतियोगिता आयोजना गरी म्याग्दीलाई भलिबलको हब बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी व्यावसायिक खेलाडी उत्पादनमा जोड दिने, खेल संस्थाको विकास, विस्तार गर्न र अनुशासित, स्वस्थ्य नागरिक उत्पादनमा मद्दत पु¥याउने कभर्डहल निर्माणको प्रमुख उद्देश्य रहेको छ । संघका अध्यक्ष बानियाँले १ लाख, व्यवसायी नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले ५०–५० हजार र चिरञ्जीवी शर्माले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रतिक्रिया