विकट महाभारतको व्यथा, गर्भवतीको हेलिकोप्टरले उद्धार गर्नुपर्ने बाध्यता

छैन भरपर्दो सडक, पैदल हिँडाउँदा ढिलो हुने जोखिम

काभ्रे । यो काभ्रेपलाञ्चोककै विकट क्षेत्र मानिने महाभारत गाउँपालिकाको घटना हो । शुक्रबार महाभारत–७ का जयमान घलानकी २८ वर्षीया पत्नी देवकुमारीलाई सुत्केरी व्यथाले च्यापेर गम्भीर अवस्था भयो । उनलाई उपचारका लागि बनखुचौर स्वास्थ्यचौकीमा लगिएको थियो । तर, २४ घण्टा बितिसक्दा पनि औषधिबाट उच्च रक्तचाप नियन्त्रणमा नआएको र गर्भमा रहेको शिशुमा ‘फिटल डिस्ट्रेस’ देखिएको भन्दै स्वास्थ्यकर्मीहरूले तुरुन्तै स्रोतसाधनसहितको अस्पताल रिफर गरेका थिए ।

स्वास्थ्यचौकीको रिपोर्टसअनुसार उनमा ‘प्रोलंग्ड लेबर र हाई बिपी’ समस्या थियो । स्वास्थ्यचौकीले सिफारिसपत्रमा लेखिएको विवरणअनुसार, सुत्केरी देवकुमारी २०८२ साउन ८ गते दिउँसो १२ः१० बजे बर्थिङ सेन्टरमा भर्ना भएकी थिइन् । २७–२८ घण्टासम्म पनि ‘प्रोलंग्ड लेबर’को समस्या कायम रहेको र आमाको उच्च रक्तचाप औषधिबाट समेत नियन्त्रण नभएको उल्लेख छ ।

‘स्वास्थ्य चौकीको रिपोर्टसअनुसार उनमा ‘प्रोलंग्ड लेबर र हाई बिपी’ समस्या थियो,’ विवरणमा भनिएको छ, ‘सुत्केरी देवकुमारी पाख्रिनको २७–२८ घण्टासम्म पनि ‘प्रोलंग्ड लेबर’को समस्या कायम रहेको र आमाको उच्च रक्तचाप औषधिबाट समेत नियन्त्रण नभएको पाइएको छ ।’ शिशुको अवस्था पनि ‘डिस्ट्रेस’मा पुगेकाले आमाको ज्यानसमेत जोखिममा रहेको भन्दै तत्काल उद्धार गर्नुपर्ने खतराको सूचना दिइएको थियो ।

स्वास्थ्य संस्थाले ‘रिफर’ गरेपछि देवकुमारीको शुक्रबार ‘हेली रेस्क्यू’मार्फत् उद्धार गरिएको छ । २८ वर्षीया देवकुमारी पाख्रिनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत् उद्धार गरी शुक्रबार राजधानी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्याइएको हो ।

‘डाँडापारि’ भनेर चिनिने महाभारत र खानीखोला गाउँपालिकामा अझै स्थायी र भरपर्दो सडक सञ्जाल छैन । यसले गर्दा बिरामीलाई एम्बुलेन्समा सडकसम्म लाने अवस्था अहिलेको बर्खामा छैन । पैदल नै हिँडाएर बिरामीलाई राजमार्गसम्म पुर्याउँदा ढिलो भइसक्ने अवस्था छ । यसले गर्दा हेलिकोप्टर नै मगाएर बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने बाध्यता छ । देवकुमारी पनि यही अवस्था आएको हो ।

देवकुमारीको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको समन्वयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, नेपाली सेना र राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत हेली एम्बुलेन्स सेवा प्रयोग गरी तत्काल उद्धार गरिएको हो । ‘विकट भूगोलमा बर्खाको मध्य समय छ, यसले गर्दा पैदल हिँड्न नसकिने अवस्था, सडक सुविधा पनि स्थायी र ढुक्क हुने खाले छैन,’ उनले भने, ‘जटिल बिरामीको स्वास्थ्यचौकीमा पर्याप्त उपचार सम्भव नहुँदा हेलिकोप्टर नै अन्तिम विकल्प बन्छ । जनताको पीडामा राज्यको संयन्त्र चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामी निरन्तर जनसेवामा समर्पित छौँ । त्यसैअनुसार शुक्रबार उनको उद्धार गरिएको हो ।’

देवकुमारीका पति जयमानले गाउँपालिका, स्वास्थ्यचौकी र अन्य निकायमा लिखित रूपमा उद्धारका लागि निवेदन दिएका थिए । सो निवेदनको आधारमा गाउँपालिकाले तत्काल आवश्यक पहल गर्दै उद्धार प्रक्रिया अघि बढाएको हो ।

बर्खाको समयमा महाभारत र खानीखोलामा यस्ता प्रतिनिधि घटना भइरहेका हुन्छन् । बर्खाको समयमा त हिँड्नसमेत नसकिने अवस्था हुने, भिर, पहिरो र खोला पार गर्दा ज्यानको बाजी थाप्नुपर्ने समस्या प्रत्येक वर्ष दोहोरिँदै आएको छ । पछिल्ला वर्षहरूमा यस्तै अवस्थाका गर्भवती महिला, बिरामी तथा घाइतेको हेलिकोप्टरमार्फत् उद्धार हुँदै आएको महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बाले जानकारी दिए ।

प्रतिक्रिया