२ साताअघि नै भित्रिँदै यस वर्षकाे मनसुन

पूर्वानुमान सूचनालाई जनताले बुुझ्ने गरी सम्प्रेषण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मितिभन्दा करिब २ साताअघि नै प्रवेश गर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले मंगलबार एक सूचना जारी गर्दै नेपालको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यसपटक अगाडि नै आउने संकेत देखिएको जानकारी दिएको छ ।

मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्व भूभागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो । महाशाखाको सूचनामा भनिएको छ, ‘मंगलबार भारतको आसामका केही भू–भाग तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको देखिन्छ । नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो । तर, यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ ।’

महाशाखाका अनुसार भू–उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश हुने सम्भावना रहेको छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो । तर, ठ्याक्कै यही मितिमा मनसुन भित्रिने गरेको छैन । कि २÷४ दिन ढिलो कि छिटो भित्रिने गरेको छ । यसपटक भने औसत मितिभन्दा करिब २ साताअघि मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको हो । गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो ।

मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ । अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि–मनसुन चलिरहेको छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ । मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । तर, यसमा पनि केही दिन तलमाथि हुन्छ ।

मनसुन बारे जानकारी लिन मौसम विभाग पुगे प्रधानमन्त्री

मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा जानकारी लिन जल तथा मौसम विज्ञान विभाग पुगेका थिए । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्री ओलीले चासो लिएका हुन् ।

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिए । विभागका सबै स्टेशनहरु तन्दुरुस्त हालतमा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिने तर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएका थिए ।

प्रतिक्रिया