
मुगु । मुगुमा नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित मुगु जिल्ला आँखा उपचार केन्द्रको नयाँ तथा सुविधा सम्पन भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित आधुनिक दुई तले संरचना रहेको भवन आज एक विशेष समारोहबीच उद्घटन गरिएको छ ।
करिब १ करोड ८ लाख ९८ हजार ७ सय २१ रुपैयाँ लागतमा बनेको भवन सञ्चालनमा आएपछि जिल्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा पाउने भएका छन् ।
भवन निर्माणका लागि आई केयर फाउन्डेसनले ८८ लाख ९८ हजार ७ सय २१ रुपैयाँ र छायानाथ रारा नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेका थिए । निर्माण कार्य आशीर्वाद निर्माण सेवाले सम्पन्न गरेको हो ।
जिल्ला आखा उपचार केन्द्रले २०६५ सालमा एउटा साधारण छाप्रोबाट सेवा सुरु गरेको थियो । १७ वर्षपछि आधुनिक भवनका साथमा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको छ ।
उपचार केन्द्रका अनुसार अब मोतीविन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखा उपचार, आँखा संक्रमण उपचार लगायतका सेवा अझ व्यवस्थित ढंगले सञ्चालन गरिनेछ ।

जिल्ला आखा उपचार केन्द्रमा हरेक बर्षको दुई पटक नेपाल नेत्र ज्योति संघ लगाय अन्य सहयोगि सस्थाहरुको समन्वयमा निशुल्क आखा शिबिर गर्ने गरेका र मोतियाविन्दु लगायतको शल्यक्रिया सेवा पनि दिने गरेको जिल्ला आखा उपचार केन्द्रका प्रमुख ध्रुव बुढथापाले बताए ।
उनले १०–१२ पटक शिविर सञ्चालन गरि हजारौँ वृद्धवृदालाई आँखासम्बन्धी सेवा दिइएको बताए । नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले भने, ‘२०६५ सालमा एउटा सामान्य छाप्रोबाट सुरु भएको सेवा आज आधुनिक संरचनामा रूपान्तरण हुनु मुगुवासीको भरोसा र हाम्रो प्रतिबद्धताको परिणाम हो, अब सेवा विस्तारको अर्को चरण सुरु भएको छ ।’
नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा उपलब्ध गराइने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रमुख मञ्जन बहादुर कार्कीले भने, ‘यस भवनसँगै मुगुवासीले गुणस्तरीय आँखा उपचार सुविधा पाउनेछन्, अब हामी सेवा गुणस्तर, विशेषज्ञता र पहुँचका क्षेत्रमा नयाँ स्तरमा प्रवेश गर्नेछ, अब नागरिकले बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता हट्ने देखिन्छ ।’
पूर्वमन्त्री कर्णाली प्रदेश सभा सदस्य जित बहादुर मल्लले भने, ‘कर्णालीका नागरिकले उपचारका आधारभूत सेवामा सहज पहुँच पाउनु राज्यको प्रमुख जिम्मेवारी हो, यस भवनले मुगुवासीलाई आँखासम्बन्धी उपचार घर–आँगनमै उपलब्ध गराउँदै ठूलो राहत दिन्छ ।’
स्थानीयवासीहरूले आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नयाँ भवन सञ्चालनमा आएको खुशी व्यक्त गरेका छन् ।


मुगु
प्रतिक्रिया