बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या !

काभ्रे । आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य अपराधको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।
२ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी युवती र सन्तोष सुनारबीच विवाहको विषयमा कुरा नमिल्दा प्रेमी सुनारले प्रेमिकाको हत्या गरेको खुलेको छ । प्रेमिकालाई विवाह गरौँभन्दा आलटाल गरेको र प्रेमिका अर्कैसँग लागेको शंका लागेपछि प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरेको जानकारी दिएको छ । घटना भएको २४ घण्टाभित्र आरोपी पक्राउ परेका छन् ।

४ साउन दिउँसो करिब २ बजे बनेपा नगरपालिका–१३ भगवान् थुम्कीस्थित सामुदायिक जंगलमा १ महिलाको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पहिचान चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी ३३ वर्षीया शर्मिला उप्रेती भएको खुलेको थियो । उनी बनेपा–९ नयाँबस्तीमा बस्दै आएकी थिइन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएकी प्रेमिकासँग अभियुक्तले बिहे गरौँ भनेर प्रस्ताव गर्दा अर्कैसँग लागेर आफूबाट टाढिएको भन्दै काभ्रेको बनेपामा ती व्यक्तिले प्रेमिकाको हत्या गरेको प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ । सुनारले उप्रेतीको ३२ असारमा बनेपा–१३ साँगाको जंगलमा हत्या गरेका थिए ।

मृतकका बुबा कमलबहादुर उप्रेतीले शवको सनाखत गरेका थिए । उनका अनुसार शर्मिला ३२ असारदेखि सम्पर्कविहीन थिइन् । प्रहरीले शव भेटिएपछि घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक (प्र.ना.उ.) को कमान्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक चिकित्सकको टोली परिचालित गरिएको थियो ।

घटनाको अनुसन्धानपछि रामेछापको मन्थली नगरपालिका–१३ निवासी सन्तोष सुनारलाई सोही दिन राति बनेपा–१० स्थित एक इँट्टाभट्टाबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काभ्रेबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार शर्मिला र सन्तोषबीच प्रेम सम्बन्ध थियो र सोही सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीले घटनाबारे सम्पूर्ण विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया