सिन्धुलीको मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुली । दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगंगा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

उनी मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान उक्त स्थानमा करिब २५–३० वर्षको पुरुषको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातिमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो ।

प्रहरीका अनुसार पंकज साथीहरुसँग मधुगंगा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीसँगै आएका सबै जना फरार रहेको र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभन्न स्थानबाट बर्सेनी साउनको पहिलो सोमबार मधुगंगा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ ।

प्रतिक्रिया