पाल्पाको पूर्वखोलामा कृषि तथा पशु विकास परियोजनाअन्तर्गत बाझोपन शिविर सञ्चालन

काठमाडौं । पाल्पा जिल्लाको पूर्वखोलामा कृषि तथा पशु विकास परियोजना अन्तर्गत बाझोपन शिविर तथा पशुप्राविधिक क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजीकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजनाअन्तर्गत स्थानीय तहमा कार्यरत पशुप्राविधिकहरूको क्षमता विकास तथा गाई–भैंसीमा देखिने प्रजनन विकृति र बाझोपन न्यूनिकरणका लागि विशेष शिविर अभियान सञ्चालन गरिएको छ ।

पूर्वखोला गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रलाई दिगो बनाउने उद्देश्यले परियोजना अघि बढाइएको परियोजना संयोजक राजकुमार आलेले जानकारी दिए । उनका अनुसार कृषकको लगानी, समस्या र वास्तविक आवश्यकतालाई बुझेर कार्यक्रम सञ्चालन गरिएको छ हो । परियोजनाले हाल गाई र भैंसीमा देखिने बाझोपनको समस्या न्यूनिकरणमा विशेष ध्यान दिएको संयोजक आलेले बताए ।

शिविरमा सहभागी कृषक मथुरा खनालले आफू विगत सात वर्षदेखि भैंसी पालनमा संलग्न रहेको उल्लेख गर्दै दूधको मूल्य गाउँमै कम भएको र राम्रो मूल्यका लागि व्यवस्थापन गर्नुपर्ने साथै भैंसी पालनबाट आफ्नो परिवारको जिविकोपार्जन चलेको बताइन् । यस्ता शिविरले समस्याको समाधानतर्फ आशा जगाएको खनालको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय पशु प्रजनन कार्यालयमा कार्यरत पशु विकास अधिकृत बाकेका डा. मिलन कुमार चौधरीले किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुका साथै किसानले भोग्दै आएका प्रजननसम्बन्धी समस्याको समाधानमा कार्यालय सक्रिय रहेको जानकारी दिनुए ।

त्यसैगरी, रेडा पाल्पाका प्राविधिक संयोजक विष्णु रेग्मीले पशुमा गरिने कृत्रिम गर्भाधानका क्रममा देखिने समस्याहरूको पहिचान र समाधानका लागि सहजीकरण गरिएको बताए ।

परियोजनाअन्तर्गत आयोजित बाझोपन शिविरमा सहभागी पशुप्राविधिक हुम बहादुर झेणीले शिविरबाट नयाँ ज्ञान र सीप सिक्ने अवसर पाएको र किसानको समस्या अनुसार काम गर्न सहज भएकोमा खुशी व्यक्त गरे ।

हेफर नेपाल, बुटवलमा कार्यरत अंशु प्रधानले पशुमा देखिने बाझोपनले किसानलाई ठूलो आर्थिक क्षति पुर्याउने भएकाले आहारा व्यवस्थापन, गोठ सुधार र नियमित प्राविधिक सहजीकरण अत्यावश्यक रहेको बताए । त्यसका लागि गोठ–गोठमा पुगेर सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका– ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले किसानको क्षेत्रमा गरिएको यो प्रयास अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कृषि तथा पशु प्राविधिकहरूको क्षमता अभिवृद्धि कार्यक्रमले किसानको समस्या समाधानमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पूर्वखोला कृषि तथा पशु विकास परियोजनाअन्तर्गत सञ्चालन गरिएको यो बाझोपन शिविर तथा क्षमता विकास कार्यक्रमले स्थानीय कृषक र पशु प्राविधिक दुवैका लागि उपयोगी तथा प्रभावकारी भएको सहभागीहरुको बुझाई छ ।

प्रतिक्रिया