ट्रम्पको विरोधले कार्नीलाई पुर्यायो क्यानडाको सत्तामा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औँ राज्य बनाउने इच्छा व्यक्त गरिरहेको समयमा क्यानडामा भने ट्रम्पविरोधी मार्क कार्नीको सत्तालाई त्यहाँका जनताले अनुमोदन गरेका छन् ।

चुनाव भइरहँदा पनि सोमबार ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा लेखेका थिए, ‘एउटा यस्तो नेता छान्नुहोस्, जसले तपाईंको कर आधा घटाउन सकोस् । तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन सकोस् र तपाईंका कार, स्टिल, आल्मुनियम, काठ, ऊर्जा र अन्य सबै व्यवसायलाई कुनै कर वा शुल्कबिनै ४ गुणा बढाउन सकोस् ।’ उनको आशय क्यानडामा अमेरिकाप्रति लचिलो प्रधानमन्त्री चयन गर्नका लागि थियो ।


ट्रम्पको यो आशयका बाबजुद सोमबार भएको निर्वाचनमा कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टीले जित हात पारेको छ । जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध टिप्पणी गरे । प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई टुक््रयाउन खोजिरहेका छन्, ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस्, त्यो कहिल्यै हुनेछैन ।’

कार्नीले अमेरिकासँगकोे पुरानो सम्बन्ध समाप्त भएको समेत जनाए । ट्रम्पले लगातार क्यानडालाई व्यापार युद्धको धम्कीसमेत दिइरहेका छन् । ट्रम्पले क्यानडाको चुनावलाई प्रभावित पार्ने ढंगले अगाडि लेखेका थिए, ‘यदि क्यानडा अमेरिकी राज्य बनेन भने अमेरिकाले हरेक वर्ष क्यानडालाई सयौँ अर्ब डलरको सहायता दिन क्रम जारी राख्नेछैन ।’

यसअघिको संसद्मा पनि लिबरल पार्टी १५३ सिटसहित सबैभन्दा ठुलो दल थियो । भर्खर सकिएको चुनावमा प्रधानमन्त्री पदका लागि उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नीसहित कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडिपी पार्टीका नेता जगमित सिंह उम्मेदवार बनेका थिए ।

गत महिना मात्र लिबरल पार्टीको नेतामा निर्वाचित भएपछि अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्वगभर्नर कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बनेका थिए । जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेताबाट राजीनामा दिएपछि सो दलले कार्नीलाई आफ्नो नेता चयन गरेको हो ।

संसारभरबाट कार्नीलाई बधाई

युरापेली युनियनका प्रमुख उरुस्ला भान डोर लियोनले विगतदेखि नै सुमधुर रहेको युरोप र क्यानडाबीचको सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरे । यसैगरी, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोले पनि क्यानडासँग सहकार्यका लागि आफू तयार भएको बताए । आयरल्यान्डका प्रधानमन्त्री मायकल मार्टिनले पनि सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले पनि क्यानडासँगको सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरे । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्नीलाई बधाई दिएको छ । चीनले पनि सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कार्नीलाई बधाई दिइसकेका छन् ।

प्रतिक्रिया