
कालिकोट । मोटरसाइकल राइडर बिनिता कार्कीले कालिकोटमा रहेको न्यानो काख सेवा समाजलाई खाद्यान्न तथा फलफुल बितरण गरेकी छन् । म्याग्दीको बेनी नगरपालिकाकी समाजसेवी तथा राइडर बिनिता कार्कीले न्यानो काख सेवा समाज कालिकोटलाई खाद्यान्न तथा फलफुल सहयोग गरेकी हुन् । कर्णालीका जिल्लाहरुमा रहेका पर्यटकीय स्थलको भ्रमणमा रहेकी राइडर कार्कीले विभिन्न ठाउमा सहयोग गर्दै आएकी छन् ।
घुमघामका क्रममा कालिकोट पुगेकी कार्कीले असहाय तथा विपन्न बालवालिकाको संरक्षण गर्दै आएको न्यानो काख सेवा समाजलाई करिब २७ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा फलफुल वितरण गरिन् ।

समाजसेवी कार्कीले दुर्गम जिल्लामा रहेका असहाय बालबालिकाको अवस्था बुझ्दै सानो सहयोगले पनि ठूलो राहत पुग्ने विश्वासका साथ सहयोग गरेको बताइन् । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।
न्यानो काख सेवा समाज कालिकोटले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले संस्थालाई थप ऊर्जा र हौसला मिलेको जनाएको छ ।

राइडर बिनिता कार्कीले भनिन्, ‘समाज सेवा फोटो खिच्न होइन, पीडामा परेकालाई महसुस गराउन हो भन्दै सहयोग शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने विश्वास राख्छु । जहाँ राज्य कमजोर छ, त्यहाँ नागरिकको दायित्व बलियो हुनुपर्छ भन्नेमा जोड दिईन् । घुम्न मात्रै होइन, कर्णालीलाई केही दिएर फर्कन पाउँदा गर्व छ ।’
कर्णालीलाई दया होइन, अधिकारसहितको सहयोग चाहिएको उनको भनाइ छ । २४ बर्षिया बिनिता कार्की रक्तदान सहित अन्य समाजिक कार्यमामा अग्रसर देखिएकी छन् ।

कालिकाेट
प्रतिक्रिया