एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच जारी युद्धकै बीच युद्धविरामको घोषणा गरे पनि त्यो लागू भएको छैन । पछिल्लो समय मंगलबार ट्रम्पले इजरायल र इरान युद्धविरामको लागि सहमत भएको घोषणा गरेका थिए ।
तर, ट्रम्पको युद्धविरामपछि पनि इजरायल र इरानबीच दोहोरो आक्रमण जारी । उनको युद्धविरामको घोषणापछि इजरायलले इरानमाथि आक्रमण गरेको थियो भने इरानले पनि इजरायलमाथि जवाफी आक्रमण गरेको छ ।
इजरायलको अग्नि तथा उद्धार सेवाले देशको दक्षिणी भागमा इरानको पछिल्लो मिसाइल आक्रमणमा तीन जना इजरायलीको मृत्यु भएको जनाएको छ ।
इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोमले घटनास्थलको विवरण दिँदै भने, ‘हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौँ, जब हामी नजिक पुग्यौँ, हामीले त्यहाँ धेरै भवनहरूमा क्षति पुगेको पायौँ ।’
‘हामीले एउटा भवनको गेटमा एक बेहोस मानिस सुतिरहेको देख्यौँ, यसपछि जब भवनको खोजी गरियो, भित्र एक पुरुष र एक महिला बेहोस अवस्थामा फेला परे’, उनले भने ।
उनले भने, ‘हामीले घाइतेहरूको लागि एक चिकित्सा केन्द्र स्थापना गरेका छौँ र भवनहरूबाट बाहिर निस्कने मानिसहरूको जाँच गरिरहेका छौँ ।’
इजरायली सेना (आईडीएफ) ले आफ्नो एक्स पोस्टमा भनेको छ, ‘इरानबाट क्षेप्यास्त्र प्रहार भएको कारण इजरायलीहरू आश्रयको लागि दौडिरहेका छन्, पछिल्लो एक घण्टामा यो तेस्रो पटक हो, उनीहरूले अन्यत्र शरण लिनुपरेको छ ।’
आईडीएफले भनेको छ कि उनीहरूले इरानी क्षेप्यास्त्रहरूलाई रोकिरहेका छन् तर इरानको मिसाइल आक्रमण रोकिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए ।
यसपछि इरानका विदेशमन्त्री सईद अब्बास अरघचीले भनेका छन्, ‘यदि इजरायलले सैन्य आक्रमण बन्द गर्छ भने हामीसँग कुनै पनि प्रकारको बदला लिने लक्ष्य छैन ।’ इजरायलले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया