काठमाडौँ । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपक्षी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी १ प्रदेशबाट २ जनालाई पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कृत हुने कृषकहरूमा कोसी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशबाट भरतकुमार यादव(शम्भुनाथ माछा फर्म) र हिराबहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि) गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्गानिक फर्म) र बाटुली तिवारी(मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य(खाद्यान्न बाली) र सुवास कुर्मी ( शान्ति उन्नत पशुपालन तथा माछा फर्म) रहेका छन् ।
त्यस्तै, कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी(सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपक्षी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) रहेका छन् ।
पुरस्कृत कृषकलाई जनही २ लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएर आएका १४ जना कृषकको योगदानको उच्च मूल्यांकन हुनु ऐतिहासिक अवसर भएको उल्लेख गरे ।
प्रतिक्रिया