‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आउने दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’ को सिनेमा हलहरूले अग्रिम टिकट बुकिङ खुलाएका छन् । देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मको सो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको छ । वान सिनेमाज, एफक्युब सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेको छ । आइएनआई सिनेमान, बिग मुभिज लगायतका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन् ।

‘महाभोज’ मा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरूङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतको प्रमुख अभिनय छ । सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।

फिल्मले प्रिभ्यु प्रिमियरमा दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया पाइसकेको छ । क्लक वर्क क्रियसन र पिक्चर्स फ्रेमको प्रस्तुति रहेको फिल्मको निर्माता हिमाल कड्रिया हुन् । यसअघि यो फिल्म १५ जेठदेखि प्रदर्शनमा आउने तयारीमा थियो । देशको विषम परिस्थितिको कारण देखाउँदै त्यसबेला प्रदर्शन स्थगित गरिएको थियो ।

प्रतिक्रिया