अब केही साताभित्रै नेपालमा मनसुन भित्रिँदै छ । मनसुन नेपालका लागि प्रकृतिले दिएको ठुलो वरदान मात्रै होइन, चुनौती पनि हो । मनसुनरूपी वरदानको सदुपयोग र मनसुनले दिने चुनौतीको सामना नेपाली जनताको जीवन पद्धति नै बनिसकेको छ । मनसुनी वर्षा सन्तुलित हुँदा खेतीपाती राम्रो भई आयआर्जन बढ्ने र असन्तुलित हुँदा अनेकथरी दुःखकष्ट र क्षति बेहोर्नुपर्ने नियति नै बनिसकेको छ । जलवायु परिवर्तनका कारण विगत केही दशकयता मनसुनी वर्षाको सन्तुलन बिथोलिन थालेको छ । जसका कारण कतै अतिवृष्टि त कतै खडेरी पर्ने गरेको छ ।
फलस्वरूप बाढीपहिरोले धनजनको ठुलो क्षति पुर्याउने गरेको छ । कुनैबेला २–३ दिनसम्म पानी नपर्ने र कुनै बेला लगातार घण्टौँसम्म मुसलधारे वर्षा हुनु भनेको मनसुनको सन्तुलन बिथोलिन थालेको संकेत हो । त्यसैगरी विगत केही दशकदेखि मनसुनको सिजनमा डेंगु, जापानिज इन्सिफलाइटिस, स्क्रब टाइफसजस्ता रोगहरू पनि देखा पर्न थालेका छन् । स्वासप्रस्वास तथा हैजा रोग त मनसुनी सिजनमा महामारीको रूपमा देखापर्ने पुरानै समस्या भइहाल्यो । यद्यपि हरेक वर्ष मनसुनी सिजनमा उत्पन्न हुने यी समस्यासँग जुध्नका लागि सरकारले गर्दै आएको पूर्व तयारी ज्यादै कमजोर देखिने गरेको छ । विगतका वर्षहरूको अनुभवबाट पाठ सिक्दै रोकथाम, उद्दार तथा राहतका लागि पहल गर्न सरकारी संयन्त्र चुकेको अनुभव जनताले गर्दै आएका छन् । यो विषयलाई सरकारले गम्भीर रूपमा ध्यान दिनु जरुरी छ ।
यस वर्षको मनसुन विगतकोभन्दा अझै चुनौतीपूर्ण हुने सम्भावना मौसम विभागले औँल्याइसकेको छ । गत वर्षभन्दा १ साताअघि नै मनसुन सुरु हुने र औषत वर्षा पनि गत वर्षको भन्दा निकै बढी हुने अनुमान विभागले गरेको छ । नेपालमा सामान्यतया असारको पहिलो सातादेखि असोजको पहिलो सातासम्म मनसुनी वर्षा हुन्छ । मनसुनको सिजनमा १ हजार ४३० मिलिमिटरदेखि १ हजार ५३० मिलिमिटिरसम्म औषत वर्षा हुन्छ । यो भन्दा १० प्रतिशत बढी वा घटी वर्षा हुनुलाई पनि औषत नै मान्ने गरिएको छ । यसपटक जेठको अन्तिम सातादेखि मनसुन सुरु हुने र औषतभन्दा बढी वर्षा हुने सम्भावना करिव ५० प्रतिशत रहेको जल मौसम विभागको अनुमान १ हिसाबले खतराको पूर्व संकेत पनि हो । वर्षा सन्तुलित रूपमा भइदियो भने ३ महिनाको अवधिमा ३ हजार मिलिमिटरसम्म पानी पर्नु ठुलो कुरा होइन । पोखरा क्षेत्रमा हरेक मनसुनमा यही परिमाणमा पानी पर्ने गर्छ । तर २४ घण्टाकै अवधिमा २–३०० मिलिमिटर पानी पर्यो भने बाढी र पहिरोले विध्वंश मच्चाउँछ । मुसलधारे वर्षाको प्रक्षेपण सामान्यतया २४ घण्टाअघि मात्रै गर्ने गरिएको छ । २४ घण्टा अघिको पूर्वसूचनाले पनि ठूलो राहत दिने गरेको छ । तर यसवर्ष भौगोलिक रूपले उद्धार र राहत पुर्याउन कठिन समग्र हिमाली र पहाडी क्षेत्रमा बढी वर्षाको चाप देखिएको हुँदा २४ घण्टे पूर्वसूचनाले मात्र हुँदैन भन्ने कुरामा अहिल्यै हेक्का राख्न जरुरी छ ।
पूर्वसूचना पाएर पनि भारी वर्षाको सम्भावनालाई टार्न सकिन्न, तर यसले पुर्याउन सक्ने क्षतिलाई भने धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउने मामिलामा हाम्रो देशका नीति निर्माता चुकिरहेका छन् । अल्पकालीन प्रयासका लागि पनि सरकारको तयारी राम्रो देखिएको छैन । उदाहरणका लागि गत फागुनबाट सुरु भएको यस वर्षको प्रि–मनसुनको अवधिमा बाढी पहिरोका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । स्थानीय तहका ‘विकासे सडक’ खन्न जथाभावी डोजर चलाएर जमिन खोतलिएका कारण सामान्य वर्षा हुने प्रि–मनसुनमासमेत यति ठुलो क्षति भइसकेको छ भने मनसुन सुरु भइसकेपछिको भीषण वर्षामा कुन हदसम्म विध्वश होला ? भन्ने कुरा कल्पना गर्दासमेत कहाली लाग्छ ।
किनकी मनसुन सुरु हुन अब ३ साता मात्रै बाँकी रहेको सम्बन्धित निकायले बताउँदाबताउँदै पनि सडक निर्माण तथा मर्मतका नाममा डोजरले जमिन खोतल्ने क्रम जारी छ । यस्तो कामलाई तत्काल रोक्नुपर्छ । जमिन खोतल्दा निस्केको माटो तथा गेग्य्रानलाई यथाशक्य छिटो व्यवस्थापन गर्नुपर्छ । बढी पानी पर्ने प्रक्षेपणका कारण मात्रै होइन राजधानी काठमाडौँ ओहोरदोहोर गर्ने सडकहरूको अवस्थाले पनि यस वर्षको मनसुनी सिजन निकै कष्टकर हुने संकेत देखिएको छ । बेला छँदै पर्याप्त स्रोत साधनसहित विपद पूर्वतयारीको काम थाल्न ढिला भइसकेको छ ।
प्रतिक्रिया