‘बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु ऐतिहासिक’

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको बताएको छ । सिबफिनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । सिबिफिनले बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरूको पहिचान र ठोस समाधानसहितका सुझाव पेस गर्नका लागि स्वागतयोग्य भएको जनाएको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको जनाइएको छ ।

‘सरोकारवालाहरूसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरूको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन÷सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरूको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरूको निदान गर्ने गरी गभर्नरज्यूबाट व्यक्त भएका दुरगामी अभिव्यक्ति तथा सोअनुसार चालिएका सुधारमुखी पहलहरूले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने सिबिफिनले विश्वास लिएको छ’, सिबिफिनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेका, केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरू समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरूसँगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने, नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको जनाइएको छ ।

प्रतिक्रिया