राष्ट्र बैंकले गठन गरेकाे कार्यदलले ६ विषयमा अध्ययन गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा विषयमा अध्ययन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । गभर्नर डा.विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा.रेवतबहादुर कार्की संयोजक रहने गरी कार्यदल गठन गरेका हुन् । कार्यदलमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल र पूर्वबैंकर भुवन दाहाल सदस्य छन् । १ महिनाको समय पाएको कार्यदलले ६ वटा विषयमा मुख्य अध्ययन गर्ने भएको छ ।

कार्यदलले बैंकिङ नीतिनियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धी अध्ययन गर्नेछ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको भूमिकाबारे अध्ययन गरी सुझाव पेस गर्नेछ ।

प्रतिक्रिया