नयाँ दिल्ली । भारतको गृह मन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई आज (मे ७) का दिन पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ । कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तिक्तता सम्भावित युद्धमा परिणत हुने अनुमान बढिरहेका बेला यो ‘ड्रिल’ हुन लागेको हो ।
बिबिसीका अनुसार उक्त ड्रिलका लागि गृह मन्त्रालयको जनरल फायर सर्भिस, सिभिल डिफेन्स एन्ड होम गार्ड र सिभिल डिफेन्स महानिर्देशनालयका तर्फबाट सोमबार नै सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्यसचिवलाई निर्देशन पठाइएको छ । उक्त निर्देशनमा देशभरका २४४ सूचीकृत जिल्लामा ‘सिभिल डिफेन्स’को अभ्यास र ‘रिहर्सल’ गर्न निर्देशन दिइएको छ ।
‘सिभिल डिफेन्स’को पूर्वाभ्यासमा कुनै आपत्कालीन स्थितिमा मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने जाँच्न खोजिन्छ । यसका लागि छानिएका मानिसहरू र स्वयंसेवकलाई तालिम पनि दिइन्छ । आम रूपमा कुनै हमला, घटना या आगजनीजस्तो आपत्कालीन स्थितिका लागि कस्तो तयारी छ, त्यो जान्नका लागि पूर्वाभ्यास गरिन्छ । पूर्वाभ्यास सहरदेखि ग्रामीण स्तरसम्म हुनेछ ।
यो पूर्वाभ्यासमा हवाई हमलाको चेतावनी कति प्रभावकारी छ, ‘कन्ट्रोल रूम’को कामकाज कस्तो छ हेर्ने र आमसर्वसाधारण तथा युवालाई हमलाका दौरान गर्नुपर्ने कामको तालिम दिने कुरा पनि सामेल गरिन्छ । यसै दौरानमा केही समयका लागि मानिसहरूका घर वा संस्थानका सबैखाले बत्ती पूर्ण रूपमा बन्द राख्न निर्देशन दिन सकिन्छ । यो पूर्वाभ्यासमा यदि बिजुली पूर्ण रूपमा बन्द भयो भने त्यो स्थितिमा के उपाय गर्न सकिन्छ भन्ने पनि हेर्ने गरिन्छ । साथै, यसमा आपत्कालीन स्थितिमा सिभिल डिफेन्सको प्रतिक्रिया, कुनै विशेष स्थानबाट मानिसलाई सुरक्षित कसरी निकाल्नेलगायत तालिम पनि सामेल हुन्छ ।
युद्धको त्रास झन् बढ्दो !
पहलगाम हमलापछि भारत र पाकिस्तान दुवै देशका नेताहरूबाट एकपछि अर्को वक्तव्य आइरहेका छन् । दुवै देश परमाणु शक्तिसम्पन्न छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले आइतबार साँझ ‘देशमाथि आँखा उठाउनेलाई सेनासँग मिलेर कडा जबाफ दिने’ आफ्नो जिम्मेबारी भएको बताएका थिए । पाकिस्तानका रक्षामन्त्रीलगायत कैयौँ नेताले भारतबाट आक्रमण हुने आशंका गरेका छन् । भारतमा पनि लगातार पाकिस्तानविरुद्ध कडा कारबाहीका लागि माग भइरहेको छ ।
गत साता पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘यदि भारतले पाकिस्तानको पानी रोक्ने या त्यसको दिशा बदल्न केही ढाँचा या निर्माण ग¥यो भने त्यसलाई नष्ट गरिदिइनेछ ।’ पानी बन्द गर्ने कार्यलाई ‘युद्ध घोषणाका रूपमा बुझ्ने’ पाकिस्तानले जनाएको छ ।
पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध दर्जनौँ निर्णय लिएको छ । सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै पाकिस्तानबाट सबै किसिमको आयातमा पूर्ण रूपमा रोक लगाएको छ । दुवै देशले एक–अर्काका कूटनीतिक कर्मचारीको संख्या घटाएका छन् भने सार्क भिसाअन्तर्गत एक–अर्का मुलुकको भ्रमणमा रहेका नागरिकको भिसा रद्द गर्दै देश निकाला गरेका छन् ।
पाकिस्तानले भारतको स्वामित्व भएको वा उसका तर्फबाट सञ्चालित सबै विमान सेवालाई आफ्नो हवाई क्षेत्रमा प्रवेश निषेध गरिदिएको छ । भारतले पनि पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्न्द गरेको छ । त्यस्तै वाघा सीमा पनि बन्द गरिएको छ ।
प्रतिक्रिया