विवरण नदिएपछि सशक्त आन्दोलनको चेतावनी

सर्लाही । मलंगवा नगरपालिका– ७ मुसैलिको आर्थिक वर्ष २०७९–०८० र २०८०–०८१ मा सञ्चालन भएका वडास्तरीय योजनाको खर्च विवरण तथा सो अवधिमा वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुको विवरण लेखा शाखले उपलब्ध नगराएपछि जसपा नेपालबाट वडाध्यक्ष पदका प्रत्यासी बिबेक कुमार यादवले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

वडाध्यक्ष पदका प्रत्यासी यादवका अनुसार विवरण मागको निवेदन वैशाख १४ गते नगरप्रमुख नागेन्द्र प्रसाद यादवसमक्ष दिइएकोमा मेयर यादवले तत्काल विवरण उपलब्ध गराउन लेखा शाखालाई तोक आदेश दिएका थिए । साथै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले पनि आवश्यक विवरण उपलब्ध गराउन तोक आदेशसहितको निर्देशन दिइसकेको अवस्थामा समेत सम्बन्धित शाखाले तोक आदेशको पालना नगरी अहिलेसम्म कुनै पनि विवरण उपलब्ध नगराएकोमा वडा नं. ७ का स्थानीय जनता तथा राजनीतिक नेतृत्वले गम्भीर आपत्ति जनाएको उनले बताए ।

नेता यादवले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, ‘जनताको करबाट सञ्चालन भएका योजनाको विवरण लुकाउनु गम्भीर अनियमितताको संकेत हो, यदि शीघ्र विवरण सार्वजनिक भएन भने चरणबद्ध सशक्त आन्दोलनमा जान बाध्य हुने छौँ ।’ ‘दुई आर्थिक वर्षको योजनाको खर्च विवरण र त्यस अवधिमा कार्यरत कर्मचारीहरूको तथ्यांक माग्नु कुनै व्यक्तिगत हितको कुरा होइन, यो जनताको जानकारीको हक हो’, उनले भने । नगरपालिका प्रशासनले जनउत्तरदायित्व निर्वाह गर्न असफल भएको आरोप लगाउँदै सो सम्बन्धमा थप चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत दिएका छ ।

प्रशासनिक बेथिति, कमजोर सुशासन र उत्तरदायित्वको अभावप्रति ठोस कदम उठाएको भन्दै नेता यादवले भने,
‘यदि लेखा शाखाले नगरप्रमुखकै आदेश नमानेको हो भने, के यस नगरपालिकामा अरु पनि ‘अदृश्य’ नगर प्रमुखहरु छन् ? ।’ नेता यादवले भने ९ महिनाअघि वडा कार्यालयसँग विवरण मागको निवेदन पेश गरेको थिए । तर अहिलेसम्म कुनै उत्तर नआएपछि नगरपालिकासँग माग गरिएको हो ।

योजना खर्चमा पारदर्शिता नरहेको, विकास निर्माणका कामहरू मनोमानी ढंगले सञ्चालन गरेको लगायतका गम्भीर आरोपहरू वर्तमान वडा अध्यक्ष ईसा मिकरानीमाथि रहेको छ । वडाध्यक्ष मिकरानिले व्यक्तिगत स्वार्थपूर्तिका लागि छोरालाई उपभोक्ता समितिको अध्यक्षमा नियुक्त गरेका छन् । भने बुहारीलाई कम्प्युटर अपरेटर पदमा राखी तलब खुवाएको आशंका गरिएको छ ।

आर्थिक वर्ष २०७९–०८० मा नाला निर्माणका लागि विनियोजित १५ लाख रुपैयाँ बजेट फ्रीज भएको र चालू वर्ष २०८१–०८२ मा पनि सोही शिर्षकमा २० लाख रुपैयाँ फ्रीज हुने अवस्थामा रहेको छ । ‘विकासको नाममा बजेट रोक्का हुनु र काम नगरी पैसा सकिनु जनतामाथिको धोखा हो,’ नेता यादवले भने ।

चालु आर्थिक वर्षमा डिप ट्युबवेल जडान प्रक्रियामा समेत गम्भीर त्रुटि भएको छ । जडानको लागि छनोट गरिएको स्थानमा पहिल्यैदेखि बागमती सिँचाइ आयोजना सञ्चालन रहेको र त्यहाँ सिँचाइको कुनै अभाव नरहेको अवस्थामा फेरि सोही ठाउँमा डिप ट्युबवेल जडान गर्नु बजेटको दोहोरो खर्च र स्रोतको दुरुपयोग हो । ‘जहाँ पहिल्यै सिचाइ सुविधा छ, त्यहाँ फेरि ट्युबवेल जडान गर्नु जनताको आँखामा धुलो हाल्ने काम हो, त्यस्तो क्षेत्रभन्दा टाढा, जहाँ साच्चिकै सिचाइको आवश्यकता छ, त्यहाँ बजेट पुग्न सकेन,’ नेता यादवको भनाइ छ ।

वर्तमान वडाध्यक्ष ईसा मिकरानीले भारतीय नागरिकलाई यस वडाको स्थायी बासिन्दा भएको भनी नेपाली नागरिकताको सिफारिस गरेको थियो । सो प्रकरण हाल अदालती प्रक्रियामा रहेको भए पनि यसको प्रत्यक्ष असर यस वडाका वास्तविक नेपाली नागरिकहरूमा परेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता सिफारिसमा कडाइ गर्दै वडाबाट आएको सिफारिसलाई स्वतः स्वीकार नगरी अनिवार्य रूपमा पुनः सहरजमिन काट्ने गरेको छ ।

यसले गर्दा नागरिकता बनाउन गएका दर्जनौं निर्दोष वडाबासीलाई अनावश्यक झन्झट र दुःख भोग्न बाध्य बनाएको छ । स्थानीय बासिन्दाहरूको भनाइमा, ‘हामी जन्मदेखि यहीँ बसोबास गर्छौँ, सबै प्रमाणपत्र यतैका छन्, तर वर्तमान वडा अध्यक्ष ईसा मिकरानिको गल्तीले हामीले आफ्नो नागरिकता लिनसमेत संघर्ष गर्नुपरेको छ ।’

वडाध्यक्ष पदका उम्मेदवार बिबेक कुमार यादवले सो घटनालाई गम्भीर राष्ट्रघाती कार्यको संज्ञा दिँदै भने, ‘व्यक्तिगत लाभका लागि विदेशीलाई नेपाली नागरिक बनाउने कार्य राष्ट्रिय सुरक्षासम्म प्रतिकूल हुन्छ, यस्तो कार्यमा संलग्न वर्तमान वडा अध्यक्ष मिकरानिमाथि कानुनी कारबाही हुनु आवश्यक छ । नेता यादवको पहलमा आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा योजनाहरूको पारदर्शिता र जनउत्तरदायिता सुनिश्चित गर्ने उद्देश्य रहेको थियो ।

प्रतिक्रिया