काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बूको थामे गाउँका ५५ वर्षीय शेर्पाले मंगलबार बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघिको आफ्नै विश्व कीर्तिमान तोडेका हुन् । यसपटकको आरोहणमा उनले भारतीय सेनाको आरोहण दललाई सघाउँदै सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
‘एभरेस्ट म्यान’ भनेर चिनिने कामिरिता सन् १९९४ मा पहिलोपटक विश्वको सर्वोच्च शिखरमा पुगेका थिए । गत वर्षमा उनले २९औँ र ३०औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।
कामिरिताले सन् २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गरेपछि नयाँ कीर्तिमान कायम भएको थियो । त्यसअघि आपा शेर्पा, फुर्वाटासी शेर्पा र उनले २१ पटक सगरमाथा चढेको कीर्तिमान थियो । आपा र फुर्वाटासीले पर्वतारोहणबाट यसअघि नै अवकाश लिइसकेका छन् ।
पर्यटन विभागका अनुसार मंगलबारबाटै यो वर्षको सगरमाथा आरोहण सकिएको छ । यो ‘सिजन’मा अनुमति लिएका ४६ आरोही समूहका करिब ५०० जनाले सगरमाथा आरोहण गरेका छन् ।
प्रतिक्रिया