सीमान्तकृत र संकटापन्न समुदाय, वर्ग र लिंगलाई समानताको धरातलमा उभ्याउन जरुरी छ । यसको लागि शिक्षा मात्र पर्याप्त छैन, अवसर र समाभागिता पनि सुनिश्चित गर्नुपर्छ ।

सानो बक्स जस्तो भाँडोमा कसरी मान्छे बोल्छ ? कसरी यति मिठा गीतहरू बज्छन् ? यस्ता जिज्ञासाले बाल्यकालमा रेडियो सुन्दा मच्छेदेवी गुरुङको दिमाग चिमोटी रहन्थ्यो । त्यो समय उनी जन्मेको सोलुखुम्बूको मैदेल अति नै विकट थियो । मैदेलमा चराचुरुंगीको आवाज सुन्नु सामान्य थियो, तर मोटर गाडीको आवाज सुन्न भन्ने सम्भव थिएन । एसएलसीपछि उनको यात्रा काठमाडाँैतिर मोडियो । काठमाडौँमा मोटरगाडीको कर्कसलाग्दो आवाज मात्र थिएन । बाल्यकालमा उनलाई अचम्मित पार्ने एफएम रेडियो स्टेसनहरू पनि थिए । तर त्यहाँ काम गर्न ग्रामीण परिवेशबाट सहर छिरेकी एक किशोरीका लागि त्यति सजिलो थिएन ।
रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहमा भर्ना भएपछि काम पनि गर्न थालिन् । काम गर्ने क्रममा महिला अधिकार र बालिकाको शिक्षाको बारेमा बुझ्ने मौका पाइन् । महिलाहरू कसरी सदियौँदेखि उत्पीडनमा छन् ? बालबालिकाका लागि शिक्षा कति महत्वपूर्ण छ ? साथै यी कुराहरू मिडियाले कसरी प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्छ ? यी कुरा थाहा पाएपछि पत्रकारितामार्फत महिला, सीमान्तकृत तथा संकटापन्न समुदायका लागि पैरवी गर्ने सोच बनाइन् । त्यो यात्रा तय गर्नका लागि उनको पहिलो कदम थियो, नेपाल पे्रस इन्स्टिच्युटको पत्रकारितासम्बन्धी १० महिने तालिममा सहभागी ।
तालिमपछि उनले एन्टेना फाउन्डेसन नेपाल र कान्तिपुर दैनिकमा इन्टर्नसिप गर्ने मौका पाइन् । उनले यी संस्थामा रहेर पत्रकारितालाई निरन्तरता दिने मौका पाइनन् । तर इन्टर्नसिपले पत्रकारिताको व्यावहारिक पक्षबारे धेरै ज्ञान दियो । त्यो बेला अहिलेको जस्तो सामाजिक सञ्जाल तथा युट्युब थिएन । त्यसकारण पत्रकारिता गर्न कुनै स्थापित सञ्चार गृहमै आवद्ध हुनुपथ्र्याे । तर उनले यस्तो पत्रकारिता नभए पनि अन्य काममा आवद्ध भएर अनुभव संगाल्ने र ज्ञान हासिल गर्ने कामलाई निरन्तरता दिइरहिन् । यस क्रममा उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिन् । यो बेला महिलालगायत विभिन्न समुदायका मानिसहरू किन पछि छन् भन्ने कुरा गहिरोसँग बुझिन् । पहिले पछि परेका मान्छेहरू उनकै कर्मको प्रतिफल हो लाग्थ्यो । तर उनीहरू कर्मभन्दा बढी संरचनाको सिकार भएका थिए । संरचनागत विभेदको कारण राजनीतिलगायत अन्य क्षेत्रमा पनि महिलाको सहभागिता न्यून थियो । धेरै महिलाले आफूमाथिको हिंसा पनि भाग्यसँग जोडेर प्रतिरोध गर्दैनथे । उनीहरू प्रतिरोध गर्ने अवस्थामा थिएनन् । महिलाको अवस्थालाई अझ गहिराइमा बुझ्ने क्रममा महिलाभित्रको विविधता, मूलधारको महिला खस आर्य, आदिवासी जनजाति महिला, सीमान्तकृत, पछाडि परेका र पािरएका महिला, दलित महिला, अपांगता भएका महिला, मधेसी महिला, मुस्लिम महिलाको फरकफरक समस्या र आवश्यकता बुझ्ने मौका पाइन् ।

पत्रकारिताको तालिम तथा इन्टर्नसिपको अनुभव अनि साथै गैरसरकारी संस्थाबाट संगालेको सीमान्तकृतको हकअधिकारको अनुभव लिएर उनले रेडियो सगरमाथामा काम गर्ने मौका पाइन् । रेडियो सगरमाथामा आधा दशक बिताउँदा धेरै खालको कार्यक्रम चलाइन्, तर प्राथमिकता भने महिलाहरू दुःख, पीडा र त्यसको कारणमा केन्द्रित गरिन् ।
मच्छेले महिलाकै विषय मात्र उठाउँछे भन्ने आरोप पनि लाग्यो । तर यसले उनको अठोट डगमगाएन । सदियौँदेखि दबिएको आवाज उठाउनु जरुरी थियो । यो प्रतिरोधको आवाज मात्र थिएन, समानताको पैरवी पनि थियो । सदियौँदेखि दमन गरिरहेकालाई प्रतिरोधको आवाज मन पर्दैन । तर, महिलाको हितमा बोल्दा आलोचना मात्र खेप्नु परेन । कति संघसंस्थाले सम्मान पनि ग¥यो । ती सम्मानले मच्छेलाई निरन्तर महिला तथा सीमान्तकृतको हकहितमा बोल्नका लागि प्रेरित गरिरहेको छ ।
हाल अमेरिकामा रहेकी मच्छेदेवीले आफ्नो महिला तथा सीमान्तकृतको आवाज बोल्ने कामलाई निरन्तरता दिइरहेका छन् । अहिले उनी अन्य साथीहरूसहित एनवाइसीनेपालज्युडटकम सञ्चालन गरेका छन् । यसअघि उनले सामुदायिक पत्रकारितामार्फत समुदायलाई अझ सशक्त बनाउन एभरेस्ट टाइम्स अनलाइन पत्रिकामा अतिथि सम्पादकको रूपमा निरन्तर कलम चलाइन् । त्यति मात्र नभएर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ नेजामा २०१६ सालदेखि आवद्ध उनी कार्यसमिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको रूपमा काम गरिसकेकी छन् । भर्जिनियामा २०२१ जुलाइ २४ र २५ मा भएको नेजाको सातौँ महाधिवेसनमा सबैभन्दा बढी ६० मत पाएर विजयी भएकी थिइन् ।
मच्छेले आदिवासी जनजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न र आदिवासी जनजाति, जनजाति महिला, सीमान्तकृत महिलाको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरूप नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ३१औँ विश्व आदिवासी दिवसमा सम्मान गरेको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मच्छेलाई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति र रीतिरिवाज, परम्परा संरक्षण प्रवद्र्धन तथा अधिकार स्थापित गरेकोमा फोनिज राष्ट्रिय पत्रकारिता प्रवास अवार्ड २०८२ बाट सम्मान गरेको छ ।
मच्छेले महिलाको हैसियतसम्बन्धी आयोग UN Commission on Status of Women र जनजाति स्थायी मञ्च UN Permanent Forum मा समेत उनले सहभागिता हुने मौका पाएकी छन् । उनले महिलाको हैसियतसम्बन्धी आयोगको ६९औँ सेसनमा भएको साइड इभेन्टमा सञ्चार क्षेत्रमा महिला : लैंगिक संवेदनशील अभ्यास महिला र सामाजिक रूपान्तरणका लागि मिडियाको प्रवद्र्धन विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
पत्रकारिता र गैरसरसरकारी संस्था हुँदै अघि बढेको मच्छेको यात्रा महिला, आदिवासी जनजाति, दलित अपांगता भएकाहरूको पैरवीकर्ता रूपमा प्रतिबिम्बित हुन थालेको छ । उनका अनुसार समृद्ध र सभ्य समाज निर्माणको लागि सिमान्तकृत र संकटापन्न समुदाय, वर्ग र लिंगलाई समानताको धरातलमा उभ्याउन जरुरी छ । यसका लागि शिक्षा मात्र पर्याप्त छैन, अवसर र सहभागिता पनि सुनिश्चित गनुपर्छ । त्यसको एउटा आधार भनेको समावेशीकरण हो ।
प्रतिक्रिया