कर्फ्यूबीच अनलाइनमार्फत सम्पन्न भयो सोह्रश्राद्ध

काभ्रे । देशभर जारी कर्फ्यूले जनजीवन अस्तव्यस्त पारिरहेकै अवस्थामा पितृपक्षको महत्त्वपूर्ण विधि सोह्रश्राद्ध समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित देशैभर नेपाली सेनाले लगाएको कर्फ्यूका कारण पण्डितहरु घर–घरमा पुग्न नसक्दा अब आधुनिक प्रविधिमार्फत श्राद्ध संस्कार सम्पन्न गर्न थालिएको छ ।

यसै क्रममा काभ्रेपलाञ्चोकको पनौतीस्थित गणेशप्रसाद थपलियाको घरमा बुधबार विशेष अनौठो दृश्य देखियो । पण्डित विष्णु त्रिपाठीले कर्फ्यूका कारण शारीरिक रूपमा उपस्थित हुन नसके पनि अनलाइन भिडियो कलमार्फत सम्पूर्ण मन्त्रोच्चारण गर्दै श्राद्ध विधि सम्पन्न गराएका छन् ।

चन्द्रमान अनुसार भाद्र शुक्ल पूर्णिमादेखि असोज कृष्ण औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध भनिन्छ । यस अवधिलाई पितृपक्ष पनि भनिन्छ । आफ्ना दिवंगत पितृहरुलाई श्रद्धा, तर्पण र अन्नजल अर्पण गर्ने यो संस्कारलाई हिन्दू धर्ममा अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

धार्मिक विश्वासअनुसार यस अवधिमा श्राद्ध गरेमा पितृ आत्माले तृप्ति पाउने र सन्तानलाई आयु, आरोग्य, धन, विद्या र प्रगतिको आशीर्वाद प्राप्त हुने जनविश्वास छ । यस कारण यो पक्षलाई पितृ तृप्ति पक्ष समेत भनिन्छ ।

कर्फ्यूकै बीच संस्कारमा नवीन प्रयोग

जेनजी आन्दोलनका कारण सुरक्षा संवेदनशील बनेपछि सरकारले जारी गरेको कर्फ्यूले धार्मिक कर्मकाण्ड प्रभावित हुने अवस्था बनेको छ । तर, पनौतीमा देखिएको यो घटना परम्परा र आधुनिक प्रविधिको अद्भुत संयोजन बनेको छ ।

शास्त्रानुसार पण्डित उपस्थित भएर मन्त्रोच्चारण र विधि सम्पन्न गर्नुपर्ने परम्परा भए पनि असाधारण परिस्थितिमा भक्तिभाव र श्रद्धा प्रधान हुने मान्यता पनि छ । त्यसैले भिडियो कलमार्फत भए पनि श्रद्धा र संस्कार अधुरो रहने छैन भन्ने पण्डितहरुको तर्क छ ।

संस्कार तोडिएन, रूप मात्र फेरियो

यो घटनाले कठिन परिस्थितिमा पनि नेपाली समाजले परम्परा निभाउने दृढता प्रकट गरेको छ । कर्फ्यूले बाटो रोक्न सक्छ, तर आस्थाको बाटो रोक्न सक्दैन भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया