कोप–३० : विश्व एकतामा जित, जीवाश्म इन्धन कटौतीमा निराश

सन् २०३५ सम्म गरिब तथा कमजोर देशहरूलाई जलवायु अनुकूलन वित्तीय सहयोग कम्तीमा ३ गुणा बढाउने सहमति

ब्राजिल । ब्राजिलको अमेजन क्षेत्रमा सम्पन्न संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन कोप–३० ले अन्ततः विश्वका करिब २०० राष्ट्रलाई एउटै सहमतिमा ल्याए पनि जीवाश्म इन्धनको भविष्यबारेको प्रतिवद्धता भने दस्तावेजीकरण गर्न असफल भएका छन् ।

जीवाश्म इन्धनसम्बन्धी प्रावधान यसपटक पनि शिखरको दुर्बल पक्ष बन्यो । तेल, ग्याँस र कोइलाबाट चरणबद्ध रूपमा बाहिरिने स्पष्ट रणनीति माग गरिरहेका दर्जनौँ देशले वार्ताबाट हट्ने चेतावनी दिइरहेका थिए । तर अन्तिम दस्तावेजले जीवाश्म इन्धनको नामै उच्चारण नगरी अघिल्ला कोपहरूको सामान्य शब्दावली दोहोर्यायो ।

कोप–३० का अध्यक्ष आन्द्रे कोरिया डो लागोले असन्तुष्टि न्यूनीकरण गर्न ‘स्वैच्छिक रोडम्याप’को प्रस्ताव प्रस्तुत गरे पनि कोलम्बियाले यो सम्झौतालाई अस्वीकार गर्ने घोषणा गर्यो । राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्नै देशले आगामी वर्ष जीवाश्म इन्धन चरणबद्ध अन्त्यबारे विश्वकै पहिलो शिखर सम्मेलन आयोजना गर्ने बताए ।

ब्राजिलको सुरुआती समर्थनका बाबजुद तेल–उत्पादक साउदी अरेबिया, कोइलामा भरपर्दो भारत लगायतका राष्ट्रहरूबाट कडा विरोध भएपछि रोडम्यापले गति गुमायो । ग्रिनपिस ब्राजिलका क्यारोलिना पासक्वालीले लुलाले उच्च मापदण्ड राखे पनि विभाजित भू–राजनीतिले त्यसलाई रोकिदियो भन्दै चिन्ता व्यक्त गरिन् ।

२ हप्तासम्म चलेको वार्ताका अन्तिम समयमा महासन्धि पारित भए पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताबाट अलग्गिएका कारण अमेरिकाको अनुपस्थिति स्पष्ट खट्कियो । शिखर वार्ताभर बेलेमले विरोध प्रदर्शन, आगलागी, सडक मार्च र उग्र नारा–जुलुसको वातावरण अनुभव गर्नुपरेपछि अन्तिम मोडमा सम्झौतामा हस्ताक्षर गरियो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्झौताले विभाजित विश्वले अझै पनि संकटको क्षणमा एकता देखाउन सक्छ भन्ने प्रमाणित गरेको बताउँदै बहुपक्षवादले जित हासिल गरेको दिन भएको टिप्पणी गरे । दक्षिण अफ्रिकाबाट जी–२० शिखर सम्मेलनमा सहभागी भइरहेका उनले अन्तर्राष्ट्रिय समुदायले ‘त्याग्ने कि निरन्तर प्रयास गर्ने’ विकल्पको सामना गर्दा ‘निरन्तरताको बाटो’लाई जोड दिए ।

युरोपेली संघ (इयु) का जलवायु प्रमुख वोप्के होक्सट्राले भने सम्झौता निकै अमूर्त भएको स्वीकार गर्दै आफूहरूले अपेक्षा गरेभन्दा धेरै पाउन चाहे पनि प्रक्रियालाई नै विफल हुनबाट बचाउन यही उत्तम विकल्प भएको भनी प्रतिक्रिया दिए ।

चीनका प्रमुख प्रतिनिधि ली गाओले पनि चुनौतीपूर्ण परिस्थितिमा प्राप्त सहमतिलाई अन्तर्राष्ट्रिय समुदायको सामूहिक इच्छाशक्तिको प्रतिफल भन्दै सफलताका रूपमा व्याख्या गरे । ब्राजिल, भारत, चीन र दक्षिण अफ्रिकाले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौतालाई अर्थपूर्ण रहेको प्रतिक्रिया दिए पनि साना टापु राष्ट्रहरूको संस्था एओएसआइएसले यसलाई अपूर्ण भए पनि आवश्यक प्रगतिका रूपमा लिएको छ ।

कोप–३० मा पैसा र व्यापारको मुद्दामा भने केही प्रगति भयो । विकासशील राष्ट्रहरूको जोडबलका बीच विश्वले सन् २०३५ सम्म गरिब तथा कमजोर देशहरूलाई जलवायु अनुकूलनका लागि प्रदान हुने वित्तीय सहयोग कम्तीमा ३ गुणा बढाउने सहमति गर्यो ।

नेपालका प्रतिनिधि राजु पण्डितले शिखर सम्मेलनले दुर्बल राष्ट्रहरूको अपेक्षा पूरा नगरेको बताए । साथै, चीनका लागि महत्वपूर्ण मानिएको व्यापार–सम्बन्धी कडा भाषा पहिलोपटक कोप सम्झौतामा समावेश गरिएको छ । राजनीतिक बहसभन्दा पर अमेजनको वातावरणले यो शिखर सम्मेलनलाई विशेष बनायो ।

खुला वातावरण, वर्षावनको आवाज, स्थानीय जीवनशैली र व्यापक सार्वजनिक भागीदारीले यस कोपलाई पछिल्ला वर्षहरूमा अधिनायकवादी पेट्रो–राज्यहरूले आयोजना गरेका सम्मेलनभन्दा फरक बनायो । हजारौँ मानिस सडकमा उत्रिए र भित्र प्रदर्शनकारीहरूले नारा लगाए ।

तर केही क्षण अविस्मरणीय पनि रहे—दोस्रो अन्तिम दिन सम्मेलनस्थलको कपडाको छानोमा लागेको आगलागीले हलहरू धुवाँले ढाकिँदा केहीबेर कोलाहल मच्चियो भने सुरुआतमै आदिवासी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो ।

प्रतिक्रिया