काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन् । छैठौँ मह मेलाको बिहीबार काठमाडौँमा उद्घाटन गर्दे मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले भने, ‘खुल्ला बजारमा सबैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथमिकता दिन जरुरी छ ।’
बैक तथा वित्तीय संस्थालाई मौरी किसानहरूमा पनि लगानी गर्न आग्रह गर्दै मन्त्री अधिकारीले मौरी पालकहरूलाई देखिएको चरनको समस्यालाई समाधान गर्न पहल गर्ने पनि बताए । मौरी र महको प्रवद्र्धनका लागि सरकारबाट गर्न सकिने सबै सहयोग गर्न आफू तयार रहेको मन्त्री अधिकारीले बताए ।
स्वास्थ्यका दृष्टिकोणवाट पनि महको नियमित सेवन फाइदाजनक रहेकाले स्वदेशी महको सेवन गरिदिन पनि सबैमा मन्त्री अधिकारीले आग्रह गरे । मह उत्पादकहरूलाई उत्पादनमा जोड दिन आग्रह गर्दे मन्त्री अधिकारीले बजारको समस्या विस्तारै हट्दै जाने सरकारले पनि पहल गरिरहेको बताए ।
हाल नेपालमा वार्षिक ५ हजार मेट्रिक टन भन्दा बढी मह उत्पादन हुने गरेको व्यवसायीहरूले बताएका छन् । हाल सरकारले मह आयातमा रोक लगाएको छ । यसबाट मह उत्पादन बढ्दै गएको छ भने नेपाली महको खपत पनि बढ्दै गएको छ । विगतमा भन्दा अहिले मन्त्रालयमार्फत सकारात्मक सहयोग प्राप्त भएको मौरीपालक किसान तथा मह उत्पादकहरूले बताएका छन् ।
प्रतिक्रिया