काठमाडौँ । सत्तारुढ एमाले महासचिव शंकर पोखरेलले नेपालमा २ दल मात्र भए पुग्ने बहस चलाइरहेका बेला संसदीय पद्धतिको जननी मानिने बेलायतमा भने लेबर र कन्जरभेटिभ पार्टीबीच मात्र राजनीतिक प्रतिस्पर्धा हुँदै आएको शताब्दी लामो रेकर्ड तोडिएको छ ।
गत बिहीबार भएको स्थानीय निर्वाचनमा तेस्रो शक्तिका रूपमा रिफर्म युके नामक दलको सानदार उदय भएसँगै शताब्दी लामो २ दलीय प्रतिस्पर्धामा ब्रेक लागेको हो कुल १ हजार ६३७ सिटमा भएको निर्वाचनमा रिफर्म युकेले ६७७ काउन्सिलर सिट जितेको छ । परम्परागत दुइटा ठुला शक्तिलाई पछि पार्दै लिबरल डेमोक््रयाटले ३७० सिट जितेको छ । कन्जरभेटिभले ३१९ सिट तथा सत्तारुढ लेबर पार्टीले ९८ सिट जितेको छ ।
लेबर पार्टीका नेता किअर स्टार्मर अहिले प्रधानमन्त्री छन् । विपक्षी कन्जरभेटिभले गत वर्ष केमी बाडनकलाई नेता चुनेको छ । नाइजल फराजको नेतृत्वमा रहेको रिफर्म युकेको जितले अहिले बेलायती राजनीतिलाई नयाँ मोड दिएको छ । ‘डाउनिङ स्ट्रिटको सय बर्से कार्यकालबाट २ मुख्य पार्टीले सम्भावित निष्कासनको सूचना पाएका छन्,’ युनिभर्सिटी अफ म्यान्चेस्टरस्थित राजनीतिशास्त्रका प्राध्यापक रोबर्ट फोर्ड भन्छन् ।
गत वर्ष सत्ताबाट निकालिएको कन्जरभेटिभकै लागि भने यो लगातार दोस्रो धक्का हो । पार्टीले सरकारमा हुँदा गरेका कामको असर अझै परेको सो निर्वाचनमा पराजय बेहोर्ने उम्मेदवारहरूले नै स्वीकार गर्न थालेका छन् । सरकारी खर्च कटौती र कर वृद्धि गरेकामा लेबर पार्टीसँग पनि मतदाता क्रुद्ध छन् । मतदाताले दुवै मुख्य पार्टीलाई अस्वीकार गरेको फोर्डको भनाइ छ ।
स्टार्मरका पूर्वनीति–निर्देशक क्लेयर एन्स्ली यो नतिजाले दीर्घकालीन प्रवृत्तिलाई दर्साएको बताउँछन् । मतदातामा परम्परागत वर्गीय बफादारी टुट्न थालेको, राष्ट्रवादी राजनीतिप्रतिको आकर्षण बढेको र मध्यपन्थी लिबरल डेमोक््रयाट, ग्रिन र स्वतन्त्र उम्मेदवारप्रतिको समर्थन बढेको उनको भनाइ छ ।
२ दलमा जनताको मोहभंग हुँदा साना पार्टीहरूले स्थानीय तहमा सिट हात पारेका छन् । ग्रिन पार्टीले ७९ सिट जितेको छ । यद्यपि बेलायतको आमचुनाव सन् २०२९ सम्म हुनेछैन । त्यसैले रिफर्म पार्टीले आफ्नो बढ्दो प्रभावको परीक्षण तत्काल संसद्मा गर्न पाउनेछैन । यसअघिका चुनावमा २ पार्टीलाई टक्कर दिने तेस्रो दलको प्रयास असफल हुँदै आएको थियो ।
सन् १९८० को दशकको सुरुमा लेबर पार्टीका असन्तुष्टहरूले खोलेको सोसल डेमोक््रयाटिक पार्टीले बेलायती राजनीतिको ढाँचा बदल्ने बाचा गरे पनि मध्यपन्थी पार्टीसँग गठबन्धन गरेको सो पार्टीले केही समय सर्वेक्षणहरूमा ५० प्रतिशतभन्दा ज्यादा मत पाउने देखिएको थियो । त्यो सर्वेक्षण भने असफल भएको छ ।
ट्रेड युनियन आन्दोलनबाट जन्मेको लेबर पार्टीलाई कुनै समय कामदार वर्गको पार्टी मानिन्थ्यो । सो दलको पकड देशको उत्तर र मध्य भागमा थियो । कन्जरभेटिभ पार्टीले धनीमानी र मध्यम वर्गको प्रतिनिधित्व गथ्र्यो । उसको पकड मुख्य गरी दक्षिणमा थियो । यी पार्टीले त्यो वर्ग सम्बन्ध र क्षेत्रीय पकड गुमाएका छन् । गत वर्षको आमचुनावमा सन् १९२२ यता पहिलो पटक लेबर र कन्जरेभेटिभ दुवैको जम्मा मत ६० प्रतिशतभन्दा तल झ¥यो ।
राजनीतिशास्त्रीहरू एउटा परिवर्तन आइरहेको र त्यसले रिफर्म पार्टीको भविष्य बदल्न सक्ने बताउँछन् । बेलायतमा ६५० संसदीय सिटमा पहिलो हुने दलले जित्ने व्यवस्था छ । यसले साना पार्टीहरूलाई हालसम्म घाटा हुँदै आएको छ । यी २ पार्टीको बर्चस्वलाई चुनौती दिने दल एउटा मात्र हुन्जेल कुनै पनि सिट जित्न ३० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने बाध्यता भए पनि अब २५ प्रतिशत हाराहारी मत ल्याउने दलले पनि सिट जित्न सक्ने स्थिति बन्दै गएको विश्लेषकहरू बताउँछन् । ‘पहिलो हुने जित्ने व्यवस्था पहिले साना दलका लागि शत्रु थियो । अब त्यो मित्र बनेको छ,’ प्राध्यापक फोर्ड भन्छन् ।
प्रतिक्रिया