जोखिममा रहेका १६२ बालबालिकालाई खाद्यान्न वितरण

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेख, सेभ द चिल्ड्रेन र सोसेक नेपालले सञ्चालन गरेको सहयात्रा तेस्रो परियोजनाले १६२ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाका सबै वडाका बालबालिकाको लागि खाद्यान्न वितरण गरिएको हो ।

विशेष संरक्षणको आवश्यकता भएका आमाबाबु गुमाएका, अभिभावकविहीन, आर्थिक रूपमा विपन्न र नियमित विद्यालय जान समस्यामा परेका बालबालिकाका परिवारको लागि खाद्यान्न सहयोग गरिएको नगरप्रमुख गणेशकुमार शाहीले बताए । उनले थने, ‘हाम्रो समाजमा बिहान खाए बेलुका के खाउ भन्ने अवस्थाको परिवारका बालबालिका छन् । उनीहरू विद्यालय त जान्छन्, तर भोको पेटमा बालबालिकाको सिकाइ गुणस्तर नहुने र विद्यालयको नियमिततामा समेत समस्या पर्ने देखिएकाले खाद्यान्न उपलब्ध गराउनुपरेको हो ।’

उपलब्ध खाद्यान्नले बालबालिकाको पोषणमा सुधार गर्ने बताउँदै प्रमुखले भने, ‘घरमा राम्रो खाना खान्छन् र बालबालिका झोला बोकेर विद्यालय जान्छन् ।’ छोराछोरी जन्माएर उचित हेरचारह नगर्ने अभिभावकलाई बालबच्चाकोे जिम्मेवारी राम्रोसँग वहन गर्न उनले आग्रह गरे । उनले भने, ‘जहाँ सचेत अभिभावक हुन्छन् त्यहाँ बालबालिका पनि सुध्रिएको देखिन्छ ।’ अभिभावकले छोराछोरी विद्यालय पठाएर मात्रै कर्तव्य पूरा नहुने उनले बताए । ‘बच्चाले विद्यालयमा राम्रोसँग अध्ययन गरेको छ कि छैन, उसको पढाइ कस्तो छ, कतिबेला घर फर्किन्छ, विद्यालय जान्छु भनेर नगएको पनि हुन सक्छ’, उनले भने ।

अभिभावकले महिनामा एकदिन विद्यालय गएर आफ्ना बालबालिकाको बारेमा बुझ्नुपर्ने उनको भनाइ छ । यो खाद्यान्न सामाग्री पर्याप्त नभएको र केही समयका लागि राहत मात्रै भएकाले यस्ता परिवारको लागि दीर्घकालीन आयआर्जनका श्रोतको खोजी स्थानीय सरकारले गरिरहेको उनको भनाइ थियो ।

आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय वाहिर नहुने नगरउपप्रमुख मनसरा कुमारी रेग्मीको भनाइ छ । बालबालिकालाई विद्यालय निरन्तरताका लागि साझेदार संस्थासँगको सहकार्यमा स्थानीय सरकारले सहयोग गर्ने उनले बताइन् । उनले भनिन्, ‘विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको राहत पुनःस्थापना तथा सहयोगका लागि पालिकामा बालकोष स्थापना गरिएको छ ।’ यदि कुनै बालबालिकालाई तत्काल सहयोग गर्नुपर्ने अवस्था भए स्थानीय सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

वडा–३ का अध्यक्ष दीपबहादुर शाहीले वडाका १८ जना बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गरिएको बताए । बालबालिकालाई शैक्षिक छात्रवृत्ति र खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । १२९ जना जोखिममा रहेका बालबालिकालाई उनीहरूको आवश्यकताअनुसार फरकफरक सामग्रीहरू उपलब्ध गराइएको शाहीले बताए ।

प्रतिक्रिया