काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको बजेट निर्माणका लागि अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका छन् । महानगर स्रोतका अनुसार बालेनले आज बुधबार ११ बजेका लागि उनकै कार्यकक्षमा बैठक बोलाएका हुन् ।
बैठकका लागि समितिका सदस्यहरू उपप्रमुख सुनिता डंगोल, कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन र अनिता कार्की डोलीलाई बोलाइएको छ । तर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको छैन । जबकि स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सदस्यसचिव नै पालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, बिना सदस्यसचिव नै समितिको बैठक राख्दा उक्त बैठक अन्योल बन्ने एक वडाध्यक्ष बताउँछन् ।
मेयर शाह र अन्य जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँबीच तनावपूर्ण सम्बन्ध रहेकाले उनले समितिको बैठक अहिलेसम्म बोलाएका थिएनन् । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्थाको दबाबमा परेका बालेनमाथि कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले पनि निरन्तर दबाब बढाइरहेका छन् । दबाबमा परेका बालेन अहिले बैठकका लागि तयार भए पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई भने ‘बाइपास’ गर्ने राणनीतिमा छन् ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी बाध्यता छ । तर, मेयर शाह संयोजक रहेको बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो । कार्यपालिका र नगर सभा मात्रै होइन, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत छल्दै आएका मेयर शाहले समितिका सदस्यसचिव गुरागाईँबिनै बैठक राख्ने कसरत गरेपछि उक्त बैठक पनि अन्योलमा पर्ने निश्चित भएको छ ।
प्रतिक्रिया