कश्मीर हमलापछि पाकिस्तानी नागरिकलाई २४ घन्टाभित्र देश छाड्न भारतको निर्देशन

सिन्धु जल सम्झौता खारेज, एकअर्काका दूतावास बन्द गर्ने निर्णय

काठमाडौँ । भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको छ । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले उक्त सम्झौता खारेज गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, बैठकले अटारी सीमाबाट पनि आवतजावत गर्न रोक लगाएको छ भने पाकिस्तानी नागरिकको भिसामा प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई ४८ घन्टाभित्र देश छाड्न भनिएको छ । यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्ने र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गरेर पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र देश छाड्न भनिएको छ ।

पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा १ नेपाली नागरिकसहित कम्तीमा २६ जना पर्यटकहरूको मृत्यु भएको थियो । घटनामा अर्की १ नेपाली नागरिक पनि घाइते भएकी छिन् ।

घटनामा मृत्यु भएका नेपाली नागरिक रूपन्देहीका सुदीप न्यौपाने छन् । घटनाबारे सामाजिक सञ्जाल एक्समा लेख्दै परराष्ट्रमन्त्री आरजु राणाले आतंककारी हमलामा परी न्यौपानेको मृत्यु भएको खबरले निकै मर्माहत भएको जनाएकी छिन् । सुुदीप आफ्नी आमा र पोखरा बस्ने बहिनी ज्वाइँसहित कश्मीर घुम्न गएका थिए । सुदीपकी आमालाई पनि भाग्ने क्रममा चोट लागे पनि अवस्था सामान्य छ भने बहिनी र ज्वाइँ भने सकुशल छन् । मृतक सुदीप धरानमा इन्जिनियरिङ विषयमा स्नातक अध्ययरत थिए ।

कश्मीरस्थित भारतकै लोकप्रियमध्येको पर्यटकीय स्थल हो । आक्रमण भएको स्थान पहलगामदेखि ५ किलोमिटर टाढाको बैसरन घाँसे मैदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहाडको टुप्पोमा अवस्थित यो मनोरम स्थान पर्यटकहरूमाझ लोकप्रिय छ । कश्मीर अहिले वर्षको सबैभन्दा धेरै पर्यटक आउने सिजन हो ।

आतंकवादी हमला भएको बैसरन घाँसे मैदानमा लुकेर बसेका हतियारधारीले त्यहाँ घुम्न आएका दर्जनौँ पर्यटकलाई छानीछानी गोली प्रहार गरेका थिए । मुस्लिम चरमपन्थी हतियारधारीले पर्यटकहरूको नाम सोध्दै गोली प्रहार गरेको गुजरातका एक पर्यटकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तोएबा (एलइटी) को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) ले लिएको छ । भारतीय सञ्चारमाध्यहरूले पनि ३ संदिग्ध हतियारधारी आतंकवादीहरूको स्केच सार्वजनिक गर्दै उनीहरूको सम्बन्ध चरमपन्थी मुस्लिम संगठन लश्कर–ए–तोएबासँग रहेको जनाएका छन् । आक्रमणमा धेरै जना घाइते भएको विवरणहरू आएका छन् । घटनामा नेपालकी अर्की एक पर्यटक रेनु पाण्डे पनि घाइते भएको बताइएको छ । तर, उनको ठेगाना भने खुलेको छैन । भारतीय प्रहरीले गोली लागेका कैयौँ पर्यटकलाई अस्पताल लगिएको बताएको छ ।

मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनामा कमी आएको थियो । यो क्षेत्रमा साढे ३ दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकहरूमाथि यस्तो ठुलो स्तरमा विरलै आक्रमण भएको थियो ।

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरी १०औँ हजारको ज्यान गइसकेको छ । भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेज गरेसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् ।

पछिल्लो पटक सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । त्यसअघि सन् २०१९ मा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो ।

घटनाको विश्वव्यापी भत्र्सना

पहलगाममा भएको आतंकवादी हमलाको विश्वव्यापी भत्र्सना गरिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गर्दै आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गरे । यसअघि बुधबार बिहान प्रधानमन्त्री ओलीले पहलगाममा भएको घटनामा नेपाली नागरिक पनि परेको भन्ने विवरणबारे बुझ्ने प्रयास भइरहेको बताउँदै सामाजिक सञ्जाल एक्समार्फत् आक्रमणको निन्दा गरेका थिए । प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको लडाइँमा भारतसँगै उभिने प्रतिबद्धतासमेत जनाएका छन् ।

‘नेपाल आतंकवादका कुनै पनि गतिविधिको निन्दा गर्छ र बलियो गरी भारतसँगै उभिन्छ,’ ओलीले भनेका छन् ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयनसहित विश्व नेताहरूले उक्त घटनाको भत्र्सना गरेका छन् ।

प्रतिक्रिया