काठमाडौं । देशको समृद्धि र विकासका लागि सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजका बिचमा आसपी सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बुधबार प्लान इन्टरनेशनलले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले देशको समृद्धि र विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् । उनीहरुले गैरसरकारी संस्थाहरुले गरिरहेका कामलाई नकारात्मक दृष्टिले हेर्नु नहुने भन्दै सरकारले आफ्नो सहयोगीको रुपमा लिनुपर्नेमा जोड दिए ।
त्यस्तै महिला, बालबालिका, जेष्ठ नागरिक लगायतको क्षेत्रमा काम गर्न सरकार असफल बन्दै गइरहेको भन्दै सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीकि सांसद रन्जु कुमारी झाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सबैभन्दा उपेक्षित मन्त्रालय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले मानव जीवनको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएपनि त्यस अनुरुपको काम हुन नसकेको बताइन् ।
महिला, बालबालिका र जेष्ठ नागरिकको पक्षमा काम गर्न उक्त मन्त्रालय उदासिन देखिएको उनको भनाई थियो । उनले समाज कल्याण परिषद्ले पनि आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न नसकेको उल्लेख गरिन् ।
सांसद झाले समाज कल्याण परिषद्सँग सम्बन्धित ऐन छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । सांसद झाले देशको विकासका लागि गैरसरकारी संघसंस्थाले पनि भुमिका खेलिरहेका भन्दै उनीहरुको भुमिकाको अवमुल्यन गर्नु नहुने बताइन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. रामकुमार फुँयालले गैरसरकारी संस्थाहरुले ‘वाच डग’ को भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले गैरसरकारी संस्थाहरुले संविधानले प्रदत्त गरेका मौलिक हकहरुको कार्यान्वयन भए, नभएको सम्बन्धमा नजिकबाट हेरेर सरकारलाई सल्लाह, सुझाव दिनुपर्ने पनि बताए । गैरसरकारी संस्थाहरुले ग्रामिण भेगमा धेरै रोजगारीहरु दिइरहेका भन्दै उनले यि संस्थाहरुमार्फत् स्रोतको दुरुपयोग हुनबाट भने रोक्नुपर्ने बताए ।
नेपाली कांग्रेसकि सचेतक सुशिला थिङले सरकारी क्षेत्र र गैरसरकारी क्षेत्र सबैको एउटै उद्देश्य देश र जनतालाई समृद्ध बनाउनु भएको भन्दै उद्देश्य प्राप्तिका लागि आपसी सहकार्य आवश्यक रहेको बताइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रु्वबहादुर प्रधानले समाज कल्याण परिषद्सँग सम्बन्धित ऐन संशोधनका लागि आफुहरु गम्भीर रहेको बताए । उनले कर्मचारीहरुले गैरसरकारी संस्थाहरु सँग सेयर माग्ने प्रचलन पनि रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताए ।
प्रतिक्रिया