लालबन्दी । पूर्व–पश्चिम राजमार्गबाट उत्तर लालबन्दी–१६ भोर्लेनीकी जानुका पाठक यतिबेला मकै बालीमा हाल्ने युरिया मलको खोजिमा छन् । मलका लागि पटकपटक सहकारीमा धाइरहेकी उनले मल नआएको जबाफबाहेक केही पाएकी छैनन् ।
उनीजस्तै लालबन्दी–१५ चिसापानीका ललितबहादुर विश्वकर्मा पनि मलको खोजीमा छन् । केही दिनअघि मात्रै गोडमेल गरिएको मकैमा युरिया हाल्ने बेला भए पनि मल नपाइएको उनको गुनासो छ ।
यतिबेला यहाँका सबैजसो किसानहरू मलको अभाव झेलिरहेका छन् । लालबन्दी नगरपालिका कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले युरिया र डिएपी मलको अभाव रहेको बताए । कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयबाट मल नआउँदा किसानहरूलाई समस्या भएको उनको भनाइ छ । यो महिनाको अन्तिमतिर मल आउने खबर आफूले पाएको पौडेलले बताए ।
कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयले मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न १७ जिल्लामा रासायनिक मल ढुवानीको जिम्मेवारी पाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड नवलपुर सर्लाहीका प्रमुख ध्रुव साहले युरिया र डिएपी दुवै मलको माग उच्च रहेको तर कार्यालयसँग मल नै नरहेको बताए । उनका अनुसार डिएपी मल अहिले धमाधम आउन थालेको भए पनि युरिया मल कहिलेसम्म आउँछ भन्ने टुंगो छैन ।
कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले कार्यालयमा डिएपी र युरिया मल धमाधम प्राप्त भएकाले जिल्लाहरूमा ढुवानीको तयारी भइरहेको बताए । केही जिल्लामा डिएपी ढुवानी भइरहेको र युरिया पनि १–२ दिनभित्रै ढुवानी हुने पाण्डेको भनाइ छ ।
मधेस प्रदेशमा कुन जिल्लामा कति मल पठाउने भन्ने निर्णय प्रदेश सरकारले गर्छ । प्रदेश सरकारले मलको कोटा तोक्न बाँकी नै रहेकाले किसानले तत्कालै मल पाउने अवस्था छैन ।
कृषि सामग्री कम्पनीले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आइरहेको छ । मकै खेती धेरै हुने उत्तरी भेगका सहकारी संस्थामा अहिले मलखादको गोदाम नै रित्तिएको नबिन खड्काले बताए ।
सर्लाही
प्रतिक्रिया