हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हार्वर्ड विश्वविद्यालयमा पढ्न चाहने र भर्खरै पढाइ सुरु गर्ने विदेशी विद्यार्थीहरूको भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ‘हार्वर्ड विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम वा हार्वर्ड विश्वविद्यालयले आयोजना गरेको विनिमय आगन्तुक कार्यक्रममा भाग लिन मात्र वा मुख्य रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने विदेशी नागरिकको प्रवेश प्रतिबन्धित गर्न आवश्यक छ भनेर मैले निर्णय गरेको छु,’ ट्रम्पले विज्ञप्ति जारी गर्दै भनेका छन् । योसँगै ट्रम्प प्रशासनले उच्च शिक्षामाथिको कडाइ बढाएको छ ।

ट्रम्पले दोस्रो राष्ट्रपतीय कार्यकाल सम्हालेसँगै विश्वविद्यालयहरू, विशेष गरी हार्वर्डसँग निरन्तर द्वन्द्व जारी छ । हार्वर्डले ट्रम्पको ‘आक्रोश’को निरन्तर सामना गर्दै सार्वजनिक रूपमै उनको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दोहो¥याइएका निर्देशन अस्वीकार गर्दै आएको छ । ट्रम्पको यो घोषणा तुरुन्तै लागू हुने र ‘विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रममार्फत् हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गर्न संयुक्त राज्य अमेरिका प्रवेश गर्ने वा प्रवेशको प्रयास गर्ने विदेशीहरूमा लागू हुने’ बताइएको छ ।

त्यस्तै, विभिन्न भिसामा पहिले नै हार्वर्डमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले समीक्षाको सामना गर्नुपरेको र ‘उनीहरूको भिसा रद्द’ हुने जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ‘राष्ट्रिय सुरक्षा’ को रक्षा गर्न यो कदम आवश्यक रहेको बताइएको छ ।

विज्ञप्तिमा ‘हार्वर्ड र उसका क्याम्पसमा सम्बद्ध संगठनहरूले मिहिनेती अमेरिकीहरूलाई समान अवसर दिन अस्वीकार गर्न जारी राखेको पनि आरोप लगाइएको छ । ‘अत्यधिक विदेशी विद्यार्थी भर्नाबाट अमेरिकी विद्यार्थीका लागि अवसरहरू थप कम गरेर गैरप्राथमिकता प्राप्त जाति, राष्ट्रिय उत्पत्ति, साझा पुर्खा वा धर्महरू विरुद्ध हार्वर्डको भेदभावलाई थप बढाउनु संयुक्त राज्य अमेरिकाको हितमा छैन,’ विज्ञप्तिमा भनिएको छ । बुधबारको आदेश हार्वर्ड विश्वविद्यालयलाई मात्र लागू हुने देखिन्छ ।

ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई स्पष्ट रूपमा लक्षित गरेको छ । विदेशमन्त्री मार्को रुबियोले चीनका विद्यार्थीहरूका भिसाहरू ‘आक्रामक रूपमा’ खारेज गर्ने वाचा गरेका छन् । यसअघि गत हप्ता विद्यार्थीहरू स्नातक भएपछि स्थानीय अदालतका एक न्यायाधीशले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्नबाट रोक्न ट्रम्पको प्रयासमा अस्थायी अवरोध गरेका थिए । ट्रम्पको पछिल्लो निर्णय त्यसपछि आएको हो ।

प्रतिक्रिया